शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्नुपर्छ : उपाध्यक्ष साह

सोमबार, मंसिर २२ २०८२

अमेरिका  : गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का उपाध्यक्ष सुनील साहले संघको एकतालाई सुद्रिढ पार्न तत्काल सबै पक्षले विभिन्न अदालतमा रहेका मुद्दाहरु फिर्ता लिनु पर्ने जनाएका छन्।

नवगठित स्टेयरिङ्ग कमिटिलाई एक पत्र पठाउँदै साहले विभिन्न पक्षले अदालतमा दायर गरेका मुद्दाहरु फिर्ता न लिंदा सम्म विश्वासको वातावरण नबन्ने र भावनात्मक एकता कायम गर्न पनि कठिन हुने बताए।

उनले मुद्दा फिर्ता लिएपछि सदस्यता, प्रतिनिधि प्रणाली (delegate system) तथा अन्य आवश्यक विषयहरूमा स्पष्ट कार्यविधि तयार हुनु पर्ने बताए।

उनले स्टीयरिङ समितिमा कुनै पनि छलफल वा निर्णय गर्नु अघि कार्यकारी समितिको बैठक बसाल्न पनि सुझाव दिएका छन्। ‘यी महत्वपूर्ण विषयहरूबारे छलफल गर्न सकेसम्म छिटो कार्यकारी समिति बैठक बोलाइदिनुहुन आदरपूर्वक अनुरोध गर्दछु,’ उनले भनेका छन्।

एकीकरण प्रक्रियालाई सही ढंगले, सम्मानपूर्वक र पूर्ण पारदर्शितासहित लागू गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो, साहले पत्रमा भनेका छन्।

यस अघि उनले एन आर एन ए मा भएको बृहत् एकताको स्वागत गर्दै विधि, पद्धति र कानुनी दायरामा रहँदै एनआरएनए अभियानलाई तलदेखिनै बलियो बनाउनु पर्ने जनाएका थिए।

गत ३० नोभेम्वरका दिन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता अधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ तथा डा बद्री केसीले नेतृत्व गरेको समूहबीच एकताको घोषणा गरिएको थियो। दुवै पक्षबीच आउँदो १७ अप्रिल २०२६ भित्र १२ औं महाधिवेशन गर्ने सहमति भएको छ । उक्त महाधिवेशनलाई पारदर्शी र विश्वसनीय बनाउन ११ सदस्यीय स्टेरिङ कमिटी पनि गठन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार