आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राप्रपा र राप्रपा नेपालबीच एकता सहमति, पुस १६ मा घोषणा सभा

बुधबार, पुष ९ २०८२

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पुनः एकता गर्ने औपचारिक सहमति भएको छ । बुधबार साँझ धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङ्देन र कमल थापाले एकतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेसँगै विगत दुई वर्षदेखिको विभाजन अन्त्य भएको हो ।
राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीका अनुसार पार्टी एकताको औपचारिक घोषणा सभा आगामी पुस १६ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरिनेछ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनको मुखैमा भएको यो एकतालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

एकताका लागि हाल दुई हरफको संक्षिप्त समझदारीपत्रमा हस्ताक्षर भएको छ । अन्य साङ्गठनिक र नीतिगत विषयहरू क्रमशः टुङ्ग्याउँदै लैजाने सहमति दुई नेताबीच भएको छ । एकता प्रक्रियामा कमल थापाको ‘सम्मानजनक सहभागिता’ रहने बताइएको छ ।
हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कमल थापाले आफू कुनै शर्तबिना पुरानो घर फर्किएको दाबी गरे । उनले भने, ‘विगतमा पार्टी टुटफुट हुँदा हामीले धेरै तीतो अनुभव र पीडा भोगेका छौँ, त्यसबाट हामीले पाठ सिकेका छौँ । अब यो एकता अजर, अमर र अटुट रहनेछ ।’ थापाले पार्टीले जहाँबाट भन्छ, त्यहीँबाट आगामी निर्वाचन लड्न आफू तयार रहेको समेत स्पष्ट पारे ।
२०७८ मंसिरमा भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा अप्रत्याशित रूपमा पराजित भएपछि कमल थापाले पार्टीभित्र विद्रोह गरेका थिए । उनले आफ्नो हारमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप रहेको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । माग सम्बोधन नभएपछि २०७८ माघ २५ गते उनले जीवनभर बोकेको राजतन्त्रको एजेन्डा र पार्टी दुवै त्याग्ने घोषणा गरे ।
त्यसपछि थापाले राप्रपा नेपाललाई पुनर्जागृत गरे । कुनै समय ‘राजाविनाको देश कल्पना गर्न सकिन्न’ भन्ने थापाले नयाँ पार्टीमा गणतन्त्रात्मक व्यवस्थालाई स्वीकार गरे । गत आम निर्वाचनमा नेकपा एमालेको ‘सूर्य’ चिह्न लिएर मकवानपुरबाट चुनाव लडेका थापाले लज्जास्पद हार व्यहोरे । राजनीतिक रूपमा एक्लिँदै गएपछि उनले पुनः ‘संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र’ को एजेन्डा ब्युँताएका थिए । अन्ततः आफ्नै पार्टी ‘क्लब’ जस्तो मात्र सीमित भएपछि उनी लिङ्देनको नेतृत्व स्वीकार्दै पुरानै घर फर्किएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो एकतालाई ‘ऐतिहासिक आवश्यकता’ र कार्यकर्ताको चाहनाको रूपमा व्याख्या गरेका छन् । ‘मुलुकको वर्तमान परिस्थिति र राष्ट्रवादी शक्तिहरूको आवश्यकतालाई ध्यानमा राखेर हामी एक ठाउँमा आएका हौँ,’ लिङ्देनले भने, ‘यो केवल दुई पार्टीको मिलन मात्र होइन, देशका सम्पूर्ण राष्ट्रवादी र हिन्दुराष्ट्र पक्षधरहरूलाई एउटै मञ्चमा ल्याउने अभियानको सुरुवात हो ।’
लिङ्देनले थापालाई भित्र्याउनुको पछाडि पार्टीभित्रको आन्तरिक कलहलाई पनि एउटा कारण मानिएको छ । पछिल्लो समय पार्टीभित्र धवल शमशेर राणालगायतका नेताहरूले लिङ्देनलाई चुनौती दिइरहेका छन् । पार्टीभित्र चरम गुटबन्दी बढिरहेका बेला थापालाई भित्र्याएर लिङ्देनले राणा समूहलाई ‘साइज’ मा राख्ने रणनीति लिएको विश्लेषण गरिएको छ ।
यद्यपि, यो एकताले राप्रपाका आम कार्यकर्तामा नयाँ उत्साह थपेको केन्द्रीय सदस्य कार्कीको भनाइ छ । पुस १६ गतेको घोषणा सभामा अन्य साना राष्ट्रवादी शक्तिहरूलाई पनि समेट्ने तयारी भइरहेको लिङ्देनले जानकारी दिए। फागुन २१ को निर्वाचनमा एकीकृत शक्ति बनेर होमिने राप्रपाको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार