शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीको नाममा १९० तोला सुन

आइतबार, चैत्र २९ २०८२

काठमाडौं(जस)–प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको हो । कार्यालयले जारी गरेको सूचनामा सम्पत्ति विवरण कार्यालयको आधिकारिक वेबसाइट www.opmcm.gov.np मार्फत हेर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख
सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार साँझ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री बालेन साहको बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
प्रधानमन्त्रीले फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेका भन्दै यसलाई पनि आम्दानीको श्रोत देखाएका छन् । त्यस्तै काठमाडौँमा पाँच आना जग्गा, धनुषामा १.२ बिघा जग्गा ध्रुवदेवी साह (आमा) को नाममा रहेको उल्लेख गरेका छन् । त्यस्तै महोत्तरीमा रामनारायण साह (बुवा) को नाममा ९ बिघा जग्गा रहेको उल्लेख गरेका छन् । श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले यो पैतृक सम्पत्तिको भएको उल्लेख गरेका छन् ।
अर्थमन्त्री वाग्लेको १ करोड ९० लाख बैंक ब्यालेन्स
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि धनी मन्त्रीमै परेका छन् । आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनको विभिन्न ९ ठाउँमा जग्गा छ । काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ । त्यस्तै, उनले ४५ तोला सुन रहेको उल्लेख गरेका छन् । त्यसैगरी विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ रहेको छ । उनीसँग सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको गरी झण्डै १ लाख कित्ता प्रोमेटर शेयर र अन्य ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ । त्यस्तै, ९४ लाख रुपैयाँ पर्ने सुवानु एसभी समेत रहेको उल्लेख छ ।
गृहमन्त्री गुरुङको ८९ तोला सुन, जग्गा र शेयर त कति–कति
यसैगरी गृहमन्त्री सुदन गुरुङ मन्त्रीमा धनी देखिएका छन् । प्रधानमन्त्री कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ । होप होल्डिङ प्रालिको ३० हजार कित्ता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनको विभिन्न कम्पनीमा २ करोड ७४ लाख ५६ हजार रुपैयाँको शेयर रहेको छ । त्यस्तै, एडभेन्चेर भिल्ला प्रालिको ७० हजार थान सेयर अर्थात् ७० लाख रुपैयाँ पनि उनले आफ्नो सम्पत्तिमा उल्लेख गरेका छन् ।
त्यस्तै, उनका बाबु दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको छ । त्यसैगरी बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा जनाइएको छ । सवारी साधनतर्फ गृहमन्त्री गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टको एक थान कार रहेको खुलाइएको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ । बैंक ब्यालेन्सतर्फ, लक्ष्मी सनराइज बैँकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ र सानीमा बैँकमा १५ सय रुपैयाँ रहेको जनाइएको छ । गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् ।

सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरूको सम्पत्ति विवरण

 

प्रतिक्रिया
सम्बन्धित समाचार