काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले इराकमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रदान गरी अभिलेखीकरण गर्ने नेपाल सरकारको निर्णयप्रति आभार र खुसी व्यक्त गरेको छ ।
संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा विगत दुई दशकदेखि लागू प्रतिबन्धका कारण विभिन्न समस्यामा परिरहेका हजारौँ नेपाली श्रमिकलाई कानुनी दायराभित्र समेट्ने सरकारको कदमलाई स्वागतयोग्य र सकारात्मक पहलको रूपमा लिएको जनाएको छ । यस निर्णयले इराकस्थित नेपाली श्रमिकहरूको हक–हित संरक्षण, वैधानिक व्यवस्थापन र सुरक्षाप्रति नेपालको प्रतिबद्धता पुनः पुष्टि गरेको संघको भनाइ छ ।
प्रतिबन्ध हुँदाहुँदै पनि इराक जाने नेपालीको संख्या बढ्दो रहेको उल्लेख गर्दै संघले सरकारको पछिल्लो निर्णयले इराकको आवासीय कार्ड भएका झन्डै ३० हजार नेपाली श्रमिकका लागि नेपाल आउजाऊ गर्न सहज कानुनी बाटो खोल्नुका साथै उनीहरूको रोजगारीलाई वैधानिकता प्रदान गरेको जनाएको छ ।
संघका अनुसार हाल इराकको कुर्दिस्तान क्षेत्रमा मात्र १२ हजारभन्दा बढी र बग्दाद आसपास करिब ४ हजार नेपाली विभिन्न स्थानीय तथा बहुराष्ट्रिय कम्पनी, दूतावास, होटल, विमानस्थल, तेल–ग्यास कम्पनी, अस्पताल, सपिङ मल तथा घरायसी कामदारका रूपमा कार्यरत छन् । तर इराक प्रतिबन्धित देशको सूचीमा परेका कारण उनीहरू राहदानी नवीकरण, कानुनी प्रक्रिया र कन्सुलर सेवा लिन कठिनाइमा पर्दै आएका थिए ।
एनआरएनएले सरकारको निर्णयले इराकस्थित नेपालीलाई मातृभूमिसँग जोड्ने, विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ । साथै, इराकमा जन्मिएका बालबालिकालाई कानुनी रूपमा नेपालसँग जोड्ने, अवैध रूपमा रहेका नेपालीलाई कानुनी दायरामा ल्याउने र भविष्यमा इराकलाई सुरक्षित श्रम गन्तव्यका रूपमा पुनः सूचिकरण गर्न वातावरण तयार हुने अपेक्षा गरिएको छ ।
यस विषयमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् इराकले अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरिएको छ । संघले यस ऐतिहासिक निर्णयका लागि नेपाल सरकार, सरोकारवाला निकाय तथा सञ्चारकर्मीप्रति कृतज्ञता व्यक्त गरेको छ ।
