ललितपुर–५, टिकाथलीको एउटा घर। बिहानको चहलपहलसँगै भान्सामा आगो बल्छ, मसला पिसिन्छ, हातले माडिएको पिठोबाट परम्परागत स्वाद जन्मिन्छ। यो कुनै साधारण भान्सा होइन यो भान्सा आत्मनिर्भर महिलाहरूको सपना पाक्ने कारखाना हो। यहीँबाट सुरु भएको हो, रुबिना लाभको उद्यमशील यात्रा।
जनकपुरधाम उपमहानगरपालिकामा स्थायी घर भई हाल ललितपुरमा बसोबास गर्दै आएकी रुबिना लाभले महिला उत्थान र आत्मनिर्भर समाज निर्माणका लागि स्वउद्यमशीलता कति प्रभावकारी माध्यम बन्न सक्छ भन्ने कुरा व्यवहारमै प्रमाणित गर्दै छिन। निरक्षर, बेरोजगार, अपांग तथा एकल महिलाहरूलाई साथमा लिएर सानो लगानीबाट सुरु गरिएको ‘रुबिना खाद्य उद्योग’ आज तराई, पहाड र हिमाल हुँदै विदेशसम्म नेपाली परम्परागत स्वाद पस्किन सफल भएको छ।
५ लाखको सुरुवात, सयौ महिलाहरुको सपना।
करिब चार वर्षअघि मात्र ५ लाख रुपैयाँ लगानीबाट सुरु भएको यो उद्यम आज सयौं महिलाहरू र नवउद्यमीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। रुबिनाको कामबाट प्रभावित भएर तराई मधेशमा हराउँदै गएका ठेकुवा, गुजिया, मस्यौरा जस्ता परम्परागत खाद्य सामग्रीको उत्पादन र बजारीकरण पुनः सुरु हुन थालेको छ। यसले स्थानीय स्वादको संरक्षण मात्र होइन, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणमा गहिरो प्रभाव पारेको छ।
शिक्षित नेतृत्व, अशिक्षित हातहरूको आत्मविश्वास।
व्यवस्थापनमा स्नातक उत्तीर्ण गरी हाल कानून स्नातक अध्ययनरत रुबिनाले यो व्यवसाय करिब ४ वर्षअघि सुरु गरेकी हुन्। घरका सबै सदस्य सरकारी तथा अर्धसरकारी जागिरमा आबद्ध रहे पनि उनले सुरक्षित बाटो रोजिनन्। बरु उनले सोचिन् “राज्यको पहुँच बाहिर रहेका अशिक्षित, बेरोजगार र अपांग महिलाहरूलाई आत्मनिर्भर नबनाई समाज समृद्ध हुँदैन।”
आज ललितपुरस्थित मुख्य उद्योगमा ९ जना महिला प्रत्यक्ष रूपमा आबद्ध छन् जसमध्ये १ जना अपांग, २ जना निरक्षर र बाँकी ६ जना सामान्य लेखपढ गर्न सक्ने छन्। यसका अतिरिक्त तराईका केही महिलाहरू घरमै उत्पादन गरेर सामग्री पठाउने काममा संलग्न छन्। यहाँ काम गर्ने महिलाहरूको मुख्य योग्यता डिग्री होइन, आत्मविश्वास र श्रम हो।
वैदेशिक रोजगारीको विकल्प, स्वदेशमै अवसर।
रुबिनाको उद्यमले वैदेशिक रोजगारीका कारण टुट्दै गएका परिवार र सामाजिक समस्याको विकल्प प्रस्तुत गरेको छ। उद्योगमा कार्यरत महिलाहरूले न्यूनतम मापदण्डभन्दा बढी तलब पाउँदै आएका छन्। आफ्नै गाउँ घरमा बसेर आयआर्जन गर्न पाउनु उनीहरूका लागि आत्मसम्मानको विषय बनेको छ।
छठको ठेकुवादेखि बाह्रै महिनाको बजारसम्म।

तराई मधेशमा छठ पर्वमा मात्र सीमित मानिने ठेकुवा/ठकुवा आज काठमाडौँ उपत्यका, पहाडी तथा हिमाली जिल्लामा बाह्रै महिना बिक्री हुन्छ। यसका साथै कुभिण्डोको मस्यौरा, गुजिया, निम्की, खजुरी, चिप्स, ड्राइफुड, अचार जस्ता परम्परागत खाद्य सामग्रीले उपभोक्तामाझ गहिरो विश्वास बनाएका छन्। आज उनका उत्पादनहरू देशैभरि मात्र होइन, विदेशसम्म पनि निर्यात हुँदै आएका छन्। सामान्य परिवारदेखि ठूला व्यवसायी र घरानिया ग्राहकसम्म उनका नियमित उपभोक्ता छन्।
पूरै परिवार, एउटै सपना।
रुबिनाको यात्रामा उनको परिवार स्वयं प्रेरणाको पात्र बनेको छ। उनका छोरा प्रतिक, विदेशी विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी, उद्योगको व्यवस्थापन र विस्तारमा सक्रिय छन्। २२ वर्षकै उमेरमा उनले उल्लेखनीय अनुभव बटुलेका छन्।
त्यस्तै B.Arch. अध्ययनरत छोरी श्रेया विदाको समयमा हप्तामा दुई दिन उद्योगमै काम गर्छिन्। “शिक्षासँगै सीप भयो भने जीवन सजिलो हुन्छ,” उनी मुस्कुराउँदै भन्छिन्।
बन्द हड्तालबीच पनि नथाक्ने उद्यम
समय समयमा हुने आन्दोलन, बन्द र अवरोधहरूले व्यवसाय सञ्चालनमा चुनौती थपे पनि रुबिनाको यात्रालाई रोकेन। निरन्तरता, धैर्य र सामूहिक प्रयासले उनले ती सबै चुनौती पार गर्दै उद्योगलाई अघि बढाइरहेकी छन्।
सम्मानले थपिएको ऊर्जा।

महिला उद्यमशीलता, सामाजिक उत्तरदायित्व र परम्परागत उद्योग संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै नेपाल चित्रगुप्त समाज, काठमाडौँले रुबिना लाभलाई “कायस्थ उद्यमी समाज सेवा सम्मान” प्रदान गरेको छ। यो सम्मान उनको यात्राको अन्त्य होइन, अझ बलियो सुरुवात बनेको छ।
रुबिना लाभ ; एक नाम, धेरै महत्वकांक्षा।
सानो लगानी, अटल इच्छाशक्ति र सामूहिक प्रयासबाट समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने जीवित प्रमाण हुन् रुबिना लाभ। आज उनी महिला सशक्तीकरण, स्वदेशी उद्यम र आत्मनिर्भर नेपालको सानो दियालो बनेकी छिन र उनी यसलाइ उज्यालो छर्ने माध्यम बनाउन चाहान्छिन। भान्साबाट सुरु भएको यात्राले राष्ट्रलाई नै उनी सशक्तीकरण , आत्मनिर्भरता र लगनशीलताको उदाहरण पस्कन तल्लिन छिन।