शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

श्रममन्त्री दिपक कुमार साहको आक्रामक सुरुवात, मेडिकलको सिन्डिकेट हटाएपछि ओरेन्टेसन शुल्कमा कडाइ

बिहिबार, चैत्र १९ २०८२

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिइने अभिमुखीकरण (ओरेन्टेसन) तालिम शुल्क सम्बन्धी स्पष्ट सूचना जारी गर्दै तोकिएकोभन्दा बढी रकम नलिन निर्देशन दिएको छ। विभागले जारी गरेको सूचनाअनुसार अभिमुखीकरण तालिम शुल्क प्रति प्रशिक्षार्थी अधिकतम ७०० रुपैयाँ मात्र कायम रहेको पुनः स्पष्ट गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साहले कार्यभार सम्हालेसँगै वैदेशिक रोजगार क्षेत्रमा सुधारतर्फका आक्रामक कदमहरू सुरु भएका छन । मन्त्री साहले हिजो मात्रै स्वास्थ्य परीक्षण (मेडिकल) क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेका थिए भने त्यसको भोलिपल्टै ओरेन्टेसन तालिममा देखिएको अनियमितता नियन्त्रणतर्फ कडाइ गरेका हुन्।

विभागले विगतमा नै कार्यविधिमार्फत दुई दिने अभिमुखीकरण तालिमको शुल्क ७०० रुपैयाँ तोकिएको स्पष्ट पारेको थियो । तर पछिल्लो समय केही तालिम प्रदायक संस्थाहरूले सोभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि विभागले पुनः कडाइका साथ निर्देशन जारी गरेको हो। सूचनामा उल्लेख गरिएअनुसार यदि कुनै संस्थाले तोकिएको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावलीअनुसार कारबाही गरिनेछ। साथै, त्यस्ता संस्थाको अनुमति (इजाजतपत्र) समेत खारेज हुन सक्ने चेतावनी दिइएको छ।

मन्त्री साहको यो कदमलाई वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको हितमा महत्वपूर्ण सुधारको रूपमा हेरिएको छ। पछिल्ला दिनहरूमा वैदेशिक रोजगार क्षेत्रभित्र देखिएका विभिन्न सिन्डिकेट र अनियमितता अन्त्य गर्दै पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने दिशामा सरकार अघि बढेको संकेतका रूपमा यसलाई विश्लेषण गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार