आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ट्रम्पद्वारा बीबीसीविरुद्ध मुद्दा दायर

मंगलबार, पुष १ २०८२

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ मा ‘प्यानोरमा’ले उत्पादन गरेको एउटा वृत्तचित्रबाट आफ्नो मानहानि भएको भन्दै बीबीसीविरुद्ध मुद्दा हालेका छन्।

अमेरिकाको फ्लोरिडा राज्यमा मुद्दा दर्ता गर्दै उनले अर्बौँ डलर क्षतिपूर्ति पाउनुपर्ने जनाएका छन्।

ट्रम्पले अदालतमा पेस गरेको कागजपत्रका अनुसार बीबीसीले मानहानि गरेको र व्यावसायिक अभ्यासको कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्। प्रत्येक दाबीका लागि आफूले पाँच अर्ब अमेरकी डलर पाउनुपर्ने उनको माग छ।

गत नोभेम्बरमा ट्रम्पले ६ ज्यानुअरी २०२१ मा गरेको भाषणको सम्पादन गर्दा त्रुटि भएको बीबीसीले स्वीकार गरेको थियो। सो विषयमा बीबीसीले ट्रम्पसँग माफी मागेको थियो तर क्षतिपूर्तिको माग भने अस्वीकार गर्दै “मानहानि दाबीका लागि कुनै आधार” नरहेको जनाएको थियो।

ट्रम्पका वकिलहरूको टोलीले बीबीसीमाथि “जानाजान, दुर्भावनापूर्वक र छलपूर्वक उनको भाषणलाई सम्पादन गरेर” उनलाई बदनाम गरेको आरोप लगाएको छ। बीबीसीले मानहानिको मुद्दा दर्ता भएकोमा अहिलेसम्म कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

ट्रम्पले बीबीसीबारे पहिला के भनेका थिए

ट्रम्पले गत महिना आफूले बीबीसीलाई मुद्दा हाल्ने आफ्नो योजना रहेको बताएका थिए। उनले आफ्नो मानहानि भएको दाबी गरेको वृत्तचित्र सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनभन्दा अगाडि यूकेमा प्रसारण भएको थियो।

“मलाई लाग्छ मैले यो गर्नैपर्छ,” ट्रम्पले आफ्नो योजनाबारे पत्रकारहरूसँग बताएका थिए। “उनीहरूले धोका दिए। उनीहरूले मैले भनेका शब्दहरू परिवर्तन गरिदिए।”

डोनल्ड ट्रम्पले ६ ज्यानुअरी २०२१ को भाषणमा भनेका थिए, “हामी क्यापिटलतिर जाने छौँ अनि हाम्रा साहसी सिनेटरहरू र कङ्ग्रेसमेन र विमिनहरूको उत्साह बढाउने छौँ।”

त्यसको ५० मिनेटभन्दा बढी समयपछि उनले भनेका थिए: “…अनि हामीहरू सङ्घर्ष गर्छौँ। हामी बेस्सरी सङ्घर्ष गर्छौँ।”

तर प्यानोरमाले गरेको सम्पादनमा ट्रम्पले “हामी क्यापिटलतिर जाने छौँ…. अनि त्यहाँ म तपाईँहरूसँगै हुने छु। अनि हामीहरू सङ्घर्ष गर्छौँ। हामी बेस्सरी सङ्घर्ष गर्छौँ,” भन्ने अंश समावेश थियो।

बीबीसीले त्यसरी सम्पादन गर्दा ट्रम्पले “हिंसात्मक कामका लागि प्रत्यक्ष आह्वान गरेका थिए” भन्ने “गलत अर्थ” लागेको स्वीकार गरेको थियो।

बीबीसीका वकिलहरूको प्रतिक्रिया

नोभेम्बरमा बाहिर चुहिएको बीबीसीको एउटा आन्तरिक दस्तावेजमा ट्रम्पको भाषण सम्पादन गरिएकोमा आलोचना भएको सार्वजनिक भएको थियो। त्यसपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिए।

उक्त मुद्दा दर्ता हुनुअघि बीबीसीका वकिलहरूले ट्रम्पको टोलीलाई उनके गरेका दाबीहरूबारे विस्तृत प्रतिक्रिया लेखेर पठाएका थिए।

उनीहरूले भाषण सम्पादन गर्दा दुराशय नराखिएको र उक्त वृत्तचित्र प्रसारण गरेको केही समयपछि नै ट्रम्प फेरि निर्वाचित भएको भन्दै त्यसबाट उनलाई क्षति नपुगेको तर्क गरेका थिए।

उनीहरूले बीबीसीका अमेरिकी च्यानलहरूमा प्यानोरमा कार्यक्रम प्रसारण गर्ने अधिकार बीबीसीसँग नभएको र उक्त वृत्तचित्र अमेरिकामा प्रसारण नभएको पनि बताएका थिए।

आफ्नो मुद्दामा ट्रम्पले बीबीसीले अरू प्रसारकहरूसँग बीबीसीका सामग्री देखाउन पाउने गरी गरेका सहमतिहरूबारे उल्लेख गरेका छन्। यसबारे बीबीसी र त्यस्तो सहमति भएको भनिएको संस्थाले प्रतिक्रिया व्यक्त गरेका छैनन्।।

उक्त मुद्दामा फ्लोरिडामा मानिसहरूले भीपीएन वा ‘ब्रिट्बक्स’ नामक स्ट्रीमिङ सेवा प्रयोग गरेर उक्त वृत्तचित्र हेरेको हुन सक्ने दाबी गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार