काठमाडौँ(जस)–नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिबार ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत शनिबार जिल्लास्तरमा जनसभा गरेको बताए । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।
उनका अनुसार शनिबारको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका थिए । यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरेका छन् । एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए । यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला सम्पन्न गरिसकेको छ ।
निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने उदघोष
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सङ्कटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला कमिटीले शनिबार नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए । “जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छाँैँ”, उनले भने । राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए । महासचिव पोखरेलले भने, “देशको सङ्कट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी गुल्मी शाखाले शनिबार तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व हो भने । नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनःऊर्जाशील बनाउने, जनतामाझ उपस्थित भई उनीहरूका भावना बुझ्ने तथा पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान सुरु गरिएको बताए । हालैको ‘जेन्जी आन्दोलन’ मा घुसपैठ भएको तथा सुनियोजित ढङ्गले सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी गरे ।
यसैगरी विघटित प्रतिनिधिसभा पुनःस्थापना र जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिबार यहाँ जनसभा गरेको छ । सभाअघि पार्टीका पोलिटब्युरो सदस्य तथा ताप्लेजुङका अध्यक्ष तिलकुमार मेन्याङवोलगायत नेताको अगुवाइमा ¥याली आयोजना गरिएको थियो । सभामा ताप्लेजुङका नौवटै पालिका कमिटीका अगुवा कार्यकर्ता सहभागी छन् ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा विर्तामोडमा शनिबार ¥यालीसहित जनसभा आयोजना गरिएको छ । विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी झापाले विर्तामोडका तीन अलग–अलग स्थानबाट शान्तिपूर्ण ¥याली निकालेर विर्तामोड–५ स्थित सिटी सेन्टर अगाडि जनसभा सुरु गरेको हो । एमाले पार्टी पोलिटब्युरो सदस्य देवेन्द्र दाहालको नेतृत्वमा विर्तामोड–१ स्थित पश्चिमतर्फबाट ¥याली सुरु भएको थियो । ¥यालीमा जिल्ला इन्चार्ज रोमनाथ ओलीसहित विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो ।विर्तामोड–४, भद्रपुर रोडस्थित नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र अगाडिबाट अर्को ¥याली सुरु गरिएको थियो । पार्टीका केन्द्रीय सदस्य हरि राजवंशीको नेतृत्वमा, प्रदेश कमिटी सदस्य अमृतलाल राजवंशीसहित एमालेका नेता तथा कार्यकर्ताको ¥यालीमा सहभागिता थियो । तेस्रो ¥याली विर्तामोड–५ स्थित शनिश्चरे रोडतर्फबाट सञ्चालन गरिएको थियो । पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलको नेतृत्वमा केन्द्रीय सदस्य रवीन कोइरालासहितका नेता तथा कार्यकर्ता सहभागी थिए । ¥याली मुक्तिचोक हुँदै सिटी सेन्टर अगाडि आएर जनसभामा परिणत भएको थियो ।