आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मेलम्चीको बहुचर्चित भ्रष्टाचार प्रकरण बल्झियो, सर्वोच्च अदालतमा अख्तियारको पुनरावेदन

सोमबार, मंसिर २९ २०८२

काठमाडौं(जस)–राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनामा भएको बहुचर्चित भ्रष्टाचार प्रकरण फेरि बल्झिएको छ । यसअघि विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेपछि यो प्रकरण पुनः बल्झिएको हो । विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै तत्कालीन सचिवहरू, आयोजना प्रमुखहरू र बोर्ड सदस्यहरूसहित १७ जना प्रतिवादीविरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ । विगत लामो समयदेखि चर्चा र विवादमा रहेको मेलम्ची आयोजनामा अनियमितता भएको भन्दै दायर गरिएको मुद्दामा विशेष अदालतले केही महिनाअघि फैसला सुनाएको थियो । तर, उक्त फैसलाले मुख्य दोषीहरूलाई उन्मुक्ति दिएको र सजायको मात्रा पनि कम भएको निष्कर्ष निकाल्दै अख्तियारले पुनः कानुनी लडाइँ सुरु गरेको हो ।
आयोगले विशेष अदालतले गत वर्षको भदौ २१ गते गरेको फैसलामा चित्त नबुझाई सर्वोच्चमा पुनरावेदन गरेको जनाएको छ । अख्तियारको निसानामा खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुरलगायत आयोजनाका उच्च पदस्थ अधिकारीहरू परेका छन् । यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्यहरू मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा तथा तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई लगायतलाई पनि पुनरावेदनमा प्रतिवादी बनाइएको छ । निर्माण व्यवसायी सीएमसी दी राभेन्ना र परामर्शदाता कम्पनीहरू इप्टिसा र बीईटीएसलाई पनि विपक्षी बनाइएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
आयोगले सर्वोच्चमा बुझाएको पुनरावेदन पत्रमा मेलम्ची आयोजनामा नियोजित रूपमै सरकारी सम्पत्तिको हानी नोक्सानी गरिएको जिकिर गरिएको छ । मुख्यतयाः निर्माण व्यवसायीको क्षमता कमजोर भएको र आयोजनाको काम सुस्त भएको थाहा हुँदाहुँदै पनि सम्झौता र कानुन विपरीत गएर निर्माण व्यवसायीलाई फाइदा पुग्ने काम गरेको आरोप कर्मचारी संयन्त्रमाथि छ । अख्तियारको दाबी अनुसार, कानुनी व्यवस्था र ठेक्का सम्झौता विपरीत निर्माण व्यवसायीलाई अतिरिक्त ’मोबिलाइजेसन’ पेश्की दिइएको थियो । ठेकेदार कम्पनी सीएमसी दी राभेन्नालाई काममा सहजीकरण गर्ने नाममा कानुनले तोकेको २० प्रतिशतभन्दा बढी रकम पेश्की दिइएको र सो रकमको दुरुपयोग भएको अख्तियारको ठहर छ । सम्झौताका प्रावधान मिचेर दुई किस्तामा अतिरिक्त मोबिलाइजेसन रकम भुक्तानी दिँदा र पछि उक्त रकम असुल उपर नहुँदा राज्यलाई अर्बौंको घाटा लागेको दाबी गरिएको छ ।
यस्तै, रनिङ बिलहरूबाट कट्टी गर्नुपर्ने ’प्रोभिजनल पेमेन्ट’ र ’रेन्टल चार्ज’ (भाडा) बापतको रकम असुल नगरी सरकारी सम्पत्तिको नोक्सानी पु¥याइएको आरोप पनि लगाइएको छ । निर्माण व्यवसायीले काम छाडेर हिँड्दा पनि ती रकमहरू असुल नभएको र उल्टै बैंक ग्यारेन्टी जफत हुँदा समेत राज्यलाई घाटा पूर्ति नभएको अवस्थामा जिम्मेवार पदाधिकारीहरूलाई विशेष अदालतले सफाइ दिएको प्रति अख्तियारले गम्भीर असहमति जनाएको छ । विशेष अदालतले तत्कालीन सचिव डा. सञ्जय शर्मा र भीमप्रसाद उपाध्यायसहित बोर्ड सदस्य र लेखाका कर्मचारीहरूलाई सफाइ दिने फैसला गरेको थियो । अदालतले उनीहरूको पालामा विवादित भुक्तानी सुरु नभएको वा उनीहरूले केवल परामर्शदाताको सिफारिस सदर गरेको जस्ता आधार देखाउँदै सफाइ दिएको थियो ।
तर, अख्तियारले सर्वोच्चमा पेस गरेको पुनरावेदनमा ’सार्वजनिक जवाफदेहिता’ र ’सामूहिक जिम्मेवारी’को सिद्धान्तलाई विशेष अदालतले नजरअन्दाज गरेको तर्क गरेको छ । डा. सञ्जय शर्मा र भीमप्रसाद उपाध्याय सार्वजनिक पदमा रहँदा सरकारी कोषको सुरक्षा गर्ने र अवैध भुक्तानी रोक्ने दायित्वबाट पन्छिन नमिल्ने अख्तियारको जिकिर छ । परामर्शदाता र एडीबीको मिसनले निर्माण व्यवसायीको खराब आर्थिक अवस्थाबारे जानकारी गराउँदा गराउँदै पनि सुधारका कदम नचालेको र मौन स्वीकृति दिएर बस्नुले उनीहरूको संलग्नता पुष्टि हुने अख्तियारको तर्क छ । यस्तै, बोर्ड सदस्यहरू मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ र चन्द्रबहादुर थापाको हकमा पनि विशेष अदालतले “सामूहिक निर्णयमा मात्र सहभागी भएको“ भन्दै सफाइ दिएको थियो ।
यसलाई चुनौती दिँदै अख्तियारले बोर्डको निर्णयमा सहभागी हुने सबै सदस्य उत्तिकै जिम्मेवार हुने र ‘नोट अफ डिसेन्ट’ (असहमति) नलेख्नुले उनीहरूको मिलोमतो पुष्टि हुने दाबी गरेको छ । लेखा समूहका कर्मचारीहरू मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने लगायतलाई “केवल कागजी परीक्षण मात्र गरेको“ भनी दिइएको सफाइलाई पनि अख्तियारले त्रुटिपूर्ण भनेको छ । आर्थिक प्रशासनको जिम्मेवारी सम्हालेका व्यक्तिहरूले भुक्तानीको वैधता जाँच्नुपर्ने र गलत भुक्तानी रोक्नुपर्ने दायित्व पूरा नगरेको अख्तियारको ठहर छ ।
अख्तियारले सर्वोच्च अदालतसमक्ष विशेष अदालतको फैसला उल्टाई प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हदैसम्मको कारबाहीको माग गरेको छ । जसमा कैद सजाय र बिगो बमोजिमको जरिवानासहित बिगो असुल उपर हुनुपर्ने माग गरिएको छ । विशेष अदालतले गजेन्द्रकुमार ठाकुर र सूर्यराज कँडेल लगायतलाई दोषी ठहर गर्दै आंशिक सजाय तोकेको भए पनि अख्तियारले अभियोग दाबी भन्दा कम बिगो कायम गरिएको र अन्य मुख्य योजनाकारहरूलाई उन्मुक्ति दिइएको भन्दै असन्तुष्टि पोखेको छ । मेलम्चीजस्तो राष्ट्रिय गौरवको आयोजनामा भएको यो ठूलो आर्थिक अनियमिततामा संलग्नहरूलाई कानुनी कठघरामा ल्याउन यो पुनरावेदन महत्त्वपूर्ण हुने देखिन्छ । अब यो मुद्दाको छिनोफानो सर्वोच्च अदालतको इजलासबाट हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार