काठमाडौँ(जस)–राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सहभागी थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारै मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारैबाट लागु हुने गरी पदमुक्त गरेका हुन् । प्रदेश प्रमुख भण्डारीले कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
विवादका बीच मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् । देशमा संघीयता स्थापना गर्न शहीदहरुको भूमिका सबैभन्दा माथि रहेको भन्दै उनले शहीदका परिवारलाई ससम्मान मधेश रत्नले सम्मानित गर्ने बताए । निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएदेखि यादवले पदभार ग्रहण गरेका थिएनन् ।जेनजी आन्दोलनमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय जलेर क्षतिग्रस्त भएपछि तत्कालका लागि मधेश भवन भित्रै मुख्यमन्त्रीका लागि अस्थायी कार्यालय स्थापना गरिएको छ ।
मुख्यमन्त्री यादवले मंगलबार विहानसम्म आफूले प्रदेशका सचिवलाई पहिलाकै मुख्यमन्त्री कार्यालयमा मर्मत सम्हार गरी कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । तर मंगलबार बेलुका मुख्यमन्त्री यादवले मधेश भवन भित्रै तत्कालका लागि बनाइएको कार्यालयमा पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहेका बेला मधेश भवन बाहिर विरोध प्रदर्शन र नाराबाजी भएको थियो । जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले मधेश भवन अगाडि नाराबाजी गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए । सो क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीहरुबीच झडप समेत भएको थियो ।
अदालतले मेरो नियुक्ति अवैधानिक ठहराए राजीनामा दिन्छु
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले अदालतले नियुक्तिविरुद्ध फैसला गरे राजीनामा दिन तयार रहेको स्पष्ट पारेका छन् । जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री यादवले आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जे फैसला गरे त्यो मान्न तयार रहेको बताएका हुन् । मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति गलत रहेको आदेश दिए आफू एकछिन पनि पदमा नबस्ने बताएका छन् ।उनले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुखले संविधानमा उल्लेख बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको बताएका छन् ।
मुख्यमन्त्री यादवले प्रदेश प्रमुखको स्वाथ्यमा समस्या आएका कारण आफू स्वयमले नै आग्रह गरेर महोत्तरीको एक होटलमा सपथ ग्रहण गरेको बताए । उनले संविधान भन्दा बाहिर रहेको आफू र आफ्नो पार्टी नेकपा एमालेले कहिले कुनै काम नगरेको पनि दाबी गरे । प्रदेश प्रमुखलाई पदमुक्त गर्नुमा अहिलेको नयाँ सरकारले गरेको निर्णय मात्र रहेको र यसमा आफूलाई नजोड्न उनले आग्रह गरे । विभिन्न राजदुतहरुलाई पनि फिर्ता बोलाउने अहिलेको सरकारले गरेको निर्णय आफूलाई केही थाहा नभएको मुख्यमन्त्री यादवले बताए । पदभार कहिले ग्रहण गर्ने भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मुख्यमन्त्री यादवले जेनजी आन्दोलनमा मुख्यमन्त्री कार्यालय क्षति भएकाले सचिवलाई मर्मत संभार गरी कार्यायल सुचारु गर्ने वातावरण बनाउन आफूले निर्देशन दिएको बताए । उनले कार्यालय व्यवस्थापन हुने वित्तिकै पदभार ग्रहण गरी नियमित कामकाज अगाडि बढाउने बताए ।