काठमाडौं । लामो समयदेखिको विवाद अन्त्य गर्दै एकताको घोषणा गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व पंक्ति एकता लगत्तै राजनीतिक दलका शीर्ष नेताहरूको घरदैलोमा पुगेर ‘आशीर्वाद’ थाप्न व्यस्त बनेको छ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एकता घोषणा गरेलगत्तै संघका अध्यक्षसहितको टोलीले मंगलबार र बुधबार लगातार राष्ट्रपतिदेखि विभिन्न दलका शीर्ष नेताहरूलाई भेटेको हो। टोलीले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको थियो भने बुधबार शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ । यस्तै गुण्डु पुगेर एनआरएनएको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको छ ।
संघले यसलाई शिष्टाचार भेट भने पनि कतिपय अभियन्ताहरूले भने यसलाई राजनीतिक दलको आशीर्वाद बिना संस्था चल्नै सक्दैन भन्ने पुरानै मानसिकताको निरन्तरताका रूपमा अर्थ्याएका छन्।
एक एनआरएन अभियन्ताले भने, ‘स्वतन्त्र र गैरराजनीतिक चरित्रको संस्था भनिए पनि एकता लगत्तै दलका नेताहरूको घरदैलोमा पुगेर आशीर्वाद थाप्नुपर्ने आवश्यकता थिएन। यसले संघलाई फेरि दलीय छायाँमा पार्ने जोखिम बढाएको छ।’
बुधबार शीतलनिवासमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न संघीय संसदको निर्वाचनमा सक्रिय सहयोगका लागि विदेशस्थित गैरआवासीय नेपालीहरूलाई आग्रह गरे। राष्ट्रपति पौडेलले विदेशमा बस्ने नेपालीहरूलाई देशको समृद्धिका लागि जोडिन समेत आह्वान गरे ।
भेटमा संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीका विषयमा ध्यानाकर्षण गराएको थियो। अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता लागू भएपछिका जटिलताहरूबारे जानकारी दिँदै अध्यादेश मार्फत नागरिकतामा आएका अल्झन फुकाउन आग्रह गरे ।
त्यस्तै, अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले संघको विवाद अन्त्य गरी अब नेपालको समृद्धिमा केन्द्रित हुने जानकारी दिँदै विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चितताका लागि आग्रह गरे । टोलीमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू तथा वर्तमान र पूर्व पदाधिकारीहरूको बाक्लो उपस्थिति थियो।
यसअघि आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै एक विशेष समारोहका बीच संघको बृहत् एकता कार्यक्रम सम्पन्न भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
सो कार्यक्रममा प्रधानमन्त्री कार्कीले ‘भाइ फुटे गवार लुटे’ भन्ने उखान स्मरण गराउँदै सबै मनोमालिन्य मेटाएर अघि बढ्न सुझाव दिएकी थिइन्। साथै, सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले एनआरएनएलाई ‘गैर–राजनीतिक’ बन्न आग्रह गर्दै एकता मन र मस्तिष्कमा कायम हुनुपर्नेमा जोड दिएका थिए ।
मन्त्रीले गैर-राजनीतिक बन्न सुझाव दिएको दुई दिन नबित्दै संघको नेतृत्व पंक्ति पुनः दलीय नेताहरूकै दैलो चहार्न पुगेको छ।