शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अन्तर्वार्ता:उद्यमशीलतामा महिला नेतृत्व- ‘ग्ल्यामर’ देखि ‘गभर्नेन्स’ सम्मको यात्रा

सोमबार, चैत्र २३ २०८२

–सुष्मा महरा
उम्मेदवार, केन्द्रीय कार्यकारिणी सदस्य (जिल्ला/नगर)
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)

काठमाडौं । ‘छोरी मान्छेले धेरै नक्कल पार्न हुँदैन’ भन्ने आम धारणा समाजमा व्याप्त रहेकै बेलामा नेपालमा सौन्दर्य व्यवसायलाई संस्थागत स्वरूप दिने अभियन्ता हुन्, सुष्मा महरा । ‘फेसियल हाउस’ जस्तो प्रतिष्ठित ब्राण्डमार्फत सयौँलाई रोजगारी दिएकी महरा हाल नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँ (एनसीआईसीके) को सचिवका रूपमा व्यावसायिक नेतृत्वमा समेत स्थापित छिन् । आगामी २९ र ३० गते हुने एफएनसीसीआईको निर्वाचनमा जिल्ला÷नगरतर्फबाट महिला कोटामा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी महरासँग उनको व्यावसायिक सङ्घर्ष, एजेण्डा र भावी योजनामा केन्द्रित रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ, महरासँग गरिएको विस्तृत कुराकानीको सम्पादित अंशः–

लामो समयदेखि सौन्दर्य क्षेत्र र व्यावसायिक संस्थामा सक्रिय हुनुहुन्छ, यस पटक एफएनसीसीआईको केन्द्रीय कार्यकारिणी सदस्यमा यहाँको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी केवल पदका लागि होइन, यो एउटा व्यावसायिक ‘लिगेसी’ र महिला उद्यमीहरूको आवाजलाई नीतिगत तहमा पु¥याउनका लागि हो । म आफैं शून्यबाट सङ्घर्ष गरेर आएको व्यवसायी हुँ । जिल्ला र नगरस्तरका साना तथा मझौला उद्यमीहरूले भोग्नुपरेका व्यावहारिक कठिनाइ मलाई राम्रोसँग थाहा छ । काठमाडौं संघको सचिवका रूपमा कार्य गर्दा मैले व्यवसायीका समस्यालाई नजिकबाट नियालेकी छु । अब ती समस्यालाई महासंघको केन्द्रीय तहमा पु¥याएर समाधानमुखी पहल गर्न र विशेष गरी महिला उद्यमीहरूको दक्षता अभिवृद्धि गर्दै उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्न मैले उम्मेदवारी दिएकी हुँ ।

तपाईंको व्यावसायिक यात्रा ‘फेसियल हाउस’ को स्थापनादेखि यहाँसम्म आइपुग्दा कठिन सङ्घर्षका कथाहरू पनि होलान् । यो सफलताको रहस्य के हो ?
मेरो यात्रा सानैदेखि सिप, सेवा र सौन्दर्यप्रतिको भावनाबाट प्रेरित भएको थियो । मैले सौन्दर्य व्यवसायलाई केवल ‘सेवा’को रूपमा होइन, व्यावसायिक, आत्मनिर्भर र दीगो उद्योगको रूपमा अगाडि बढाउने सोचका साथ अघि बढेँ । यसै सोचले मलाई फेसियल हाउस जस्तो ब्रान्ड स्थापना गर्न प्रेरित ग¥यो र आज यो ब्रान्ड देशभर परिचित र विश्वसनीय नामका रूपमा स्थापित छ ।

अर्को कुरा, संघर्ष नै सफलताको जग हो । मैले यो व्यवसाय सुरू गर्दा सौन्दर्य सेवालाई केवल ‘ग्ल्यामर’को रूपमा मात्र हेरिन्थ्यो, यसलाई उद्योगको रूपमा स्विकारिएको थिएन । तर, मैले यसलाई व्यावसायिक र व्यवस्थित बनाउने पनि सङ्कल्प लिएँ । निरन्तरको मेहनत, ग्राहकप्रतिको इमानदारिता र प्रविधिको सही प्रयोगले नै फेसियल हाउसलाई देशकै ‘नम्बर वान’ ब्राण्ड बनाउन सम्भव भयो । मेरो सफलताको रहस्य भनेको कहिल्यै हार नमान्ने स्वभाव र आफ्ना कर्मचारीहरूलाई परिवार सम्झिएर अघि बढ्नु नै हो । आज फेसियल हाउसका विभिन्न शाखाहरूमार्फत सयौँले रोजगारी पाइरहनुभएको छ । जसले मलाई थप जिम्मेवार बनाएको छ ।

महासंघमा जिल्ला र नगरतर्फका मतदाताहरूको सङ्ख्या र प्रभाव ठूलो छ । उहाँहरूको भावना र मर्मलाई तपाईंले कसरी आत्मसात् गर्न सक्नुहुन्छ ?
जिल्ला र नगरका उद्योग वाणिज्य संघहरू नै महासंघका वास्तविक शक्ति हुन् । त्यहाँका व्यवसायी साथीहरू अहिले आर्थिक मन्दी, महङ्गी, चर्को ब्याजदर र नीतिगत अस्पष्टताका कारण मारमा हुनुहुन्छ । म आफैँ काठमाडौँ संघको नेतृत्वमा रहेकाले उहाँहरूको पीडा महसुस गर्न सक्छु । मेरो उम्मेदवारी ‘ग्राउण्ड लेभल’ का व्यवसायीको हकहितका लागि हो । म निर्वाचित भएपछि जिल्ला र नगरका संघहरूलाई आर्थिक रूपमा सबल बनाउने, त्यहाँका उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र स्थानीय व्यवसायीका समस्यालाई सरकारसँगको समन्वयमा समाधान गर्न सेतुको भूमिका निर्वाह गर्ने अठोट लिएकी छु ।

महिला सशक्तिकरण र स्वरोजगारको क्षेत्रमा यहाँले पु¥याएको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ ?
मैले सधैं भन्ने गरेकी छु, ‘एक महिला उद्यमी हुनु भनेको एउटा परिवार र समाजलाई आर्थिक रूपमा स्वतन्त्र बनाउनु हो’ फेसियल हाउसमार्फत मैले सयौँ महिलालाई तालिम दिएर स्वरोजगार बनाएकी छु । कतिपयले आफ्नै व्यवसाय सुरू गर्नुभएको छ । सिप नै सबैभन्दा ठूलो पुँजी हो । मैले सामाजिक सेवा र व्यवसायलाई सँगसँगै अघि बढाइरहेकी छु । महिलाहरूलाई नेतृत्व तहमा पु¥याउन आर्थिक सशक्तिकरण अपरिहार्य छ । महासंघमा मेरो उपस्थितिले देशभरका महिला उद्यमीहरूमा नयाँ ऊर्जा र आत्मविश्वास जगाउनेछ भन्ने मेरो विश्वास छ ।

अहिलेको आर्थिक शिथिलतामा निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा राखेको छ । तपाईंको विचारमा महासंघले अब कस्तो भूमिका खेल्नुपर्छ ?
हिलेको अवस्थामा महासंघले केवल गुनासो गर्ने मात्र होइन, सरकारलाई ठोस र वैज्ञानिक सुझाव दिनुपर्छ । हामीसँग भएका कानुन र नियमहरू समयसापेक्ष संशोधन हुनुपर्छ । लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत स्थिरता (पोलिसी स्टाबिलिटी) आवश्यक छ । महासंघले व्यवसायी र सरकारबीचको खाडल पुर्ने बलियो पुल बन्नुपर्छ । म महासंघमा जाँदा व्यावसायिक मुद्दाहरूलाई कानुनी र विधिसम्मत ढङ्गले पैरवी गर्नेछु । ‘व्यापार मात्र होइन, व्यावसायिक मर्यादा’ पनि हाम्रो प्राथमिकता हुनुपर्छ ।

अन्त्यमा, महासंघका मतदाता र आम व्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ?
तपाईंहरूले दिनुहुने हरेक मतले महासंघको आगामी कार्यदिशा तय गर्नेछ । म यहाँहरूकै बीचबाट आएको, यहाँहरूकै जस्तो सङ्घर्ष गरेको र व्यवसायीको मर्म बुझेको व्यक्ति हुँ । मसँग काम गर्ने जोस छ र नीतिगत स्पष्टताको भिजन छ । महिला कोटाबाट उम्मेदवार भए पनि म समग्र निजी क्षेत्रको उत्थानका लागि प्रतिबद्ध छु । मलाई विश्वास गरेर अमूल्य मत दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । हाम्रो साझा सङ्कल्प, समृद्ध निजी क्षेत्र र मजबुत महासंघ नै मेरो मुख्य लक्ष्य हो ।

अनि, महिला मतदाताहरूलाई नि ?
महिलाहरूले आत्मविश्वास, सिप र निर्णय क्षमतामा विश्वास गर्नुहोस् । सामाजिक र आर्थिक पक्षमा सक्रिय सहभागी बन्नुहोस् । व्यवसाय र नेतृत्व दुवै क्षेत्रमा महिलाको आवाज महत्वपूर्ण छ । मैले गरेको कामले ती कुराहरूलाई धेरै हदसम्म प्रमाणित गरेको छ भन्ने मलाई लागिरहेको छ । जब महिला नेतृत्व र अवसरहरू सन्तुलित रूपमा अघि बढ्छन्, समाज र अर्थतन्त्र दुवै मजबुत बन्दै जान्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार