काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरूमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ।
बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी दिएका हुन्। उनकाअनुसार जेनजी आन्दोलनको क्रममा १४ हजार ५ सय ५४ जना भागेकोमा ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको छ।
उनले देशभरका कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताए। उनले फरार कैदीहरूको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएको समेत जानकारी गराए।
उनले फरार कैदीको खोजतलासका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र सुरक्षातहमा विशेष अपरेसन समेत जारी रहेको बताए। उनले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताए।
उनले जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्रसहित निशुःल्क उपचारको व्यवस्था मिलाइएको समेत बताए। उनले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको पनि बताए।