काठमाडौं,बालेन्द्र (बालेन) शाह नेतृत्वको नयाँ सरकारप्रति अन्तर्राष्ट्रिय समर्थन आउने क्रम जारी रहेको छ। यसै क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ ले प्रधानमन्त्री शाहलाई औपचारिक बधाई सन्देश पठाउँदै द्विपक्षीय सम्बन्ध अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चिनियाँ प्रधानमन्त्री लीले नेपाल–चीन सम्बन्धलाई “पहाड र नदीले जोडिएको परम्परागत मित्रता” को संज्ञा दिँदै विगत ७१ वर्षदेखि शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित सहकार्य विकसित हुँदै आएको उल्लेख गरेका छन्। उनले नयाँ सरकारलाई चीनको पूर्ण समर्थन रहने स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा चीन सधैं साथमा रहने सन्देश दिएका छन्।
सन्देशमा विशेषगरी Belt and Road Initiative अन्तर्गत सहकार्यलाई अझ प्रभावकारी बनाउने र पूर्वाधार, व्यापार तथा लगानीका क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा जोड दिइएको छ। प्रधानमन्त्री शाहसँग नजिकबाट काम गर्दै दुई देशबीचको रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने चीनको तयारी पनि प्रकट गरिएको छ।
कूटनीतिक वृत्तमा यसलाई नयाँ सरकारप्रति चीनको स्पष्ट सकारात्मक संकेतका रूपमा हेरिएको छ। पछिल्लो राजनीतिक परिवर्तनपछि अन्तर्राष्ट्रिय समुदायबाट आएको यस्तो समर्थनले नेपालको विदेश नीति सन्तुलन र विकास साझेदारीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।