शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

श्रम स्वीकृतिमा खाडीकै दबदबा, साउदी अरब रोजगारको पहिलो गन्तव्य

बुधबार, पुष १६ २०८२

काठमाडौं(जस)–नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको प्रमुख आकर्षक गन्तव्यका रूपमा खाडी मुलुकहरूको दबदबा कायमै देखिएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मंसिरमा साउदी अरब नेपालीहरूको पहिलो रोजगारी गन्तव्य बनेको विभागकी महानिर्देशक मिरा आचार्यले बताइन् । विभागको अन्तिम स्वीकृतिको विवरणअनुसार मंसिर महिनामा मात्रै कुल ६५ हजार ७ सय ५ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये साउदी अरबका लागि सबैभन्दा धेरै १४ हजार ३ सय ३० जनाले स्वीकृति पाएका छन् । साउदी जानेहरूको यो तथ्यांकले कुल वैदेशिक रोजगारीमा जानेहरूको ठूलो हिस्सा ओगटेको छ, जसमा ६ हजार ४ सय ४२ जना नयाँ श्रमिक छन् भने ७ हजार ८ सय ८८ जना पुनः श्रम स्वीकृति लिएर साउदी फर्किएका हुन् ।
साउदी अरबपछि खाडीकै अर्को मुलुक कतार नेपाली श्रमिकका लागि दोस्रो ठूलो गन्तव्य बनेको छ । कतारका लागि यस महिना १२ हजार ९ सय ८६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो स्थानमा छ, जहाँ ९ हजार ३ सय ८२ जना नेपाली रोजगारीका लागि जाने अनुमति पाएका छन् । यो मूलुक रोजगारीको आकर्षक गन्तव्य भएपनि आंशिक प्रतिबन्ध लगायतका कारणले श्रम स्वीकृति घटेको म्यानपावर व्यवसायीहरुको भनाइ छ । खाडी मुलुकहरूमध्ये कुवेतका लागि ४ हजार ५ सय ६२ जना र ओमानका लागि १ हजार २ सय ४८ जनाले श्रम स्वीकृति लिएका छन् । यी तथ्यांकहरूले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको पहिलो रोजाइ र मुख्य श्रम बजार अझै पनि खाडी क्षेत्र नै रहेको पुष्टि गर्छ ।
खाडी मुलुक बाहेक मलेसियामा पनि नेपाली श्रमिकको आकर्षण स्थिर देखिएको छ । मंसिर महिनामा मलेसियाका लागि ९ हजार ७३ जनाले श्रम स्वीकृति लिएका छन् । पूर्वी एसियाली मुलुक जापानका लागि २ हजार २ सय ९० जना र युरोपेली मुलुक रोमानियाका लागि १ हजार ८ सय ७२ जनाले स्वीकृति लिएका भए तापनि खाडी मुलुकको तुलनामा यो संख्या निकै कम हो । तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेहरूमा पुरुषको संख्या ५८ हजार ८३ र महिलाको संख्या ७ हजार ६ सय २२ रहेको छ । सीपका आधारमा हेर्दा दक्ष श्रमिकहरूको संख्या सबैभन्दा उच्च छ । कुल श्रमिकमध्ये ४२ हजार २ सय ११ जना दक्ष श्रेणीका छन् भने १३ हजार ५ सय ७६ जना अदक्ष श्रमिकका रूपमा विदेशिएका छन् । अर्ध–दक्ष ९ हजार ५ सय ४७, व्यावसायिक २४८ र उच्च दक्ष १२३ जनाले पनि यसै महिना श्रम स्वीकृति लिएका छन् । समग्रमा, वैदेशिक रोजगारीको यो मासिक तथ्यांकले नेपाली श्रमिकहरू नयाँ गन्तव्यको खोजीमा लागे पनि प्रमुख आधार भने साउदी, कतार र यूएई जस्ता खाडी मुलुकहरू नै रहेको देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार