काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बीच नेपालमा बाल स्वास्थ्य सेवाको सुधार, विस्तार तथा सुदृढीकरणका लागि महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । यस सहकार्यमार्फत नेपालमा बालबालिकाको उपचार सेवा, चिकित्सकीय प्रविधि, विशेषज्ञ ज्ञान तथा अन्तर्राष्ट्रिय सहयोगलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
सम्झौताअनुसार गैरआवासीय नेपाली संघले विश्वभर छरिएर रहेका नेपाली डायस्पोरासँग Fu Kathmandu Institute of Child Health लाई जोड्ने प्रमुख भूमिका निर्वाह गर्नेछ । यसअन्तर्गत चिकित्सकीय ज्ञान, सीप तथा नवीन प्रविधिको आदान–प्रदान गरिनेछ । त्यसैगरी, बाल स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने उपकरण, सर्जिकल सामग्री तथा अन्य स्वास्थ्य सामग्रीको सहयोग उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ । आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको उपचारमा समेत विशेष सहयोग गर्ने सहमति भएको छ ।
सम्झौताअनुसार दुवै संस्थाबीच आपसी सहकार्यमा अन्य विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम, क्षमता अभिवृद्धि तालिम तथा विशेषज्ञ आदान–प्रदान कार्यक्रमहरू समेत सञ्चालन गरिने जनाइएको छ । यस सहकार्यले नेपालमा बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर सुधार तथा अत्याधुनिक उपचार प्रणालीको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । समझदारीपत्रमा किओचका तर्फबाट अध्यक्ष प्रा. डा. भगवान कोइराला र संघका तर्फबाट अध्यक्ष डा. हेमराज शर्माले हस्ताक्षर गरेका हुन् ।