काठमाडौं(जस)–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्र संकटमै रहेको टिप्पणी गरेका छन् । सोमबार मोरङको विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले राष्ट्र संकटमुक्त भइनसकेको बताएका हुन् । अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनको क्रममा नेपाली सेनाले चाहेर पनि ऐतिहासिक धरोहर बचाउन नसकेको टिप्पणी गरे । उनले जेन–जी आन्दोलनपछिको अवस्था राज्यविहीनता जस्तो देखिएको बताए । राष्ट्रको स्वाधीनता र नेपाली जनताको जनताको आत्मसम्मानको रक्षाको निम्ति सेनाले मात्रै पुग्दोरहेन छ भन्ने सन्देश जेन–जी आन्दोलनपछिको विध्वंशबाट लिनुपर्ने प्रचण्डले बताए । उनले अब तीन करोड नेपालीलाई नै राष्ट्रिय फौज बनाउन तागतको आवश्यकता रहेको बताए । जरुरी पर्दा तीन करोड नेपाली नै मर्न तयार नहुने हो भने राष्ट्र बचाउन नसकिने स्थिति देखापर्दै गएको उनको टिप्पणी छ ।
‘हामीसँग तीन करोड नेपालीहरुको राष्ट्रिय फौज बनाउन सक्ने तागत हामीसँग छ । यदि तीन करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँका कुनै तागतले नेपाललाई हराउन सक्दैन । त्यसकारण मेरो चिन्ता र अपिल के हो भने हामी सबै राष्ट्रको निम्ति सम्पूर्ण जनता नै फौज बन्ने संकल्प नगर्ने र सम्पूर्ण जनता राष्ट्रको निम्ति लड्न तयार नहुने हो भने हामीले बचाउन सकिँदैन । त्यसकारणले जनताले मात्रै, जनताको तागतले मात्रै साम्राज्यवादीलाई परास्त गर्न सकिन्छ,’– उनले भने ।
‘प्रचण्ड’ ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरुलाई दीर्घकालीन अर्थ राख्नेखालका सन्धि, सम्झौता र त्यस्ता प्रकारका प्रोजेक्ट अगाडि बढाउने म्यान्डेट नरहेको बताए । प्रचण्डले वर्तमान सरकारको म्यान्डेट चुनावी प्रयोजनको लागि मात्रै रहेको बताए । ‘यो अन्तरिम सरकार मुख्य त चुनावी प्रयोजनका लागि बनेको हो । यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन अर्थ राख्नेखालका सन्धि, सम्झौता या त्यस्ता प्रोजेक्टहरु अगाडि बढाउँछन् भने त्यो म्यान्डेटभन्दा बाहिरको कुरा हो । विलकूल सही हो । हामी सबैले आवाज उठाउन जरुरी छ,’– प्रचण्डले भने । प्रचण्डले वर्तमान सरकार र गठनमा आफूहरुको पनि भूमिका रहेको बताए । यो सरकारले घोषित मितिमै स्वच्छ, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन गर्ने वातावरण बनाउनुपर्ने प्रचण्डको माग छ । नेकपा देशभरी चुनाव अभियानमा हिँडिसकेको प्रचण्डले बताए ।
संयोजक दाहालले संस्थालाई जोगाउन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूहरुले पनि सहमति दिएको बताए । उनले आफूहरुलाई सच्चिनका लागि जेन–जी आन्दोलनले सचेत बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा दलहरुले एकता र विभाजनको पीडा भोगिसकेको स्मरण गराए । जेन–जी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न १६ वटा कम्युनिष्ट पार्टीहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको उनको भनाइ थियो । उनले सरकारले तोकिएकै समयमा निष्पक्ष, धाधलीरहित, स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण तयार गर्नुपर्ने सुझाव दिए ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीको पहिचान र स्वाधीनतालाई रक्षा गर्न वामपन्थीहरु एक भएको बताएका छन् । सोमबार विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुको क्रान्तिकारी चरित्र जोगाउन पार्टीहरुलाई एकीकरण गरेको बताएका हुन् ।सह–संयोजक नेपालले नेपाली सभ्यता, संस्कृति, सामाजिक न्याय र समानुपाति प्रणालीलाई जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए ।