शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ : मन्त्री खरेल

एमडीएमएस प्रणालीभित्रको भ्रष्टाचारको जालो च्यातेरै छाड्छौं

शनिबार, पुष ५ २०८२

काठमाडौं(जस)–सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल ब्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाउने काम मात्र नगरेर सामाजिक पुलको रुपमा सम्बन्ध जोडिदिने काम गरिरहेको बताएका छन् । नेपाल मोबाइल ब्यवसायी सङ्घ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खरेलले देशमा मोबाइल ब्यवसायमा लाखौं युवा जेनजीहरु आबद्ध भएको र लाखौं युवालाई देशमै रोजगारी सृजना गरेको मोबाइल ब्यवसायीका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताए ।
“तपाईं ब्यवसायीहरुले मोबाइल ब्यवसाय मात्र गर्नुभएको छैन, समाजलाई परिवारलाई जोड्ने काम पनि गरिरहनुभएको छ, आमा बुवालाई छोराछोरीसँग कुरा गर्न तपाइहरुले सिकाइरहनुभएको छ”,सञ्चारमन्त्री खरेलले भने । उनले मोबाइल व्यवसायमार्फत लाखौं युवा जेनजीहरुलाई देशमै रोजगारी सिर्जना गरिरहेको भन्दै व्यवसायीका समस्यालाई सम्बोधन गर्न पहल गर्ने विश्वास व्यक्त गरे । सञ्चारमन्त्री खरेलले एमडीएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको भन्दै जालो च्यातरेरै छाड्ने विश्वास व्यक्त गरे ।
मुलुकले परिवर्तन मागेको बताउँदै उहाँले दिनहुँ दुई हजार भन्दा बढी जेनजी युवाहरू विदेश गइरहेको अवस्थालाई सबै मिलेर रोक्नु .पर्ने उनको भनाइ थियो । उनले भने,“यो मुलुक किन बनेन भने राम्रो होइन हाम्रो मान्छे खोजियो, ब्यक्ति गुट स्वार्थ र आफ्ना मान्छे हेर्ने कारण देश नबनेको हो, अब अति भयो, भोट हाल्दा सोचौं, एक पटक खराब उम्मेदवारलाई भोट हालेर पाँच वर्ष पछुतो मान्ने अवस्था नहोस् ।” सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले सुशासन प्रवद्र्धन, भ्रष्ट्राचार नियन्त्रणका साथै निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने वातावरणका लागि काम गरिरहेको जानकारी दिए ।
मन्त्री खरेलले मोबाइल व्यवसायमा अधिकांश युवा संलग्न रहेको र यस क्षेत्रमार्फत करिब १ लाख जनाले रोजगारी पाएको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा मात्र करिब ४ हजार मोबाइल व्यवसायी सक्रिय छन् । मन्त्री खरेलले मोबाइल व्यवसाय सूचना प्रविधि मन्त्रालयसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले व्यवसायीहरूको भूमिकाप्रति नेपाल सरकार, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट धन्यवाद व्यक्त गरे ।
एमडिएमएस सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खरेलले यसबाट सरकारलाई प्राप्त हुने राजस्व र व्यवसायीहरू दुवै स्पष्ट हुने बताए । ‘त्यो च्यात्न पर्छ यस अर्थमा कि हामीले च्यात्यौ भने सरकारलाई आउने राजस्व स्पष्ट हुन्छ, व्यवसायीहरु स्पष्ट हुन्छन् । म अरु जस्तो नेपाललाई सिंगापुर बनाउछु भन्दिन मसँग २ महिना मात्र छ यो ६ महिनाको सरकार हो २ महिना समय बाँकी छ म कति सक्छु तपाईहरुले उठाउनु भएका बुद्धागतरुप मागहरु छन,’ उनले भने, ‘यो समयभित्र सकेसम्म व्यावहारिक सुधार गर्ने प्रयास गर्छु ।’ उनले नेपाल मोबाइल व्यवसायी महासंघको केन्द्रीय नेतृत्वलाई मन्त्रालयमा आमन्त्रण गर्दै व्यावहारिक समस्याहरू लिएर छलफलमा आउन आग्रह गरे । ‘सम्बन्धित निकायसँगै बसेर समस्या समाधान गर्ने प्रयास सरकार र व्यवसायी मिलेर गरौँ,’ उनले भने । अन्त्यमा मन्त्री खरेलले वर्तमान सरकारलाई ‘जेनजीको सरकार र जेनजीको मन्त्री’ भन्दै नयाँ सोच र सहकार्यबाट समाधान खोजिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले एमडीएमएस प्रणालीले अलमलमा पारेको भन्दै सो प्रणाली कि पुर्णरुपमा लागू गर्न कि खारेज गर्न माग गरे । उनले बजारमा आएका मोबाइल तथा एसोसरिजको गुणस्तर पनि परिक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष सुरेश बानियाँले सरकारले सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउँदा नेपालको राजश्वको दायरा बढ्ने र नेपालको पैसा नेपालमा नै रहने बताए । उनले नेपालमा नै कतिपय मोबाइल एसोसरिज बनिरहेको तर विदेशी सामानले प्राथमिकता पाइरहेको बताउँदै सरकारले नेपाली उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार