वीरगन्ज । केहि दिनयता तराई–मधेसमा चिसो अत्याधिक बढ्दै गएपछि पर्साका विभिन्न पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन् । पर्साको वीरगन्ज महानगरपालिका,पोखरिया नगरपालिका तथा पकहाँमैनपुर र छिपहरमाई गाँउपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।
वीरगन्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म गरी ३ दिनका लागि सामुदायिक तथा संस्थागत गरी सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको जनाएको छ । वर्षे सट्टे बिदाबाट कट्टा हुनेगरी पुस ७ देखि ९ गतेसम्म पठनपाठन स्थगित गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जानकारी गराए ।
उनका अनुसार,पुस १० गते क्रिसमसको सार्वजनिक बिदा,पुस ११ गते यसअघि नै शैक्षिक क्यालेण्डेरमा वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिएको उल्लेख भएको तथा पुस १२ गते शनिबार परेकाले अब पुस १३ गते आइतबारदेखि मात्रै विद्यालयमा पठनपाठन सुचारु हुने छ ।
यस्तै पर्साकै अन्य तीन पालिकाले पनि केहि दिनयतादेखि चिसो बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालयमा जाडो बिदा दिएका छन् । पकहाँ मैनपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय चौहानका अनुसार विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वर्षे विदाबाट कट्टा हुने गरी पुस ८ र ९ गते दुई दिनको जाडो विदा दिइएको हो।
यस्तै पोखरिया नगरपालिकाले पनि विद्यालयमा पुस ८ देखि ११ गतेसम्मका लागि बिदा दिएको छ भने छिपहरमाई गाउँपालिकाले भने पुस ८ र ९ गते गरी दुई दिनका लागि मात्रै विद्यालयमा जाडो बिदा दिइएको जनाएको छ।
तराई–मधेसमा एक साता यता चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेपछि वृद्धवृद्धा,बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ।