काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि अमेरिकामा बसोबास गर्दै आएका रविन बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन्। आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुने संघको १२औँ विश्व महाधिवेशनलाई लक्षित गर्दै उनले बुधबार आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।
निर्वाचन समितिले बुधबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। सोही अवधिभित्र बज्राचार्यले अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
बज्राचार्य गैरआवासीय नेपाली संघभित्र लामो समयदेखि सक्रिय रहँदै आएका अभियन्ता हुन्। उनी यसअघि बिधान संशोधन समितिको संयोजक, आईसीसी सदस्य लगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै बज्राचार्यले एनआरएनएलाई समयानुकूल रुपान्तरण गर्दै थप सान्दर्भिक, प्रभावकारी र समावेशी संस्था बनाउने लक्ष्यसहित आफू मैदानमा उत्रिएको बताए। पछिल्ला वर्षहरूमा केन्द्रीय नेतृत्वबीच बढेको विभाजनका कारण गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन लगायत एनआरएनसँग सम्बन्धित महत्वपूर्ण मुद्दाहरू ओझेलमा परेको उनको भनाइ छ।
उनले संघभित्रको अनावश्यक शक्ति संघर्षले संस्था कमजोर बन्दै गएको उल्लेख गर्दै अब नयाँ म्यान्डेट र नयाँ सोचका साथ एनआरएनएलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता रहेको बताए।
“संस्थाभित्रको सिन्डिकेट तोड्न र एनआरएनएलाई फेरि सबै गैरआवासीय नेपालीको साझा संस्था बनाउन म उम्मेदवारी लिएर आएको हुँ,” बज्राचार्यले भने।
संघभित्रको आन्तरिक खिचातानीका कारण पेशागत समुदाय र दोस्रो पुस्ताको सहभागिता झण्डै शून्य जस्तै बनेको उनले उल्लेख गरे। त्यसलाई सुधार्दै युवापुस्ता, पेशागत समुदाय र विश्वभर रहेका नेपालीहरूलाई जोड्ने साझा प्लेटफर्मको रूपमा एनआरएनएलाई पुनर्स्थापित गर्ने उनको योजना छ।
बज्राचार्यले हालै भएको बृहत् एकताको सहमतिलाई व्यवहारिक निष्कर्षमा पुर्याउनु नै संस्थाको दीर्घकालीन स्थायित्वका लागि अपरिहार्य भएको पनि बताए।
उनले आफ्नो नेतृत्वमा एनआरएनएलाई एकीकृत, समावेशी, प्रविधिमैत्री, परिणाममुखी र दिगो संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, बहुआयामिक दृष्टिकोण, ज्ञान, सीप र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान संस्थागत संरचना निर्माण गर्ने योजना उनले अघि सारेका छन्।
नेपाल सरकार र विश्वभर रहेका गैरआवासीय नेपालीबीच भरपर्दो साझेदारका रूपमा एनआरएनएलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए।
संस्थालाई नयाँ ऊर्जा र नयाँ दिशातर्फ लैजान आफू “एनआरएनएको बालेन बन्ने” लक्ष्यसहित मैदानमा उत्रिएको उल्लेख गर्दै बज्राचार्यले महाधिवेशनबाट आफू विजयी हुने दाबीसमेत गरेका छन ।
उनि अग्रजलाई सम्मान युवालाई मतदान भन्ने नारा लिएर उम्मेदवारी दिएका छन ।
उनिसन्ङ्गै अध्यक्षमा रोविन प्रसाद शेरचन र हेमराज शर्माले उम्मेदवारी दिएका छन ।