काठमाडौं(जस)–नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२–८३ को प्रथम त्रैमास (साउन–असोज) ३ महिनाको अवधिमा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कोषको नाफा ४.४३ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा कोषले ३० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १८.८७ प्रतिशतले घटेर ९ करोड ७२ लाख रुपैयाँमा खुम्चिएको छ । बैंक ब्याजदर घट्दा कोषको आम्दानी घटेको हो । चालु वर्षको असोजसम्म कोषले सेवा शुल्क तथा कमिसनबापत ४२ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ९५ अर्ब ८३ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ५० अर्ब ९९ करोड ५६ लाख रुपैयाँ थियो । एक वर्षमा कोषको लगानी १७.८६ प्रतिशतले बढेको छ । कोषले यस अवधिमसम्म धितोपत्रमा ३२ अर्ब २७ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत आवको भन्दा १ अर्ब ३२ करोड बढी हो । समीक्षा अवधिसम्म कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ६२ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ ।