आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चितवनमा ज्येष्ठ नागरिक डे–केयर तथा आवास केन्द्र सञ्चालन

आइतबार, पुष १३ २०८२

नारायणगढ, चितवन, १३ पुसः चितवनमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि डे–केयर तथा आवास केन्द्र सञ्चालनमा आएको छ । आरोग्य केयरले भरतपुर महानगरपालिका–११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो ।

केन्द्रले प्रारम्भिक चरणमा १५ ज्येष्ठ नागरिकलाई आवासीय सेवा प्रदान गर्नेगरी सेवा सुरु गरेको छ । यहाँ फिजियोथेरापीसहित विभिन्न स्वास्थ्य सेवा, मनोरञ्जनात्मक कार्यक्रम तथा सामाजिक क्रियाकलाप प्रदान गरिने केन्द्रका अध्यक्ष हिरामान महर्जनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य ज्येष्ठ नागरिकको स्वास्थ्य, मनोरञ्जन र सामाजिक सहभागितालाई प्रोत्साहन गर्नु हो ।” ज्येष्ठ नागरिकलाई परिवार बाहिर पनि सामाजिक तथा मानसिक रूपमा सक्रिय रहन सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

केन्द्रमा मुख्य रूपमा फिजियोथेरापी सेवा, शल्यक्रियापछिको हेरचाह, डिमेन्सिया, अल्जाइमर, पार्किन्सन रोगीको हेरचाह, पक्षघात (प्यारालाइसिस) भएका बिरामीको सेवा तथा ‘पेलियटिभ केयर’ सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । हाल दैनिक आधारमा सेवा दिइँदै आएको केन्द्रले भविष्यमा आवश्यकताअनुसार सेवा विस्तार गर्ने योजना बनाएको केन्द्रका सूचना अधिकारी फडिन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार केन्द्र ४५ सेयर सदस्यको लगानीमा स्थापना गरिएको हो ।

करिब रु दुई करोडको लगानीमा पाँच कट्ठा क्षेत्रफलमा निर्माण गरिएको केन्द्रले प्रारम्भिक चरणमा १५ शय्या क्षमताबाट सेवा सुरु गरेको छ । केन्द्रमा हाल १५ कर्मचारी कार्यरत छन्, जसमध्ये सात जना केयरगिभर रहेका छन् । आवासीय संरचनाअन्तर्गत १० सामान्य शय्या र पाँच मेडिकल क्याबिनको व्यवस्था गरिएको छ । सम्पूर्ण भवन अपाङ्गमैत्री संरचनाअनुसार निर्माण गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार