काठमाडौं : नेकपा (एमाले) का नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताएका छन्।
नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले देश, जनता र पार्टीका समर्थक, शुभेच्छुकहरूको भावना बुझेर नेतृत्वबाट विदा लिनुपर्ने बताए।
ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने उनको दाबी छ । नेतृत्वबाट बिदा लिए ओलीले गरेका महत्वपूर्ण योगदानलाई जनताको बीचमा स्थापित गर्न सकिने उनको भनाइ छ।
ओलीले बिदा नलिएमा भने सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उनले बताए। उनले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले नेतृत्व मात्रै चयन नगरी कम्युनिष्ट आन्दोलनको दिशा समेत तय गर्ने हुँदा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताए।
‘११ औँ राष्ट्रिय महाधिवेशनमा प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ। प्रतिस्पर्धा गर्नुभन्दा अगाडि, प्रतिस्पर्धाको पक्षमा त छौँ छौँ तर अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले हामी सबैको भावना बुझेर देशको भावना बुझेर, हाम्रा समर्थक, शुभेच्छुकहरूको भावना बुझेर उहाँले बिदा लिनुपर्छ । उहाँ विदा हुनुभो भनेपछि उहाँको सम्मान बढ्नेछ।’ उनले भने, ‘उहाँले गर्नुभएको योगदानलाई पनि हामी फेरि पनि जनताको बीचमा स्थापित गर्न सक्नेछौँ । होइन भने सिंगै पार्टी र आन्दोलन उहाँको व्यक्तिगत चाहना र इच्छामा समाप्त गर्ने दिशातर्फ जाँदैछ।’
उनले केपी ओलीको सान्दर्भिकता अब पार्टीमा सक्किएको दोहोर्याए। उनले केही भजनमण्डली तयार पारेर आफूबाहेक अरु कोही सक्षम छैन भन्ने प्रचार नगर्न पनि उनले आग्रह गरे।