काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अराजकताको पर्याय बनेको आरोप लगाउँदै एमालेलाई जिस्काउने र तर्साउने दुस्साहस नगर्न चेतावनी दिएका छन्। शनिबार काठमाडौँमा आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीको वृहत् जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलुकमा शान्ति सुरक्षाको अवस्था नाजुक भएको, अर्थतन्त्र धराशायी बनेको र सरकार स्वयं अराजकतालाई प्रश्रय दिइरहेको बताएका हुन्।
सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका ओलीले एमाले चुनाव लड्न र मन्त्री–प्रधानमन्त्री बन्नका लागि मात्र जन्मेको पार्टी नभएको स्पष्ट पारे। उनले भने, ‘यो पार्टी देशको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षाका लागि बनेको हो। कसैले कुनै हिसाबले, अवैधानिक र अलोकतान्त्रिक ढंगले एमालेलाई कमजोर ठान्छ भने त्यो ठुलो भूल हुनेछ।’
उनले वर्तमान सत्ता गठबन्धनलाई लक्षित गर्दै सरकार कब्जा गरेर एकछिनका लागि सत्ताको स्वाद लिए पनि एमालेले मुलुकलाई पुनः संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काएरै छाड्ने उद्घोष गरे। ‘एमालेलाई जिस्काउने काम नगर्नुस्, एमाले तर्सिने पार्टी होइन,’ ओलीले भने, ‘एमाले नेपाली जनताको पार्टी हो र यसले राष्ट्रियता, लोकतन्त्र र सुशासनको झण्डा कहिल्यै झुक्न दिनेछैन।’
अध्यक्ष ओलीले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ शब्दावली र यसको नाममा भइरहेका गतिविधिप्रति गम्भीर टिप्पणी गरे। उनले ‘जेनजी’ शब्दलाई कृत्रिम रूपमा अघि सारेर युवाहरूलाई दिग्भ्रमित पार्ने र उनीहरूको सेन्टिमेन्ट दुरुपयोग गर्ने काम भइरहेको बताए।
‘कम्प्युटरको विकासको चरणलाई मानिसको पुस्तासँग जोडेर जेन्जी पुस्ता भनिएको छ, यो आफैँमा कृत्रिम र अयथार्थ कुरा हो,’ ओलीले भने, ‘यसको नाममा युवाहरूलाई एमाले विरुद्ध उकास्ने, घृणा फैलाउने र अराजकता मच्चाउने षड्यन्त्र भयो।’ उनले भदौ २३ गतेको घटनालाई स्मरण गर्दै एमाले विरुद्ध युवाहरूलाई प्रयोग गर्न खोजिएको तर त्यो षड्यन्त्रलाई एमालेको संयमताले असफल पारिदिएको दाबी गरे। उनले सच्चा युवाहरू देश बनाउने अभियानमा एमालेसँगै रहेको जिकिर समेत गरे।
अध्यक्ष ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँतर्फ सङ्केत गर्दै पछिल्लो समय सार्वजनिक भएको विवादास्पद अडियो टेपबारे सरकारको जवाफ मागेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र तथाकथित प्रधानमन्त्रीको आवाज भनिएको अडियो क्यासेट सार्वजनिक हुँदा पनि सरकार रमिते बनेकोमा उनले आक्रोश पोखे।
‘एउटा व्यक्तिले क्यासेट लिएर आउँछ, जसमा पूर्वप्रधानन्यायाधीश र देशको प्रधानमन्त्रीको आवाज छ भनिन्छ। त्यो आवाज नक्कली हो कि सक्कली हो? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन?’ ओलीले प्रश्न गरे। उनले यदि त्यो आवाज प्रधानमन्त्रीको होइन भने, देशको प्रधानमन्त्री र न्यायपालिकाको प्रमुखको नाम जोडेर कीर्ते अडियो बनाउनेलाई तत्काल कारबाही हुनुपर्ने माग गरे।
‘यो क्यासेटको छानबिन हुनुपर्यो। मान्छे गिरफ्तार गरेर तर्साउने होइन, त्यो क्यासेटको सत्यतथ्य बाहिर ल्याउनुपर्यो,’ ओलीले भने, ‘यस्तो गम्भीर विषयमा राज्य कानमा तेल हालेर बस्न मिल्दैन।’
अध्यक्ष ओलीले बाराको सिमरामा एमाले नेताहरूमाथि भएको आक्रमण र त्यसपछि प्रहरी प्रशासनमा गरिएको फेरबदलप्रति पनि असन्तुष्टि जनाए। उनले एमालेमाथि आक्रमण हुँदा सुरक्षा दिनुको साटो उल्टै आक्रमणकारीलाई संरक्षण गरेको र सुरक्षा दिन खोज्ने प्रहरी अधिकृत (एसपी) लाई हटाइएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए।
‘सिमरामा एमालेका नेताहरूलाई एअरपोर्टभित्रै थुन्ने, आक्रमण गर्ने काम भयो। जब प्रहरीले सुरक्षा दिन खोज्यो, तब एसपीलाई तुरुन्तै तानियो। यो राज्य सञ्चालनको कस्तो तमासा हो?’ उनले प्रश्न गरे। उनले प्रहरी, सेना र सशस्त्र प्रहरीलाई सरकारले आफ्नो कर्तव्य निर्वाह गर्न नदिएको र एमाले विरुद्ध प्रयोग गर्न खोजेको आरोप लगाए। उनले सुरक्षा निकायलाई उच्च मनोबलका साथ काम गर्न र सत्ताको दुरूपयोगको साधन नबन्न आग्रह गरे।
ओलीले वर्तमान सरकारलाई संविधान र कानुन नमान्ने ‘जन्ती सरकार’ को संज्ञा दिए। उनले भने, ‘जन्ती जान्छ, खान्छ र फर्कन्छ। उसलाई घरको पीर हुँदैन। यो सरकार पनि त्यस्तै छ। देशको अर्थतन्त्र डुबोस्, शान्ति सुरक्षा खलबलियोस्, यसलाई मतलब छैन। यो सरकार असंवैधानिक र अलोकतान्त्रिक जगमा उभिएको छ।’
उनले देशमा लुटपाट, आगजनी र तोडफोडका घटना बढिरहँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाए।
अध्यक्ष ओलीले जस्तोसुकै घेराबन्दी र आक्रमण भए पनि एमाले आफ्नो गन्तव्यबाट विचलित नहुने प्रष्ट पारे। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको नेतृत्व अनिवार्य रहेको बताए।
उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ गाउँ–गाउँमा जान र संगठन निर्माणमा लाग्न निर्देशन दिए। ‘तपाईँहरू ढुक्क हुनुहोस्, एमालेलाई कसैले सिध्याउन सक्दैन। जति आक्रमण हुन्छ, एमाले त्यति नै बलियो भएर निस्कन्छ,’ ओलीले भने।
उनले आगामी निर्वाचन (मिसन ८४) तर्फ इङ्गित गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिए। उनले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र मुलुकको विकासका लागि एमाले एक मात्र विकल्प रहेको दाबी गर्दै जनपरिचालनमा लाग्न आह्वान गरे।
सभामा एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिवहरू लगायत शीर्ष नेतृत्वको उपस्थिति रहेको थियो भने हजारौँको सङ्ख्यामा कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता थियो। सभाले सरकारको काम कारबाहीप्रति खबरदारी गर्दै एमालेको शक्ति प्रदर्शन गरेको सन्देश दिएको छ।
ओलीको सम्बोधनअघि एमालेले राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको थियो ।
संविधान र लोकतन्त्रका लागि भनिएको प्रदर्शन पार्टीको बागमती प्रदेश कमिटीले गरेको हो ।
यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा र्याली सम्पन्न गरिसकेको छ। यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरेको थियो ।