काठमाडौं(जस)–नेकपा (एमाले) आसन्न एघारौं राष्ट्रिय महाधिवेशनको तयारीमा लागेको छ । महाधिवेशनको तयारी सन्दर्भमा बुधबार बसेको सचिवालयको बैठकमा तयारीबारे छलफल भएको होे । एमाले महाधिवेशन यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुँदैछ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय च्यासलमा विहान बसेको बैठकमा महाधिवेशनलाई ऐतिहासिकरूपमा भव्य र सफलतापूर्वक सम्पन्न गर्न गठन गरिएका विभिन्न १२ उपसमितिका संयोजक र सचिवहरूबाट आ–आफ्ना समितिका कामको प्रारम्भिक तयारीका बारेमा जानकारी गराए ।
बैठकमा पार्टीको एघारौं महाधिवेशनको लोगोका बारेमा परामर्श गरिनुका साथै जनसहभागितालाई ध्यानमा राखी महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रम भक्तपुरको सल्लाघारीमा आयोजना गर्नेबारे छलफल भयो । बैठकमा महाधिवेशनमा जनपरिचालन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि छनौटको तयारी, यातायात व्यवस्थापन, प्रचार, स्वयंसेवक परिचालन, आर्थिक व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य तथा मेडिकल टिम परिचालन लगायतका काम सुव्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।
बैठकमा सबैजसो संयोजकहरूबाट आ–आफ्ना समितिका बैठक बसी कामलाई अगाडि बढाइसकिएको व्रिफिङ भएको थियो । बैठकमा समिति संयोजकहरू उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, स्थायी कमिटी सदस्यहरू काशीनाथ अधिकारी, डा.राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, भानुभक्त ढकाल, लालबाबु पण्डित, पोलिटव्यूरो सदस्य विनोद श्रेष्ठ, केन्द्रीय सदस्यहरू विना श्रेष्ठ, रचना खड्का लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटनस्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने गरी निर्णय गरिएको बताए । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुने तय भएको छ । नीति र विधि निर्माणको काम यसअघि भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनबाट सम्पन्न भइसकेकाले यस राष्ट्रिय महाधिवेशनले नेतृत्व चयनको काम गर्ने छ । महाधिवेशनमा दुईहजार तीनसयको हाराहारीमा प्रतिनिधिहरूले भाग लिने छन् ।
महाधिवेशन सचिवालयको बुधबार बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्दर्भमा गरेको प्रतिवेदनमाथि छलफल गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न १४ वटा समिति गठन गरेको थियो । प्रचार विभाग प्रमुख गौतमकाअनुसार बैठकले भक्तपुरको सल्लाघारीस्थित मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम गर्ने निर्णय गरेको छ । बन्दसत्र भने भृकुटीमण्डपमा हुने छ । यसैगरी दोस्रो विधान महाधिवेशनले तय गरेको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय भएको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
एमालेले दायर गरेको रिट दर्ता
विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा (एमाले) ले दायर गरेको रिट सर्वोच्च अदालले दर्ता गरेको छ । एमालेको तर्फबाट महेश बर्तौला र सुनिता बरालले दायर गरेको रिट बुधबार दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । सर्वोच्च प्रशासनका अनुसार उक्त रिटमा आगामी मंसिर १७ गतेका लागि पेशी तोकिएको छ ।
एमालेले रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेको छ । प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको दाबीसहित एमालेले दुवै बदरको माग गरेको छ । एमालेले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गरी संविधानको धारा ७६ बमोजिमको प्रक्रिया सुरु गर्नु भनी आदेश माग गरेको छ ।