सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम

बिहिबार, पुष १० २०८२

कञ्चनपुर, १० पुसः कञ्चनपुरका पाँचवटा स्थानीय तहमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ ।

कार्यक्रम जिल्लाका लालझाडी, बेलौरी, शुक्लाफाँटा, पुनर्वास र भीमदत्तलगायतका पाँच पालिकामा जोखिमयुक्त समुदायमा सञ्चालित छन् ।

बाढी तथा गर्मी ९तातो हावा० को प्रभावबाट जोखिममा रहेका समुदायको उत्थानशीलता निर्माण गर्ने, पूर्व चेतावनी प्रणालीमा सुधार गर्ने र विपद्पश्चात् जीवनशैली पुनःस्थापना गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका अधिकृत दिलबहादुर ढाँटले बताउनुभयो ।

कार्यक्रमले जीविकोपार्जनका पाँच पुँजीहरू (आर्थिक, प्राकृतिक, भौतिक, सामाजिक र मानवीय) लाई आधारमानी समुदायलाई सक्षम बनाउने रणनीति लिएर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ रहेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले नगरपालिकामा कार्यक्रमको केही प्रभावकारिता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन, जैविक तटबन्ध निर्माण र लक्षित समुदायको आयआर्जनमा यस कार्यक्रमले टेवा पु¥याएको छ, विशेष गरी जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूका लागि यो कार्यक्रम सहयोगीसिद्ध भएको छ ।” यस कार्यक्रमलाई अझै नगरपालिकाका सबै वडामा प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमले उत्थानशील प्रणालीका चार विशेषताहरू—शीघ्रता, स्रोत–साधन सम्पन्नता, दरिलोपना र अतिरिक्ततामा आधारित भई कार्य गरिरहेको कार्यक्रमका प्राविधिक जनक लेखकले बताउनुभयो । उहाँका अनुसार जसअन्तर्गत बाढीका ५२ वटा र तातो हावाका ५० सूचकहरूका आधारमा जोखिम मापन र प्रतिकार्यका योजनाहरू बनाई कार्य गरिएको थियो ।

सन् २०२५ मा रु २८ लाख ९५ हजार ४९ लागतमा विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । कार्यक्रमअन्तर्गत यसमा ४६५ मिटर जैविक तटबन्ध निर्माणमा रु १६ लाख ५३ हजार र सुरक्षित आवासस्थल मर्मतमा रु तीन लाख ९७ हजार खर्च गरिएको छ ।

यसैगरी, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता विकास, प्राथमिक उपचार तालिम, खोज तथा उद्धार तालिम, र बगरखेतीमार्फत आयआर्जनमा सहयोग पु¥याइएको छ । कार्यक्रममार्फत ३०० बढी बासिन्दा लाभान्वित भएको बताइएको छ ।

कार्यक्रमले वडास्तरमा आपत्कालीन सामग्री सहयोग गर्नुका साथै विद्यालयहरूमा जलवायु सचेतना कार्यक्रम र पूर्वसूचनाका लागि जल तथा मौसम विज्ञान स्टेशनहरूसँगको समन्वयलाई समेत प्राथमिकता दिएको छ । आगामी वर्षका लागि परियोजनाले विपद् बिमा, जोखिम स्थानान्तरण र प्रकृतिमा आधारित समाधानका कार्यहरूलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार