–दीपा सञ्जेल
काठमाडौँ । नेपाली नयाँ वर्ष २०८३ को देशदेखि विदेशसम्म उत्साहपूर्वक स्वागत गरिएको छ । विक्रम संवत् २०८३ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।
“विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवतका विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, समितिले बताएको छ । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
नयाँ वर्षको अवसरमा संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ आयोजना गरियो । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले सोमबार दिउँसो काठमाडौँ महानगरपालिका–२६ त्रिदेवीमार्गस्थित ‘ठमेल सडक महोत्सव’ हुन आयोजना भएको हो । परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल)ले नेपाली नयाँ वर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए । “नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभित्रको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तुको प्रदर्शनी गर्नाका साथै मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो” उपाध्यक्ष धमलाले भने । उनका अनुसार त्रिदेवीमार्गस्थित सडकमा ३२ वटा स्टल बनाएर खानाको प्रवद्र्धन र सामान बिक्री गरिएको थियो । यस्तै, साँझ ६ः०० बजेदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्षलाई स्वागत गरेर राति १२ः३० बजे समापन गरिएको थियो । नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । उक्त सडक महोत्सवमा उल्लेख्य मात्रामा आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने परिषद्ले जनाएको छ ।
नयाँ वर्षको अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम
नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा कलाकारहरु रामजी खाँड, भूमिका गिरीलगायतले गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए । कार्यक्रममा सहभागी नेपालीहरू ती कलाकारका सांगीतिक प्रस्तुतिसँगै रमाए ।
कार्यक्रमका प्रमुख अतिथि रसियाका लागि नेपालका कार्यवाहक राजदूत महेश्वरमणि त्रिपाठीले रुसमा कोभिड–१९ को महामारीपछि नेपालबाट कलाकार ल्याएर गरिएको यो कार्यक्रम पहिलो भएको उल्लेख गरे। उनले यसप्रकारका कार्यक्रमले परदेशमा पनि नेपाली कला र संस्कृति जोगाउन सहयोग पुगेको बताए । उनले भने, “नेपालीहरु नेपालबाट बाहिर गए पनि आफ्नो हृदयबाट नेपालीपनलाई कहिल्यै भुल्न सक्दैनन्, यो कार्यक्रम त्यसैको प्रतिफल हो । नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनेमा आशावादी छु ।”
त्यस अवसरमा एनआरएनए रुसका अध्यक्ष सिताराम कट्टेल (मिलन)ले कार्यक्रम आयोजनाका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिए । उनले यस्तो कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने र यसका लागि सबैको साथ सहयोग आवश्यक रहने बताए । उनले लामो समयपछि ठूलो मेहनतका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्न सफल भएको बताए । एनआरएनएका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक संज्ञान कार्कीले विदेशमा नेपाली कला र संस्कृतिलाई जोगाइराख्न र यसको प्रवद्र्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए । उनले आगामी दिनमा पनि यसप्रकारका कार्यक्रम आयोजना गरी नेपाली भाषा, कला र संस्कृति प्रवद्र्धन गर्ने बताए । त्यस अवसरमा नेपालबाट यहाँ आएका कलाकारका साथै रुसमा रहेका नेपालीहरुले नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरेका थिए ।
नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’
हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक घुम्टे। पछिल्लो समय नयाँ वर्ष पारेर ‘गुराँस उत्सव’ गर्न थालिएपछि घुम्टेको थप प्रचार भइरहेको छ । यसपालि पनि नयाँ वर्ष २०८३ का अवसरमा यहाँ १४औँ संस्करणको ‘गुराँस उत्सव’ आयोजना हुँदैछ। घुम्टे पर्यटन विकास केन्द्रले २०७० सालदेखि उत्सवसहित पर्यटन प्रवद्र्धनका काम गर्दै आएको छ । केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले नयाँ वर्षको अवसरमा आज र मङ्गलबार घुम्टेमा विविध कार्यक्रम गर्न लागिएको बताए ।
