आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कतारको राष्ट्रिय दिवस गौरवको दिन, शैख तमीम र आधुनिक कतारको सफल यात्रा

बिहिबार, पुष ३ २०८२

काठमाडौं । कतार राष्ट्रिय दिवस समारोह आयोजन समितिले सन् २०२५ का लागि “بكم تعلو ومنكم تنتظر” (With You It Rises and From You It Awaits) ‘तपाईंहरूकै कारण यो देश उचाइमा पुग्छ, र तपाईंहरूबाटै यसको अपेक्षा राख्दछ’ (तपाईंहरूकै कारण कतार उचाइमा पुगेको छ, र भविष्यका आशा पनि तपाईंहरूबाटै राखेको छ भन्ने आधिकारिक वाक्यांसलाई नाराको रुपमा चुनेको छ। यो नारा सन् २०१६ मा महामहीम अमीर शेख तमीम बिन हमद अल–थानीले कतार विश्वविद्यालयको भ्रमणका क्रममा दिनुभएको एक प्रेरणादायी सम्बोधनबाट साभार लिइएको हो।

यस नाराले मानव विकासमा लगानी गर्नु नै प्रगतिको आधारस्तम्भ र उपलब्धिहरूको दीर्घकालीन दिगोपनको मूल आधार हो भन्ने राष्ट्रको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। गहिरिएर अध्ययन गर्ने हो भने यो नारा कतारका नागरिक र देशमा योगदान दिने सबै बासिन्दा प्रति समर्पित छ।नाराको भावार्थ र सन्देश पनि गज्जबैको रहेको छ जसमा जनताकै बलमा राष्ट्र उभिएको भन्ने स्वीकारोक्ती ,देशको समृद्धि, स्थिरता र प्रतिष्ठा नागरिकहरूको एकता, श्रम र समर्पणबाट सम्भव भएको सन्देश लगायत कठिन समय, नाकाबन्दी र विश्वव्यापी चुनौतीहरूमा देखिएको कतारी जनताको सहनशीलता, धैर्य र देशप्रेम को सम्मानलाई उजागर गरेको पाइन्छ।यसैगरी मैले बुझे अनुसार यो नारा शासक र जनता बीचको भरोसा, राष्ट्र र नागरिक बीचको आत्मीय सम्बन्ध तथा भविष्यप्रतिको सामूहिक जिम्मेवारी को प्रतीक पनि हो।यिनै विषयमा आधारित यसको गहिरो सन्देश प्रस्तुत नारामा पाउन सकिन्छ।

यस नाराबारे अस्ति मात्रै कतारका संस्कृति मन्त्री महामहिम शेख अब्दुलरहमान बिन हमद अल–थानीले भन्नुभयो कि यस वर्षको नारा अमिर मौसुफको एक प्रेरणादायी सन्देशबाट लिइएको हो, जसले निर्माण र समर्पणको यात्रालाई निरन्तर अघि बढाउन पुनः आह्वान गर्दछ। राष्ट्र निर्माण मानव विकाससँग अविच्छिन्न रूपमा जोडिएको छ र देशको समृद्धि त्यसका जनताको समर्पण र प्रतिबद्धताबाट नै साकार हुन्छ भन्ने दृढ विश्वासबाट यो नारा उत्पन्न भएको उहाँले स्पस्ट पार्नु भएको थियो।

कतारी नागरिकहरू आफ्नो कर्तव्यप्रति सजग रहेको परिप्रेक्ष्यमा विभिन्न क्षेत्रमा प्राप्त अधिकारप्रति गर्व गर्ने कतारवासीहरू माझ ती अधिकार तब मात्र पूर्ण हुन्छन् जब तिनलाई कर्तव्यको जिम्मेवारीसँग जोडेर पूरा गरिन्छ। कतारवासीहरूले यी जिम्मेवारीहरूलाई सचेतता र उत्तरदायित्वका साथ आत्मसात् गरेको पनि देखिन्छ। अर्को कुरा सच्चा राष्ट्रियता र राज्यप्रतिको इमानदारीता कुनै दिइएको विशेषाधिकार होइन, बरु मातृभूमिप्रतिको प्रेमबाट प्रेरित निरन्तर सेवा र समर्पणको कार्य हो, जुन आमाप्रतिको निःस्वार्थ भक्तिभावजस्तै हो, जहाँ कुनै प्रतिफलको अपेक्षा हुँदैन।

कतारको इतिहास हेर्ने हो भने पनि कतारीहरूको पुस्तौँदेखि देशप्रेम एक गहिरो सांस्कृतिक मूल्यका रूपमा विकसित हुँदै आएको देखिन्छ, जुन प्रेम र निष्ठासहित एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ। विकासका प्रत्येक चरणमा कतारवासीहरूले ज्ञान, परिश्रम र प्रगतिप्रतिको आफ्नो प्रतिबद्धता प्रमाणित गर्दै आएका छन्, जसका कारण राष्ट्रको झण्डा सधैं गौरव र सम्मानका साथ उचालिएको छ।हामीले यसै दशकमा कतार माथी आइपरेका विभिन्न घटना जसले यहाँको शान्ति र बिकासलाई उचालिन नदिन गरिएका दुस्साहस प्रति कतारी नागरिकहरूले देखाएको सहनशीलता र अदम्य साहस अत्यन्तै प्रेरणादायी र उदाहरणीय थियो। आकस्मिक चुनौती र दबाबका बीच पनि कतारी समाजले आवेग होइन, धैर्य, विवेक र एकताको मार्ग रोज्यो। नागरिकहरूले अफवाह र उत्तेजनामा नपरी राष्ट्रप्रति अटुट विश्वास राख्दै नेतृत्वको मार्गदर्शनलाई सम्मानपूर्वक अनुसरण गरे।

कतारी जनताले आफ्नो दैनिक जीवन, काम र जिम्मेवारीलाई निरन्तरता दिँदै देखाए कि साँचो साहस हतारमा होइन, स्थिरतामा निहित हुन्छ। कठिन समयमा पनि उनीहरूले आपसी सहयोग, सामाजिक सद्भाव र मानवीय मूल्यहरूलाई अझ मजबुत बनाए। यस अवधिमा कतारी नागरिकको सहनशीलता कमजोरी होइन, परिपक्वता र आत्मविश्वासको प्रतीक बन्यो। अदम्य साहस भनेको आक्रोश प्रदर्शन गर्नु होइन, राष्ट्रको शान्ति, गरिमा र भविष्यको रक्षा गर्न संयम र दृढताका साथ उभिनु हो भन्ने कुरा उनीहरूले प्रमाणित गरे।

यसरी कतारका नागरिकहरूले विश्व सामु स्पष्ट सन्देश दिए— राष्ट्रको शक्ति हतियारमा होइन, जनताको चेतना, एकता र धैर्यमा निहित हुन्छ। महामहीम शेख तमीमले कतारका उल्लेखनीय उपलब्धिहरूको चर्चा गर्दै भन्नुभयो कि कतारको आधुनिक यात्राले विश्वभरि एउटा उज्यालो उदाहरण प्रस्तुत गरेको छ, जसले सबै क्षेत्रहरूमा समग्र विकास हासिल गर्दै राष्ट्रहरूको अग्रपङ्क्तिमा आफ्नो स्थान सुरक्षित गरेको छ। उहाँले मातृभूमिलाई सधैं निःस्वार्थ रूपमा दिने आमाको प्रतीकका रूपमा चित्रण गर्दै भन्नुभयो कि उसका सन्तानहरूले निष्ठा, परिश्रम र बलिदानमार्फत राष्ट्रको उन्नतिका लागि ऋण तिर्छन्।

आज कतारका नागरिकहरू आफ्नो पहिचान र मूल्यहरूमा गर्व गर्दै, विगतबाट प्रेरणा लिई र भविष्यप्रति दृढ संकल्पका साथ, यस पवित्र भूमिको गरिमासँग मेल खाने उज्ज्वल भविष्यतर्फ आत्मविश्वासका साथ अघि बढिरहेका छन्। कतारले शेख जासिम बिन मोहम्मद बिन थानीबाट लिएको प्रेरणा र त्यसको परिणामस्वरूप नवपिँढीले प्राप्त गरेको उपलब्धिलाई यसरी बुझ्न सकिन्छ। शेख जासिम बिन मोहम्मद बिन थानी कतारका संस्थापक मात्र होइनन, राष्ट्र चेतना, आत्मसम्मान र स्वाधीनताको प्रतीक हुन्। उहाँबाट कतारले पहिलो प्रेरणा एकता र आत्मनिर्णयको भावना पायो। विभाजन र बाह्य दबाबका बीच पनि आफ्नै मार्ग तय गर्न सकिन्छ भन्ने विश्वास उहाँको नेतृत्वको मूल शिक्षा थियो। दोस्रो प्रेरणा थियो न्याय, विवेक र सन्तुलित नेतृत्व। शेख जासिमले शक्ति भन्दा पहिले नीति र सिद्धान्तलाई प्राथमिकता दिनुभयो। यही सोच आजको कतारी शासन प्रणाली र सामाजिक संरचनामा गहिरोसँग प्रतिबिम्बित छ।

तेस्रो प्रेरणा मातृभूमिप्रतिको निःस्वार्थ समर्पण थियो। राष्ट्र कुनै सम्पत्ति होइन, भावनात्मक जिम्मेवारी हो भन्ने दर्शन उहाँले रोप्नुभयो, जुन आज पनि कतारी चेतनामा जीवित छ। वहाँमा रहेको त्यो आत्मविश्वास त्याग र समर्पणले नवपिँढीले पाएको नतिजा पनि गज्जबैको छ।आफ्ना पुर्खा प्रतिको विश्वास र वहाँहरुले देखाएको मार्ग नै विकासको आधारशिला हो भन्ने दृढ़ संकल्प नै कतारको प्रगतिको अभिन्न अंश मान्नु पर्दछ। कतारका संस्थापक शेख जासिम बिन मोहम्मद अल थानीबाट वर्तमान अमीर शेख तमीम बिन हमद अल थानीले अवलम्बन गर्नुभएको मुख्य सन्देशहरू ऐतिहासिक निरन्तरता, राष्ट्रनिर्माण र आधुनिक शासनसँग गहिरो रूपमा जोडिएका छन्। जस्तै

१. स्वतन्त्रता र सार्वभौमिकताको अडान

शेख जासिमले बाह्य हस्तक्षेप अस्वीकार गर्दै कतारको स्वतन्त्र अस्तित्व स्थापित गर्नुभएको थियो।
➡️ शेख तमिमले पनि आजको विश्व राजनीतिमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्र निर्णय क्षमता र आत्मसम्मानलाई सर्वोच्च प्राथमिकता दिनु भएको प्रष्ट देख्न सकिन्छ।

२. एकता र राष्ट्रिय पहिचान

शेख जासिमले विभिन्न कबिला र समुदायलाई एकतामा बाँधेर कतारको आधारशिला राख्नुभयो।
➡️ शेख तमीमले नागरिक र बासिन्दाबीच सहअस्तित्व, राष्ट्रिय एकता र साझा पहिचानलाई सुदृढ बनाइरहनु भएको छ।

३. धैर्य, सहनशीलता र दृढता

संस्थापक शेख जासिमले कठिन समयहरूमा धैर्य र साहस देखाउनुभयो।
➡️ शेख तमीमले पनि नाकाबन्दी र क्षेत्रीय चुनौतीहरूको सामना गर्दा संयम, विवेक र आत्मनिर्भर नीतिलाई अघि बढाउनुभयो।

४. न्याय र उत्तरदायी शासन

शेख जासिमको शासन दर्शनमा न्याय र जनहित केन्द्रमा थियो।
➡️ शेख तमीमले सुशासन, कानूनी शासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अडानलाई मजबुत बनाउनु भएको छ।

५. परम्परा र आधुनिकताको सन्तुलन

शेख जासिमले इस्लामी मूल्य र अरबी परम्परालाई राज्यको मेरुदण्ड बनाउनुभयो।
➡️ शेख तमीमले ती मूल्यहरू जोगाउँदै शिक्षा, प्रविधि, खेलकुद र कूटनीतिमार्फत कतारलाई आधुनिक राष्ट्रका रूपमा उभ्याउनु भएको छ।

६. मानव गरिमा र सामाजिक न्याय

शेख जासिमको दृष्टिमा मानिस राज्यको शक्ति थियो।
➡️ शेख तमीमले मानव विकास, श्रमिक अधिकार, शिक्षा र स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको छ।

७. भविष्यप्रति जिम्मेवारी

शेख जासिमले भविष्यका पुस्ताका लागि स्वतन्त्र राज्य छोड्नुभयो।
➡️ शेख तमिमले Qatar National Vision 2030 मार्फत दिगो विकास र सुरक्षित भविष्य सुनिश्चित गर्न प्रयासरत हुनुहुन्छ।

यसै वर्ष कतारमाथी गरिएको बर्बरताको कुरा गर्ने हो भने पनि कतार माथि इरानी र इजरायली आक्रमणको समयमा आफ्नो दुरदर्शिता यस्ता महत्वपूर्ण तर सारांशात्मक उपायहरूद्वारा देखाएको थियो:

1. सन्तुलित कूटनीति: कतारले सिधा युद्ध वा आक्रमणमा भाग नलिई, क्षेत्रीय स्थिरता र शान्ति कायम राख्ने प्रयास गर्यो।

2. मानवीय पहल: संकट प्रभावित राष्ट्र र नागरिकहरूको सुरक्षा र राहत सुनिश्चित गर्ने मानवीय उपाय अपनायो।

3. रणनीतिक संवाद: अन्तर्राष्ट्रिय शक्तिसँग संवाद र सहकार्य गरेर आफ्नो राष्ट्रिय स्वाधीनता र सुरक्षा कायम राख्यो।

4. भविष्य दृष्टिकोण: तत्काल संकट मात्र होइन, दीर्घकालीन सुरक्षा, आर्थिक र राजनीतिक स्थिरताका लागि योजनाबद्ध नीति अपनायो।

संक्षिप्तमा भन्नू पर्दा कतारले तत्काल प्रतिक्रियामा आवेग देखाउनुभन्दा सन्तुलित, सोचनीय र भविष्यमुखी रणनीति अपनाउँदै आफ्नो सुरक्षा, स्वतन्त्रता र क्षेत्रीय प्रतिष्ठा सुरक्षित राख्यो। मेरो यस लेखको सारंश नै “शेख जासिमले रोपेको स्वतन्त्रताको बीउ,शेख तमिमले धैर्य, विवेक र दूरदृष्टिले फुलाएका छन्।” भन्ने हो। यी प्रेरणाहरूको प्रतिफलस्वरूप नवपिँढीले स्थिर, सुरक्षित र आत्मविश्वासी राष्ट्र पाएको छ। आजका कतारी युवाहरू आफ्नो पहिचानमा गर्व गर्छन्, विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम छन् र आधुनिक ज्ञान तथा परम्परागत मूल्यबीच सन्तुलन राख्न सक्ने भएका छन्। नवपिँढीले गुणस्तरीय शिक्षा,आधुनिक पूर्वाधार, अवसरहरूको पहुँच र विश्वव्यापी सम्मान प्राप्त गरेको छ। तर यससँगै उनीहरूले एउटा गहिरो उत्तरदायित्व पनि पाएका छन्—शेख जासिमको सपना अनुरूप राष्ट्रलाई केवल समृद्ध होइन, न्यायपूर्ण, मानवकेन्द्रित र आत्मसम्मानयुक्त बनाइराख्ने जिम्मेवारी।

यसरी भन्न सकिन्छ, शेख जासिमले रोपेको बीउ आज नवपिँढीले सुन्दर भविष्यको वृक्षका रूपमा फलेको देखिरहेको छ। कतारले हरेक वर्ष डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाउँछ, जसले सन् १८७८ मा स्वर्गीय शेख जासिम बिन मोहम्मद बिन थानीद्वारा राज्यको स्थापना गरिएको ऐतिहासिक क्षणलाई स्मरण गर्दै राज्यको स्वतन्त्रता र एकताको सम्झनामा यो दिवस बडो हर्षोल्लासका साथ कतारी नागरिक र आप्रवासीहरु मिलेर विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइन्छ।
“कतारको राष्ट्रिय दिवस २०२५ को अवसरमा सम्पूर्ण कतारी नागरिक र बासिन्दालाई हार्दिक शुभकामना। यस वर्षको नाराअनुरूप, ‘तपाईंहरूकै कारण यो उचाइमा पुग्छ, र तपाईंहरूबाटै यसले यसको अपेक्षा गदर्छ’, हामी हाम्रो गौरवशाली यस भूमिमा आपसी एकता, शान्ति, समृद्धि र दिगो विकासको लागि सँगै अगाडि बढौं।
कतारको उज्जवल भविष्य तपाईं हाम्रै योगदानबाट अझ उच्च र महान् बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु।  नेपाल कतार मैत्रीपुर्ण सम्बन्ध सदैव अमर रहोस। (प्रोफेसर मोहम्मद रमजान अली मियाँ, नेपाली सम्योजक तथा कानूनी परामर्शदाता एवं प्रतिनिधि/ राष्ट्रिय मानवअधिकार आयोग NHRC कतार।)

जनसवाल राष्ट्रिय दैनिकको २०८२ पुस ३ गते बिहीबारको इपेपर

जनसवाल राष्ट्रिय दैनिकको २०८२ पुस ३ गते बिहीबारको इपेपर

प्रतिक्रिया
सम्बन्धित समाचार