काठमाडौं । विदेश अध्ययन नेपाली युवाका लागि अवसरसँगै चुनौतीको क्षेत्र बन्दै गइरहेका बेला त्यसलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) र शैक्षिक परामर्शदाताहरूको संघ नेपाल (ईक्यान) बीच सहकार्य अघि बढाइएको छ।
आइतबार सम्पन्न परिचयात्मक बैठकमा दुवै संस्थाका नेतृत्व तहले विद्यार्थी कल्याणलाई केन्द्रमा राख्दै दीर्घकालीन सहकार्यका आधार तय गरेका छन्। बैठकमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र ईक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सहित पदाधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा विदेश जाने विद्यार्थीका लागि प्रस्थानपूर्व अभिमुखीकरण (पीडीओ) लाई अझ प्रभावकारी बनाउने, सुरक्षित र सहयोगमुखी वातावरण सुनिश्चित गर्ने तथा शैक्षिक परामर्श सेवाको गुणस्तर सुधार गर्ने विषयमा विशेष जोड दिइएको छ। दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली क्यारियर पोर्टल’ विकास गरी अध्ययनपछिका रोजगारी तथा क्यारियर अवसरबारे एकीकृत सूचना प्रणाली तयार गर्ने अवधारणामा सहमति जनाएका छन्।
यस्तै, परामर्शदाताहरूको क्षमता अभिवृद्धिका लागि लक्षित तालिम सञ्चालन गर्ने, पाइलट परियोजनामार्फत विद्यार्थी सहयोग प्रणाली परीक्षण गर्ने र देश तथा क्षेत्रअनुसार सीप म्यापिङ गर्ने विषयमा समेत सहकार्य गर्ने निर्णय भएको छ। मानसिक स्वास्थ्य र मनोसामाजिक सचेतनालाई प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको छ।
बैठकले स्वास्थ्य बीमा, छात्रवृत्ति सम्बन्धी सूचना प्रवाह र विद्यार्थी कर व्यवस्थापनका विषयमा नीतिगत सुधारका लागि सम्बन्धित निकायसँग संयुक्त वकालत गर्ने सहमति समेत गरेको छ। साथै, छिट्टै औपचारिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी अघि बढाइएको जनाइएको छ।
विदेश अध्ययन अहिले ‘सामान्य प्रक्रिया’ जस्तै बनिसकेको अवस्थामा यस क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन संस्थागत सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालिएको छ।
यसैबीच, ईक्यानले एनआरएनएका अध्यक्ष डा. शर्मालाई आगामी ९ अप्रिलदेखि मानार्थ सल्लाहकारका रूपमा राख्ने प्रतिबद्धता जनाएको छ। साथै, शैक्षिक परामर्श क्षेत्रमा हुने अनैतिक अभ्यासविरुद्ध ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
नियमित भर्चुअल अभिमुखीकरण, एयरपोर्ट सहयोग तथा प्रशासनिक सहजीकरणका क्षेत्रमा समेत संयुक्त रूपमा काम गर्ने सहमति भएपछि विदेश अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि थप व्यवस्थित र भरोसायोग्य वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।