काठमाडौँ(जस)–गत फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसदहरुकोे संसद बैठकका लागि तयारी शुरु भएको छ । सोका लागि ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ बुधबार हुने भएको छ । केसीको शपथ बुधबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उनैले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने कानुनी व्यवस्था छ । संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ । उनीहरूलाई केसीले शपथ खुवाउनेछन् ।
यसैगरी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि नवनिर्वाचित सांसदहरुले यही चैत्र १२ गते शपथ खाने कार्यक्रम तय भएको छ । चैत्र ११ गते प्रतिनिधिसभाका सदस्यहरुमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिनुपर्नेछ । ज्येष्ठ सदस्यले नै अरू सांसदहरुलाई शपथ खुवाउने प्रचलन छ । अहिलेको संसदमा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसी हुन् । उनी समानुपातिकफर्तबाट सांसदमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिने प्रचलन छ । यसअघि पनि मातृभाषामा शपथ खुवाइएको थियो । तर, मातृभाषामा शपथ खान चाहेन सदस्यहरुले सोमबारसम्म संघीय संसद् सचिवालयलाई जानकारी गराउनुपर्नेछ । चैत्र १२ गते सांसदहरुको शपथ भएपछि चैत्र १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।
सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आइतबारमन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ । गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित सङ्घीय सांसदहरुको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो । बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिए । सो अवसरमा सुरक्षाको आवश्यकीय प्रवन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो ।
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठकमा छलफल
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार सिंहदरबारमा बसेको छ । अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारीका विषयमा विस्तृत छलफल भइरहेको छ । साथै, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष पद र विभिन्न समिति सभापतिहरूको निर्वाचन प्रक्रिया अगाडि बढाउने विषय पनि प्राथमिकतामा परेको छ ।
यस्तै, हालै नवनिर्वाचित सदस्यहरूको विभिन्न समितिमा विभाजन गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा सहित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता, प्रमुख सचेतक, सचेतक तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको छ । समितिको बैठकले आगामी अधिवेशनलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक निर्णयहरू गर्ने अपेक्षा गरिएको छ ।