शनिबार, पुष ५ २०८२
काठमाडौं(जस)–नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचन नसार्न चेतावनी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले संसद् पुनःस्थापना होला कि चुनाव होला ? भन्ने बहस भइरहेको भन्दै संविधानलाई योभन्दा बढि क्षति हुन नदिनको लागि निर्वाचन नै देशको लागि सहज बाटो भएको बताए । निर्वाचन बिथोल्ने र नेपाली जनताको निर्वाचनमा सहभागी हुने चाहनालाई कसैले पनि भ्रमित गर्ने काम कसैले पनि नगरोस भनेर चेतावनी दिए ।
संसद् पुनःस्थापना गरेर पूरानै सरकार बनाउन सकिन्छ भनेर कोही लागेको हो भने त्यसमा नलाग्न उनले सुझाव दिए । उनले निर्वाचन अबको सहज विकल्प भएको दाहालको भनाई छ । उनले नेपाली जनता निर्वाचनको लागि तयार भइरहेको बताए । उनले कांग्रेस र एमालेलाई डबल स्टाण्डर्डको कुरा नगर्न पनि सुझाव दिए । घोषित मितिमा निर्वाचन सफल पार्न योगदान गर्न पनि उनले आग्रह गरे । जेनजी आफूहरुको मात्रै पेवा हो भन्ने भ्रम कसैले पनि नपाल्न प्रचण्डले चेतावनी दिए । जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको उनले बताए । गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका हुन् । उनले उक्त आन्दोलनले राजनीतिक वृत्तमा ‘सच्चिने वा सक्किन तयार रहने’ भन्ने बलियो सन्देश दिएको बताए ।
उनले भने, ‘गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनले नितान्त नयाँ राजनीति परस्थिती सिर्जना गरेको छ । त्यसले राजनीतिक वृत्तमा राजनीतिक दलहरुलाई कि सच्चिने प्रण गर या त सकिन्न तयार हौं भन्ने एउटा बलियो सन्देश २३ गतेको जेनजी युवाहरुको आन्दोलनले दियो ।’ दाहालले जेनजी युवाहरुले सुशासनको पक्षमा, भ्रष्टाचारको विरोधमा तथा सामाजिक सञ्जालमा कुनै प्रकारको प्रतिबन्ध नलगाइयोस् र नागरिक स्वतन्त्रता कुण्ठित नहोस् भन्ने मागसहित आवाज उठाएको उल्लेख गरे । तर ती मागका पक्षमा आवाज उठाएकै कारण दर्जनौं युवाले ज्यान गुमाउनुपरेको उनले बताए । उनले भने, ‘जेनजी युवाहरु जसले शुसासनको पक्षमा र भ्रष्टाचारका विरुद्ध जसले स्वतन्त्रताका पक्षमा सोसल मिडियामा कुनै खालको प्रतिबन्ध नहोस् र हाम्रो स्वतन्त्रता कुण्ठित नहोस् भन्नको निम्ती आवाज उठाएका थिए । तर त्यो आवाज उठाएकै कारण दर्जौंनौं शहीद हुन पुगे ।’
उनले जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा दुई परस्परविरोधी धार देखिएको पनि बताए । एक धारले युवाहरुलाई अपमान गर्ने, उनीहरुले उठाएका आवाजलाई गलत ढंगले व्याख्या गर्ने र आतंककारीसम्मको आरोप लगाउने प्रवृत्ति देखाएको दाहालको भनाइ थियो । अर्कोतर्फ, युवाहरुले उठाएका माग जायज रहेको स्वीकार गर्दै ती माग पूरा गरिनुपर्ने र युवाहरुको पहलको सम्मान गर्नुपर्ने विचारधारा पनि रहेको उनले स्पष्ट पारे । उनले भने, ‘जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा नेपालका राजनीतिक दलहरुमा दुईवटा परस्पर विपरित धाराहरु देखा परेका छन् । एउटा धारा युवाहरुलाई अपमानित गर्ने, युवाहरुले उठाएका आवाजहरुलाई गलत तरिकाले ब्याख्या गर्ने, उनीहरुलाई आंतककारीसम्मको आरोप लगाउने एउटा प्रवृत्ति देखा पर्यो भने, अर्को विचार प्रवृत्ति जेनजी पुस्ताका युवाहरुले जायज कुरा उठाएका छन् र तिनका जायज मागहरुलाई पूरा गरिनुपर्दछ हामी ति जायज मागका निम्ती युवा प्रतिनिधिहरुलाई बधाई भन्न चाहन्छौं । यसरी युवाहरुको पहलकदमीलाई सम्मान गर्ने, शुसासनका पक्षमा बगेको रगतलाई सम्मान गर्ने एउटा विचार एउटा प्रवृत्ति नेपालमा रहेको छ भने अर्को विचार र प्रवृत्तिलाई नकारात्मक रुपले टिप्पणी गर्ने र त्यसलाई बद्नाम गर्ने अर्को प्रवृत्ति रहेको छ ।’ दाहालले सुशासनका पक्षमा बगेको रगत र युवाहरुको योगदानलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै नकारात्मक टिप्पणी र बदनाम गर्ने प्रवृत्तिको आलोचना गरे ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउने हिसाबले अघि बढेको भन्दै र विगतको कमजोरीलाई सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्ने बताए । उनले भने, ‘हामी सबै क्षेत्रमा ध्यान पु¥याएर देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउन चहान्छौ । यीनै विचार र मान्यताका साथ हामी तपाईहरुको माझमा आएका पनि छौ । तपाईहरुले हामीलाई विश्वास पनि गर्नु भएको छ । हामीलाई हौसला दिनु भएको छ । त्यो हौसलाले नयाँ पुस्तालाई आकर्षण पनि गरिरहेको छ । धेरै पार्टीका मानिस पनि पार्टी त्याग गरेर हाम्रो पार्टीमा आउनुभएको छ । हामीले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्न चाहि रहेका छौ । त्यसकारण हामी इमान्दारिताका साथ देश रुपान्तरण गर्न चहान्छौ ।’
यस्तै, उनले नेता बन्ने तर जनता समक्ष नजाने, जिम्मेवारी पूरा नगर्ने दुख कष्ट नब्यहोर्ने कुरा मात्रै ठूलो ठूलो गर्ने खालका प्रवृत्तिलाई पार्टीले छुट नदिने पनि बताए । उनले भने, ‘नेता बन्ने तर जनता समक्ष नजाने पद ओगट्ने जिम्मेवारी पूरा नगर्ने दुख कष्ट नब्यहोर्ने कुरा मात्रै ठूलो ठूलो गर्ने त्यस्ता खालका प्रवृत्तिलाई हामीले छुट दिन सक्दैनौ । नेताको वरिपरि पूजा गरेर बस्ने, नेताको प्रशंसा गरि बस्ने तर जिम्मेवारी पूरा नगर्ने यस्ता प्रवृत्तिलाई पनि छुट दिन सक्दैनौ । हामी कार्यकर्ता, नेता र देश पनि राम्रो बनाउन चहान्छौ ।’ जेनजी पुस्ताले अगाडि सारेका सुशासन र भ्रष्टाचार अन्त्यको मागलाई सम्बोधन गर्न पार्टी जुध्दै आईरहेका पनि उनको भनाई छ । उनले भने, ‘जेनजी पुस्ताले जुन अगाडि सारेका छन् चाहे त्यो सुशासनको नाराको कुरा होस, चाहे भ्रष्टाचारको अन्त्यको कुरा होस यस्तो कुराको लागि हामी जुध्दै आईरहेका छौ । जुध्ने क्रममा नै मागहरु पनि अगाडि सारेका छौ । तत्कालिन सरकारका प्रमुखहरुलाई माग पत्र बुझाएका पनि छौ । जनताको माझमा गएका पनि छौ ।’ जनताले आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा, बहुमत दिएको खण्डमा जनताको चाहनालाई साकार पार्नको लागि इमान्दारिताका साथ अगाडि बढ्ने पनि उनको भनाई छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij