सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज सर्वपक्षीय बैठक, निर्वाचन र सुरक्षाबारे छलफल हुने

शुक्रबार, मंसिर १९ २०८२

काठमाडौं(जस)–प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरहेकी छन् । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छदफल गर्दै आएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेस केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडी बढाएका छन् । प्रधानमन्त्री कार्कीले लगातार निर्वाचनको तयारीको सम्बन्धमा दलका नेताहरु, जेनजी अगुवाहरु, सुरक्षा निकायका प्रमुखहरु र निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिरहेकी छिन् । आयोगपनि त्यहीअनुसारको सक्रियता देखाएको छ । २१ फागुनको निर्वाचनको लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भइसकेको छ ।
घोषित मितिमै निर्वाचन गर्ने लक्ष्य
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छन् । २२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा बिहीबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गरिन । “सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराइ युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासको मार्गमा लैजानु नै हाम्रो दायित्व हो”, उनले भनिन, “त्यसैले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकार पूर्णरूपमा तयारीमा जुटिरहेको छ । यस अभियानलाई सफल बनाउन सबै नेपालीको सहयोग अपेक्षा गर्दछु ।”
उनले ५०० भन्दा बढी गुठीहरूले सम्हाल्दै आएको सांस्कृतिक परम्परा, जात्रा–पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन । त्यसका लागि सरकारले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन । प्रधानमन्त्री कार्कीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संस्कृतिलाई पर्यटनसँग जोडेर अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने क्रममा मौलिक नीतिहरूलाई जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार