आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

चिसो छल्न बेँसी झरेका बाजुराली मतदातालाई मतदान गर्न समस्या

सोमबार, माघ १२ २०८२

बाजुरा, १२ माघः चिसो छल्न बेँसी झरेका यहाँका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ ।

आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदान गर्न समस्या पर्ने जनाइएको छ । जनजाती महासङ्घ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे) ले गत मङ्सिरबाट नै चिसो छल्न भेडापाठासहित बेँसीमा झरेका हुँदा उनीहरुलाई मतदानमा सहभागी हुन समस्या पर्ने बताउनुभएको छ । उहाँका अनुसार त्यस्ता समुदायका पाँच सय बढी परिवार बसोबास गर्दै आएका छन् ।

यहाँका बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नगरपालिका–१,२,३,७,८, र ९ र हिमाली गाउँपालिका– २ र ३ वडामा बसोबास गर्दै आएको छन् । आसन्न निर्वाचनमा मतदान गर्न समस्या हुने अस्थायी बसाइँ सरेर डोटीको सानागाउँ पुगेका जगत थापा ९भोटे० ले बताउनुभएको छ । उहाँले भन्नुभयो “आफूसहित परिवार यतै छौँ, मतदान गर्न चारै जना मौसमी बसाइँ सरेको छौँ । ” मतदान गर्न गाउँ जान एक हप्ताभन्दा बढी समय लाग्ने थापाको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले ती मतदातालाई मतदान गर्न गाउँ आउन प्रेरित गर्ने बताउनुभयो । यहाँ ७७ मतदानस्थल कायम भएका छन् । ती मतदानस्थलका एक सय १८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताउनुभयो । उक्त निर्वाचनका लागि ८७ हजार आठ सय ६१ मतदाता छन् । तीमध्ये महिला ४१ हजार ६१८ र पुरुष ४६ हजार २४३ छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार