आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछ : सञ्चारमन्त्री खरेल

सोमबार, कार्तिक २४ २०८२

काठमाडौँ, २४ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चलचित्र विकास बोर्डले सोमबार आयोजना गरेको ‘सांस्कृतिक रुपान्तर पुरस्कार–२०८२’ समारोहमा मन्त्री खरेलले चलचित्रको विकास, विस्तार र दिगोपनाका साथै चलचित्रकर्मीको बृहत्तर हितमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले समाज रुपान्तरणका निम्ति नेपाली चलचित्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले चलचित्रकर्मी देशको परिवर्तनको शूत्रधार भएको पनि उल्लेख गर्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“देशको परिवर्तनको शूत्रधार चलचित्र क्षेत्र हो । जस्ले आफ्नो सम्पूर्ण जविन राष्ट्रको निम्ति विताउनुभएको छ । तपाँइहरुको सामाजिक सुरक्षालगायत विषयमा राज्यले हेर्नुपर्ने हुन्छ ।”
चलचित्रकर्मीले ऐतिहासिक चलचित्र आमा माइतीघरलगायत देशको गाथा गाएर मातृभूमिको रक्षा गरेर राष्ट्रप्रतिको भाव दर्शाउन खेलेको भूमिकालाई बिर्सन हुदैन । चलचित्र निर्देशन, अभिनय र कथाबस्तुमार्फत समाजभित्रका कुरिती, अव्यवस्थाका विरुद्धमा चेतनाको विगुल फुक्ने नायक नायिका, निर्देशकलगायतमा नमन गर्दछु ।
उहाँले चलचित्रकर्मी प्रेम, शान्ति, भावना र आत्मियताको प्रतिक हुन् भन्दै चलचित्रकर्मीले जत्तिकै नेपालका राजनीतिक दल, प्रशासकहरुले गरिदिएको भए अहिले परिवर्तनले खोजेकोबमोजिम हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालीचलचित्रमार्फत समाज रुपान्तरणको लागि खेलेको भूमिका र योगदानलाई मुलुकले कहिल्यै भुल्ने छैन भन्नुभयो । उहाँले भन्नुभयो,“देश र जनताको हितमा, नेपाली चलचित्र क्षेत्रको विकास र चलचित्रकर्मीका लागि आफ्नो कार्यकालमा राज्यकोतर्फबाट के–के गर्न सकिन्छ कार्ययोजना ल्याउन मन्त्रालयका पदाधिकारिलाई आवश्यक निर्देशन दिएको छु, केही नीतिगत परिवर्तनमा गर्नुपर्ने कामबारे छलफल सुरु भइसकेको छ ।”
सञ्चारमन्त्री खरेलले नेपाली चलचित्र क्षेत्रमा समयसापेक्ष नवीनता र सिर्जनात्मक परिवर्तन आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“पहिला गाउँ समाजको देखेको, थाहा पाएको कथा गाथा र व्यथा पस्कने चलचित्र जगतमा आजकाल लुकेका कुरा, लुकाइएका विषय, नदेखिएका कुरा, भविष्यमा हुने विषयलाई कथावस्तु र गीत संगीतमार्फत नेपालीको मन मस्तिस्कसम्म गुञ्जायमान गराउन सफल भएको छ,त्यसैले म सम्पूर्ण चलचित्रकर्मीलाई बधाई दिन चाहन्छु ।”
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजिकरण गर्ने बतउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकास, चलचित्रकर्मीको सामाजिक सुरक्षालगायत विविध विषयमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
सो अवसरमा सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउने १५ जना चलचित्रकर्मीलाई नगद र कदरपत्रसहित सम्मान गरेको छ । यसरी सम्मानीत हुनेमा कलाकारहरु शिव श्रेष्ठ, सबिता गुरुङ, तीर्थ थापा, हेमन्त बुढाथोकी, गायक यस कुमार, गायिका अन्जु पन्त, चलचित्र पत्रकार ध्रुव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बु, निर्देशकद्वय सम्झना रौनियार र युवराज लामा, निर्माता किशन पोखरेल, केशव भट्टराई (कलाकार–मरणोपरान्त), कलाकार नाजिर हुसेन, रिमेशअधिकारी र रेनीश फागो हुनुहुन्छ । सञ्चारमन्त्री खरेलले ती सबै पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार