काठमाडौं । १७ वर्षको इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनिक अनुभवसहित सरकारी सेवामा इमानदार, परिणाममुखी र शून्य–सम्झौता कार्यशैलीका लागि परिचित इन्जिनियर दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य–सचिवमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को हालैको निर्णयले श्रेष्ठलाई कोषको सदस्य–सचिवको जिम्मेवारी दिएको हो।
गोरखाको सहिद लखन थापा गाउँपालिका–६ मा जन्मिएका श्रेष्ठ नेपालका नेवार समुदायका हुँदाहुँदै बौद्ध र हिन्दु दुवै धर्मप्रति समान आस्था राख्ने परिवारमा हुर्किएका हुन्। बौद्ध धर्मावलम्बी गुरुङहरूको आदि थलो मानिने क्षेत्रमा बाल्यकाल बिताएका उनले इन्जिनियरिङ क्षेत्रबाट आफ्नो करियरको सुरुवात गरेका थिए।
मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका श्रेष्ठले त्यसपछि सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी पूरा गरे। केही समय नागरिक उड्डयन प्राधिकरणमा कार्यानुभव लिएपछि उनी २०६७ भदौ १ गते नेपाल खानेपानी संस्थानमा प्रवेश गरे।
संस्थानका बनेपा र धरान शाखा प्रमुखका रूपमा काम गर्दा श्रेष्ठ कार्यक्षमता, पारदर्शिता र सेवा सुधारका कारण निरन्तर पुरस्कृत बने। बनेपा र धरान दुवै शाखा सर्वोत्कृष्ट शाखा घोषित हुँदा उनको नेतृत्व मुख्य कारण मानिएको थियो। धरानमा मात्र पौने २ करोड रुपैयाँ उठ्ने पानी महसुल एकै वर्षमा ९ करोड पुगेको तथ्य आज पनि उनीप्रतिको विश्वासको प्रमाण मानिन्छ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत विभिन्न सार्वजनिक अन्तर्वार्तामा “काम गर्ने शैली दीपक श्रेष्ठबाट सिकेको” भन्दै उनको प्रशंसा गर्ने गरेका छन्।
२०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएपछि श्रेष्ठको इमानदार छवि झन् प्रस्टियो। अख्तियारमा ८ वर्ष रहँदा उनले अनुसन्धान गरेका दर्जनौँ भ्रष्टाचार मुद्दाका सयौँ अभियुक्त अदालतको कठघरामा उभिए। ठोस प्रमाण संकलन र निष्पक्ष अनुसन्धानका कारण अख्तियारभित्रै उनी उच्च सम्मानित कर्मचारीका रूपमा चिनिए।
त्यसकै आधारमा अख्तियारले २०७६ सालमा उनलाई उत्कृष्ट कर्मचारी घोषणा गरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कार प्रदान गराएको थियो। त्यतिबेला अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे थिए।
बढुवा भएपछि २०७८ मा पुनः खानेपानी संस्थानमै फर्किएका श्रेष्ठ पछिल्लो समय संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुखका रूपमा कार्यरत थिए। संस्थानको सहायक प्रबन्धक पदबाट केही समयअघि उनले राजीनामा दिएका छन्।
स्वच्छ छवि, निष्कलंक व्यक्तित्व र भद्र स्वभावका कारण परिचित श्रेष्ठ आफैँ भन्छन्—
“जहाँ पुगे पनि केवल जागिर खाने होइन, जागिरे मानसिकता तोडेर नतिजा देखिने गरी काम गर्नुपर्छ।”
यसरी इमानदार सेवा, सुशासनप्रति अडिग प्रतिबद्धता र संस्थागत सुधारमा प्रभावकारी योगदान पुर्याएका श्रेष्ठ अब लुम्बिनी विकास कोषमा महत्वपूर्ण नेतृत्व भूमिकामा प्रवेश गरेका छन्। धेरैका अपेक्षा छ—उनको आगमनले लुम्बिनीको संरक्षण, व्यवस्थापन र विकासमा नयाँ ऊर्जा र पारदर्शी प्रणालीको सुरुवात हुनेछ।