शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’द्वारा ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति गठन गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता सुदन किराँतीले ३१ सदस्यीय समिति गठन गरेको जानकारी गराए।

अभियानले भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्ने, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने, नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने, सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने सङ्कल्प सार्वजनिक गरेको छ।

जुनसुकै मूल्यमा निर्वाचनलाई सफल गर्नुपर्ने, देशभित्र र बाहिर रहेका नेपालीहरूले सबै तहका प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्ने, जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पुरा गर्न गराउन चौतर्फी सक्रिय बन्दै सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डा सहित राजनीतिक पुनर्संरचना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘प्रगतिशील राष्ट्रिय अभियान’ को अपिल 
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
सर्वप्रथम, सबैखाले मुक्ति आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुभएका महान शहिदहरुप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै घाइते तथा वेपत्ता योद्धाहरुको त्याग र समर्पणको इतिहास हाम्रो साझा पुँजी हुने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ ।
विषय प्रवेश,
नेपालको पछिल्लो एक शताब्दिको इतिहास न्याय, समानता, उन्नती तथा आत्मसम्मानका खातिर चलेका संघर्षहहरुले भरिएको छ । हरेक वस्ति, तह र तप्काले आशु, रगत र पसिनाले नेपालमा परिवर्तनको उज्यालो ल्याउनमा आफुलाई संलग्न गराएका छन । देशले संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संबिधानको रुपमा केहि उपलब्धि हासिल गरेको पनि थियो ।
तर नेपालको राजनीति र शासन जनताको अपेक्षा अनुरुप चलेन ।
आत्मसम्मान, पहिचान, समता, विकास, सुशासन र राष्ट्रियताको संबर्धन जस्ता विषय सत्ताको खेलका सामु निरिह बन्न पुगे ।
फलतः आज देश अप्ठेरोमा छ । गत एक सय वर्ष यता चलेका सबैखाले जनसंघर्षको जगमा हासिल भएका उपलब्धिहरु आम मानिसका जीवन व्यवहारमा अनुवाद हुन नसक्दा चौतर्फी निराशा, आक्रोश र अन्योलको अवस्था सिर्जना भएको छ । भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरुमा देखिएको व्यापक भ्रष्टीकरणका कारण जेनजी विद्रोह भएको घाम जतिकै छर्लङ्ग छ । गत २०८२ भदौ २३ र २४ को जेनजी विद्रोहमा राजनीतिक दलका कार्यालय र नेताहरुको घर आगोले खरानी बनाएसँगै वस्तुतः नेपालको पुराना राजनीतिक दलहरु सारतः विघटित भएका छन् । जेनजी विद्रोहले निरङ्कुश र दमनकारी ओली सरकारको विघटन गरी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको कुरा सर्वविदितै छ ।
हामीले माओवादी पार्टी भित्र ३ वर्ष देखि लोकतान्त्रिक मुल्य स्थापित गर्न, पार्टी भित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न, देशको समग्र अर्थतन्त्रको पुनर्संरचनाको पहल गर्न, जनजीवीका प्रश्नहरुको समाधान गर्नका र पहल लिनका लागी तथा रुपान्तरण सहित नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने बहस सघन रुपमा उठाएका थियौं। ती एजेन्डाहरुलाई बेवास्ता गर्दै, केन्द्रिय समितिले पटकपटक महाधिवेशनको मिति तोकेर पनि त्यसको बेवास्ता गर्ने काम भयो। स्थापित पार्टी र आन्दोलनलाई लोकतान्त्रिकरण गराउने, जवाफदेही बनाउने तथा बिधिमा संचालन गर्ने हाम्रो प्रयत्नलाई असफल बनाउने काम भयो ।
युवाहरुको आन्दोलनको समयमा हेलिकप्टर चढेर भागेका तथा सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल र अह‌ङ्कारी नेताहरु जेनजी विद्रोहद्वारा स्थापित मुद्दा अनुरुप रुपान्तरण हुनैपर्ने थियो । रुपान्तरणको गुञ्जायस त परको कुरा, तिनै नेताहरु पुरानै शैलीमा हुड्‌ङ्कार गर्न थालेको दृश्यले जनतालाई पुनः आक्रोशित बनाउँदै छ । इतिहास साक्षि छ, जब देशमा नागरिकहरु आक्रोशित हुन्छन् तब विद्रोहका रुपमा विष्फोट हुन्छन् । जेनजी विद्रोह त्यसैको एउटा चेतावनी मात्र थियो । आगामी दिनमा यो चेतावनीलाई सही रुपमा सम्बोधन गर्न सकिएन भने यो विद्रोह पुनः नयाँ स्वरुपमा प्रकट हुने निश्चित छ ।
यी तमाम समस्याको समाधान गर्न सक्ने शक्ति जनतामै निहित छ । तसर्थ, भ्रष्टाचार र बेथितिको दलदलमा फसाई देशलाई यो अवस्थामा पुर्याउने सफल, नैतिकताहिन र अहङ्‌कङ्कारी नेताहरुलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न हामी सबैमा आह्वान गर्दछौं ।
समग्र राजनीतिमा भएका समस्यालाई पहिचान गर्दै, तीनिहरुको आमुल पुनर्संरचना गर्दै, नेपालका दिर्घकालिन र अल्पकालिन सबै समस्या समाधान गर्ने जनताको भावनाको जगमा टेकेको प्रगतिशील राजनीतिक शक्ति निर्माणमा एकजुट हुन आग्रह गर्दछौँ ।
समयको यही आवाज र आवश्यकतालाई बुझेर देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण वामपन्थी, प्रगतिशील, लोकतान्त्रिक र देशभक्त जनसमुदायहरुलाई ढिलो नगरी ‘प्रगतिशील राष्ट्रिय अभियान’मा आवद्ध हुन जोडदार अपिल गर्दछौं ।
हामी आगामी निर्वाचन केवल यथास्थितिको बिडो थाम्ने अर्थमा नभई निर्वाचन पश्चात् राज्यका समग्र संरचना नीतिगत अभ्यासगत रूपमा असफल भएको अवस्थामा नयाँ जगमा पुनर्संरचना गरी सुदृढ राष्ट्र, सभ्य नागरिक र बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश तर्फ जानेछौं।
प्रगतिशील राष्ट्रिय अभियान मार्फत हामी सबै बामपंथी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक समुह, व्यक्तिहरुलाई एक ठाउँमा ल्याउने, वर्तमान राजनीतिले उत्पन्न गरेको निराशा चिर्ने, संबैधानिक लिकबाट बाहिरिएको अवस्थालाई ट्रयाकमा ल्याउने, जेन्जी आन्दोलनका मागहरू बिशेष गरी भ्रष्टाचार र नेतातन्त्र विरुद्ध जनपरिचालन गर्ने उद्देश्य रहेको छ। यस क्रममा हामी नेपाली राजनीति र दशकमा हुने राजनैतिक आन्दोलनको असफलताका कारणहरुको पहिचान गरी तीनलाई दोहोरिन नदिने र नेपालको आगामी राजनैतिक आर्थिक, सामाजिक, सांस्कृतिक एवम् पर्यावरणीय दृस्टीले अपनाउनु पर्ने स्पष्ट मार्गचित्र सहितको नेपाली समाजवादको रोडम्याप तयार पार्न, समग्र आन्दोलन पुनर्संरचनाको लागि बृहत् राजनैतिक सम्मेलनको मार्ग निर्देशन अनुसार जनचाहना बमोजिमको पार्टी निर्माण गर्नेछौं।
अन्त्यमा,
अग्रजहरूको इतिहासलाई साझा धरोहर ठान्दछौँ । उहाँहरुप्रति सँधै श्रद्धाले शिर निहुराउनेछौँ । जनताको उज्यालो भविष्य तथा सिर्जनात्मक स्वप्नशीलताका खातिर उहाँहरुको त्याग, समर्पण तथा वलिदान हाम्रो आगामी यात्राको मार्गदर्शक हुनेछ । नेपालमा वाम लोकतान्त्रिक अग्रजहरूको सकारात्मक पक्षहरुलाई आत्मसात गर्दै कमजोरीहरुबाट शिक्षा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
हाम्रो अपिलः
१. भ्रष्टाचार, विभेद र असमानताको रुपमा रहेका नेपाली समाजको मुख्य शत्रुमाथि विजय हासिल गरौं ।
२. सांस्कृतिक समतामा आधारित समाज निर्माण गरौं ।
३. नेपाली राजनीतिको आधारभुत पुनःसंरचना गरौं ।
४. सबै अग्रगामी आन्दोलनका सहिद, घाइते र वेपत्ता यो‌द्धाहरुको सपना पूरा गरौं ।
५. जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पारौं, जनताको एकताको वलमा अह‌ङ्कारी र असफलहरुलाई विदा गरौं ।
६. देशभित्र र वाहिर जहाँसुकै रहेका नेपालीहरुले सबै तहमा प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गरौं ।
७. जेनजी विद्रोहबाट स्थापित मुद्दाहरुलाई यथाशिघ्र सम्बोधन गर्न गराउन चौतर्फी सक्रिय बनौं । सुदृढ राष्ट्र, सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डा सहित राजनीतिकि समग्र पुनर्संरचना गर्ने लक्ष्य प्रति प्रतिबद्ध होऔं।
प्रगतिशील राष्ट्रिय अभियानको तर्फबाट
सुदन किराँती
मितिः २०८२ कार्तिक २७ गते
प्रगतिशिल राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति
– सुदन किराँती
– मदन भट्राई
– नारायणी शर्मा
– मदन लिम्बु
– भिम ब. मल्ल
– संझना राई
– गोरख ब। केसी
– पुजन सिंह
– जटिल कार्की
– अरविन्द यादव
– देविराम देवकोटा
– लक्ष्मि गुरुङ
– जन्मदेव जैसी
– प्रकाशचन्द्र पाण्डे
– टेकेन्द्र भट्ट
– राजु आलेमगर
– दिपक साउद
– सन्तोष विष्ट
– पुष्प न्यौपाने
– प्रेम ब.तामाङ
– डा. अच्युत भट्ट
– यज्ञबल्लभ शर्मा
– विमला सिंह
– क्षितिज सापकोटा
– निर्मला गौतम
– बाबुराम नेपाली

प्रतिक्रिया
सम्बन्धित समाचार