तीन हजार ३२० मिटर उचाइमा रहेको घुम्टे लेकबाट नयाँ वर्षलाई स्वागत गरिने उनको भनाइ छ । ‘गुराँस उत्सव’ले प्रकृतिप्रेमी पर्यटक लोभ्याउने गरेको छ । विशेषगरी आन्तरिक पर्यटकले घुम्टेलाई नयाँ वर्षको गन्तव्य बनाउन थालेका छन् । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर यो उत्सव हुँदै आएको छ । घुम्टेको पर्यटन प्रवद्र्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको अध्यक्ष बस्नेतले बताए । ‘यस वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो सूर्योदय हेर्नका लागि पनि घुम्टे उपयुक्त गन्तव्य हो’, उनले भने, ‘यहाँ फुल्ने रंगीचंगी गुराँस र प्राकृतिक सौन्दर्यले जोकोहीलाई आकर्षित गर्छ ।’
घुम्टेको घना वन क्षेत्रमा दर्जनौँ प्रजातिका गुराँस फुल्ने गर्छन् । अध्यक्ष बस्नेतका अनुसार बढीजसो पर्यटक नयाँ वर्षको दिन घुम्टे चढ्ने गरेका छन् । उत्सवको पहिलो दिन पुग्ने पर्यटकले पदयात्रा, अवलोकन भ्रमण, ‘क्याम्प फायर’ र सांस्कृतिक साँझको अनुभव बटुल्न पाउनेछन् । नयाँ वर्षको पहिलो दिन मंगलबार सूर्योदय अवलोकन, पूजापाठ, झण्डोत्तलन, मौलिक कला, संस्कृतिको प्रर्दशनीसहित मूल समारोहको आयोजना गरिने भएको छ । यसपालि घुम्टेमा विश्वशान्ति यज्ञको समेत आयोजना गरिएको गलकोट नगरपालिका–७ मल्का वडाध्यक्ष राज थापाले बताए । ‘विश्वशान्तिको कामना गर्दै २७ लाख दीप प्रज्ज्वलनसहित पाठपारायणसहित धार्मिक अनुष्ठान सञ्चालन हुनेछ’, उनले भने, ‘घुम्टेको धुरीमा रहेका प्रसिद्ध सिद्ध र भैरव मन्दिरमा विशेष पूजापाठसमेत हुनेछ ।’ गलकोट पण्डित समाजसँगको सहकार्यमा विश्वशान्ति यज्ञको आयोजना गरिएको हो ।
घुम्टे पर्यटन विकास केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । विसं २०७० मा घुम्टेको धुरीमै मैत्रीपूर्ण पर्यटन भेला गरी केन्द्रले घुम्टेको पर्यटन प्रवद्र्धन सुरु गरेको थियो । धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्त्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा ‘गुराँस उत्सव’ले टेवा पु¥याएको वडाध्यक्ष थापाले बताए ।
सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल
नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा अगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो । लहान नगरपालिका–१२ र २२ मा अवस्थित सलहेश फूलबारीमा नयाँ वर्षको दिन मात्र फुल्ने विश्वास गरिने माला आकारको सुनाखरी फूल अवलोकन गर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु आउने गर्छन् ।
मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार मन्दिरअगाडि रहेको हारमको रूखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न सुरु गरेको छ । तर, फक्रिन बाँकी रहेको छ । करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारी क्षेत्रमा अहिले नै भक्तजनहरू आउने क्रम जारी रहेको उनले जानकारी दिए । श्रद्धालुहरू दिनरात फूलबारी परिसरका रूखमुनि पाल टाँगेर बस्न थालेका छन् । बढ्दो पर्यटकको सङ्ख्यासँगै यहाँ पूर्वाधारको अभाव खड्किएको छ । लोकगाथाअनुसार महिषोथा (सिरहा) मा जन्मिएका लोकनायक राजा सलहेशको प्रेमस्थलका रूपमा यस फूलबारीलाई लिइन्छ । राजा सलहेश र उनको प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा सुनाखरी फूललाई मानिन्छ ।
चौऔँ शताब्दीका लोकनायक राजा सलहेशको वीरता, साहस र प्रेमसँग सम्बन्धित गाथाको स्मरणमा हरेक वर्ष वैशाख १ गते यहाँ मेला आयोजना गरिन्छ । तराई क्षेत्रमा पासवान समुदायका इष्टदेव मानिने सलहेशको पूजा गर्दा सन्तान प्राप्ति तथा विभिन्न रोगबाट मुक्ति पाइने जनविश्वास रहेको छ । सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरे पनि ठोस विकास हुन नसकेको सरोकारवालाहरू बताउँछन् । जिल्ला उद्योग वाणिज्य संघ सिरहा र लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताले तीनै तहका सरकार तथा सरोकारवाला निकायले एकीकृत गुरुयोजना बनाएर काम गर्न सके यस क्षेत्रलाई अझ आकर्षक धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने बताए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij