आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

समानुपातिक सूचीको होमवर्कमा कांग्रेस र नेकपा

आइतबार, पुष १३ २०८२

काठमाडौँ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरू समानुपातिकतर्फको बन्दसूची तयार पार्न अन्तिम गृहकार्यमा जुटेका छन् । निर्वाचन आयोगले तोकेको पुस १४ गतेको समयसीमाभित्र ११० जना उम्मेदवारको नामावली बुझाउन प्रमुख दलहरू नेपाली कांग्रेस र नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र तीव्र कसरत भइरहेको छ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सोमबार कार्यालय समयभित्रै आयोगमा बन्दसूची बुझाउने तयारी गरेको छ । आइतबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट आकाङ्क्षीहरूको नाम केन्द्रमा आइसकेको जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा रहेका सातै प्रदेशका नेताहरूसँगको परामर्शपछि सूचीलाई अन्तिम रूप दिइनेछ ।
कांग्रेसभित्र समानुपातिक सूची निर्माणका क्रममा आन्तरिक गुटगत सन्तुलन मिलाउन ठूलै कसरत भइरहेको छ । संस्थापन पक्ष, डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्री गगन थापा नेतृत्वको समूहले छुट्टाछुट्टै नामावली तयार पारेर शीर्ष तहमा छलफल गरिरहेका छन् । संस्थापन पक्षले प्रदेशगत रूपमा सूची बनाउन नेताहरूलाई जिम्मेवारी नै सुम्पिएको छ । जसअनुसार कोशीमा ज्ञानेन्द्रबहादुर कार्की, मधेसमा महेन्द्र यादव, बागमतीमा डा. प्रकाशशरण महत, गण्डकीमा सुरेन्द्रराज पाण्डे, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा वीरबहादुर बलायरलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी डा. शेखर कोइराला समूहबाट उनी स्वयं, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा डा. मिनेन्द्र रिजाल सूची निर्माणमा सक्रिय छन् । महामन्त्री गगन थापा र उनको सचिवालयले पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग समन्वय गर्दै छुट्टै सूची तयार पारेको छ । समय अभावका कारण यसपटक संसदीय समिति गठन नगरी कार्यसम्पादन समितिबाटै सूची पारित गर्ने कांग्रेसको तयारी छ ।
यसैबीच, नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि समानुपातिक सूची टुङ्ग्याउने जिम्मा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई दिएको छ । एकता प्रक्रियामा सहभागी भएका विभिन्न घटकहरूलाई उचित प्रतिनिधित्व गराउने र निर्वाचन आयोगको मापदण्ड पूरा गर्ने गरी सूची तयार पार्ने म्यान्डेट उनीहरूलाई दिइएको हो ।
नेता शक्ति बस्नेतका अनुसार अधिकांश जिल्लाबाट उम्मेदवारको सिफारिस केन्द्रमा आइसकेको छ । “एकता प्रक्रियाका सबै पक्षलाई समेट्दै भोलिसम्ममा बन्दसूची आयोगमा बुझाउँछौँ,” बस्नेतले भने । नेकपाले पनि अनुभवी नेता र नयाँ घटकका प्रतिनिधिहरूबीच सन्तुलन मिलाउन शीर्ष नेतृत्वलाई नै अन्तिम निर्णयको अधिकार सुम्पिएको छ ।
निर्वाचन आयोगले पुस १४ गतेसम्म बन्दसूची बुझाउने र त्यसमा त्रुटि देखिए पुस २१ गतेसम्म सच्याउने समय दिएको छ । ११० जनाको सूचीमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम लगायतका क्लस्टरहरू मिलाउनुपर्ने भएकाले दुवै ठूला दलका नेताहरू रातभरको गृहकार्यमा लागेका छन् ।

सोमबार दुवै दलले आफ्ना प्रभावशाली नेता र कार्यकर्ताहरूलाई समेटेर बन्दसूची निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार