आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

संस्था जोगिन्छ भनेर म एक कदम पछि हटेको हुँ : गौरीराज जोशी

शुक्रबार, मंसिर २६ २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि प्रमुख दाबेदार भए पनि संस्थाभित्रको एकता र स्थिरतालाई प्राथमिकता दिँदै यसपटक चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय लिएको बताएका छन्।

संस्थालाई अझ सक्षम र विवादरहित बनाउने लक्ष्यसहित व्यक्तिगत आकांक्षाभन्दा संस्थाको हित ठूलो ठानी आफू यस्तो निर्णयमा पुगेको जोशीको भनाइ छ।

विगतका विवाद, गुटगत सोच र व्यक्तिगत स्वार्थका कारण संस्था कमजोर बन्दै गएकाले एकताका लागि यसपटक चुनावी मैदानमा नजाने
निष्र्कषमा पुगेको जोशीले बताए।

आफू चुनाव लडेमा जित्ने सम्भावना अत्यन्तै बलियो रहेको दाबी उनको छ। ‘कहिलेकाहीँ एक कदम पछाडि हट्नु नै दीर्घकालीन रूपमा संस्थाका लागि अगाडि बढ्ने बाटो बन्छ। यसपटक मैले मेरो जितभन्दा पनि संस्थाको हित उपयुक्त ठानेँ,’ जोशीले भने।

अहिलेको संवेदनशील परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रनुभन्दा पनि सबै पक्षको सहमतिको वातावरण तयार पार्न सकिने भूमिकामा रहने निर्णय आफूलाई उपयुक्त लागेको जोशीको भनाइ छ।

‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवश्यकता हो। यो समयमा पदको होडबाजी भन्दापनि संस्थालाई एक ढिक्का बनाउनु मेरा लागि मह्तवपूर्ण लाग्यो,’ उनले भने।

एघारौं महाधिवेशनबाट निर्वाचित डा।बद्री केसीको टीम र एकता महाधिवेशनबाट निर्वाचित डा। महेश श्रेष्ठबीच भएको एकतापछि महासचिव जोशी आगामी महाधिवेशन गराउनका लागि स्टेरिङ कमिटीको सदस्य बनेका छन्। आफू स्टेरिङ कमिटीमा बस्न तयार नभएको भए एकता पनि नहुने दाबी उनले गरे।

‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवश्यकता हो। यो समयमा पदको होडबाजी भन्दापनि संस्थालाई एक ढिक्का बनाउनु मेरा लागि मह्तवपूर्ण लाग्यो’

‘यदी म स्टेरिङ कमिटीमा बस्न नमानेको भए अहिलेको एकता सम्भव नै थिएन। स्टेरिङ कमिटी बसेको सदस्य चुनाव लड्न नपाउने शर्तमा पनि म यो कमिटीमा बस्न तयार भएको हुँ,’ जोशीले भने, ‘खासमा मैले त मुखमै आएको अध्यक्ष पद छोडेको हुँ नी । यो त मैले ठूलो त्याग गरेको हुँ।’

जोशीले अहिले भएको एकतालाई सुरुवाती बिन्दु भन्दै यसलाई दीगो र उद्देश्यपूर्ण बनाउन सबै पक्षले संवाद, सहमति र पारदर्शिताको मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन्।

जोशीले नेतृत्वमा देखिने स्वार्थ, गुटगत चलन र व्यक्तिगत एजेन्डाहरूले एनआरएनएको पवित्र उद्देश्य कमजोर बनाएको भन्दै दुःख समेत व्यक्त गरे।

सबै साधारण सदस्यले भोट हाल्न पाउने व्यवस्था नभएसम्म निर्वाचनका बेला एनआरएनएमा विवाद निरन्तर रहने जोशी बताउँछन्।

‘विवादको मुख्य जड नै प्रतिनिधि छनोटको प्रक्रिया हो। सबै सदस्यलाई भोट हाल्ने व्यवस्था नभएसम्म यस्ता विवाद निरन्तर आइरहन्छन्। मेरो त मुख्य एजेण्डा नै यही हो। त्यसैले त एमआइएस सिस्टमको अवधारणा ल्याइएको हो,’ जोशीले भने।

केसी र श्रेष्ठ समूहबीचको एकतापछि उच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ।

११ सदस्यीय स्टेरिङ कमिटीमा जोशीसहित डा।श्रेष्ठ, डा।केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन रहेका छन्।

निर्वाचन समितिमा कार्कीसहित सात जना छन्। अमेरिकाबाट भरत अर्याल, बेलायतबाट सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाबाट होमनाथ पाण्डे, मध्यपूर्वबाट नरेन्द्र भाट र टीबी कार्की निर्वाचन आयुक्त तोकिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार