काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै समाधानका लागि सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
बुधबार मन्त्रालयले अहिलेसम्म गरेका निर्णयबारे छलफल गर्ने कार्यक्रममा बोल्दै मन्त्री साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा र ठगीका घटनाहरू मन्त्रालयका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताएका हुन् ।
मन्त्री साहले भने, ‘समाधान योजनाअन्तर्गत सबैभन्दा ठूलो समस्या वैदेशिक रोजगारीसम्बन्धी गुनासाहरू हुन् । ठगीका घटना धेरै छन् र यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण छ। यस विषयमा मैले विभागसँग पटक–पटक छलफल गरिसकेको छु ।’
उनले यस विषयमा प्रधानमन्त्री बालेन शाहसँग पनि निरन्तर छलफल भइरहेको जानकारी दिए ।
उनले भने, ‘हामी प्रधानमन्त्रीसँग छलफल गरिरहेको छांै । हामी कुन दिशामा जाने भन्ने विषयमा छलफल गरिरहेका छौं। त्यसअनुसार प्रधानमन्त्री र मेरो बीचमा तादम्यता मिल्नु आवश्यक छ । हामी समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छौं।’
मन्त्री साहले मन्त्रालयमा रहेका फाइल र केसहरूको अवस्थाबारे स्पष्टता अभाव रहेको पनि स्वीकार गरे।
‘धेरै फाइलहरू जलेका छन् भन्ने सुनेको छु। कसैले ४० हजार केस भन्छन्, कसैले ५० हजार, कसैले १८ हजार। यहाँ धेरै कुरामा कन्फ्युजन छ,’ उनले भने ।
उनले आफू मन्त्री भएर आएपछि यस्ता विषय लुकाउन नचाहेको बताउँदै थप भने, ‘मन्त्री भए पनि म यथार्थ लुकाउन चाहन्नँ। अहिले ती केसहरूको वास्तविक अवस्था बुझ्ने क्रममा छु। हामी स्पष्ट छौं कि ती केसहरू कसरी घटाउन सकिन्छ भन्नेमा काम गर्नुपर्छ।’
मन्त्री साहले अवस्था स्वयं विरोधाभासपूर्ण रहेको स्वीकार गर्दै फाइल संकलनको काम भइरहेको जानकारी दिए।
साथै, उनले वैदेशिक रोजगारीमा रहेका कामदारहरूको अवस्थाबारे ट्र्याकिङ प्रणाली आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘को मान्छे कुन अवस्थामा छ भन्ने ट्र्याकिङको व्यवस्था हुनुपर्छ। मेरो अर्को प्राथमिकता अकुपेन्सनल हेल्थ र सेफ्टी हो।’
एक वर्षभित्र सातै प्रदेशमा सीप मेला आयोजना गरिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आगामी एकवर्षभित्र मन्त्रालयमार्फत सातै प्रदेशमा सीप मेला आयोजना गरिने बताउनुभएको छ ।
आज मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरी उहाँले आफ्ना कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो । जस अन्तर्गत केही समयमै जनकपुरबाट सीप मेला सुरुवात गरेर एक वर्षभित्र सातै प्रदेशमा आयोजना गर्ने जानकारी दिनुभएको हो । मन्त्री साहका अनुसार दक्ष जनशक्तिले नै मुलुकको समृद्धिमा टेवा पुग्ने हुँदा स्वदेशमै रोजगार सिर्जना गर्ने मन्त्रालयको लक्ष्य छ ।
“दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता छ, मेला सम्पन्न गर्न मन्त्रालयसँग स्रोत पर्याप्त छैन”, उहाँले भन्नुभयो, “यद्यपि सिएसआर मोडलमा जाने छौँ । प्राइभेट कम्पनी जोसँग सिएसआर फन्ड छ । उहाँहरुसँग सहकार्य गरेर काम गर्ने छौँ ।”
त्यसैगरी मन्त्रालयले हालै पाँच वटा देशसँग श्रम सम्झौता थप गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले श्रमिकले सुरक्षित र व्यवस्थित कार्यस्थल पाए नपाएको बारेमा मन्त्रालयले अनुगमन गर्ने र श्रमशोषण देखिएमा कारबाहीको दायरामा ल्याउनेसमेत बताउनुभयो ।