काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट अलग भएर छुट्टै अभियान घोषणा गरेका जनार्दन शर्माले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टीहरूसँग एकता गर्ने अधिकार नभएको बताएका छन्।
मंगलबार ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गर्दै प्रतिस्पर्धा गर्न नदिने र नयाँ नेतृत्व स्थापित हुुन नदिन पार्टी एकताको नाटक गरेको समेत आरोप लगाए।
‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ,’ शर्माले भने, ‘त्यसको अधिकार क्षेत्रभित्र नै छैन। त्यो आयोजक समितिले पाउँदै पाउँदैन। आयोजक समितिले त महाधिवेशन सम्पन्न गर्ने भनेको थियो।’
‘महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर टार्ने, पार्टीभित्र विधि, पद्धतिलाई स्थापित गर्न नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उदेश्यबाट प्रेरित भएर आज जुन खालको एकता गर्ने भनेको छ, त्यसले न कुनै निकास दिने छ,’ उनले थपे।
उनले आजैबाट माओवादी केन्द्र लगायतमा भद्रगोल सुरु भइसकेको समेत दाबी गरे। ‘आजैबाट त्यहाँ भद्रगोल सुरु भैसक्यो, हजरौँका केन्द्रीय कमिटी बन्दै छन्,’ शर्माले भने, ‘सयौँको सचिवालय बन्दै छन्। त्यसको कुनै अर्थ हुने छैन।’
माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री राम कार्कीले समाजवादी विचारधार भएकाहरूलाई एकतावद्ध हुन आह्वान गरे । नेता कार्कीले आफूहरूले पार्टीको पदीय भूमिका छाडेर एकतावद्ध हुन खोजेको बताए ।
यतिका वर्षसम्म संघर्ष गर्दा पनि पार्टीका नेताहरूलाई विस्थापन गर्न नसकेको भन्दै एकीकृत समाजवादी अभियान सुरु गर्न लागेको उनले बताए । संगठित भएका वा नभएका सबैलाई गोलबद्ध हुन उनको आग्रह छ । त्यसका लागि आफू रहेको पार्टीले दिएको जिम्मेवारी छाडेर आउन उनले भनेका छन् ।
विभिन्न समूहमा रहेका वा नरहेका सबै देशभक्त, जनवादी सोच राख्ने, समाजवादलाई लक्ष्य राख्ने समाजवादलाई लक्ष्य ठान्ने सबैजना आफ्नो नेताहरूले दिएको पदीय भूमिका छाडेर आउन उनले आह्वान गरे ।
नेता कार्कीले नेता जनार्दन शर्मा, नेतृ अन्जना विशंखेलाई देखाउँदै भने, ‘उहाँ जनार्दनको दर्ज्यानी चिन्ह उपमहासचिव हो, मेरो सचिव हो, उहाँको स्थायी समिति सदस्य हो, हामी त्यो दर्ज्यानी चिन्ह मिल्क्याएर आएका छौं, यसरी नै समाजवाद प्रति प्रतिबद्ध, यो नयाँ युवापुस्ताप्रति विश्वास गर्ने सबैलाई हामी के भन्छौं भने यस्ता दर्ज्यानी चिन्हहरू, पूर्वाग्रहहरू, मेरै पार्टी ठूलो, मेरै पार्टी राम्रो भन्ने सारा आग्रहहरूलाई त्यागेर एउटा एकीकृत समाजवादी अभियान सुरु गर्न जुट्न हामी सबैलाई आग्रह गर्दछौं ।’
कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताए ।
नेकपा एकीकृत समाजवादी लगायतसँगको एकता सम्बन्धी एजेन्डा पारित गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक चलिरहँदा अलग्गै पत्रकार सम्मेलन गर्दै नेता कार्कीले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताए ।
यति वर्ष संघर्ष गर्दा पनि आफ्नो पार्टी नेतृत्वलाई सुधार गर्न तथा विस्थापित गर्न नसकेको भन्दै उनले समाजवादका निम्ति अब एकीकृत अभियान सुरु गर्ने बताए।
उनले विभिन्न समूहमा रहेका र विभिन्न दलमा रहेका सच्चा कम्युनिष्टहरूलाई एकीकृत समाजवादी अभियानमा जुट्न आह्वान गरे।
‘राजनीतिक पार्टी र जनताको बीचमा गहिरो र फराकिलो खाडल तयार भयो। खाडल छ भन्ने सबैले भन्दै, लेख्दै थिए। खास गरेर हाम्रो पंक्तिले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापित गर्ने ल्याकत राखेन,’ उनले भने, ‘यत्रो ठूलो सहादत, बलिदान, योगदान, जनताको समर्थनका बाबजुद नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको छ।’
उनले अब यो शक्तिले शान्तिपूर्ण तर जुझारु संघर्ष गर्ने बताए। अहिले कम्युनिष्ट नाम बोकेका अनगिन्ती पार्टी भए पनि ती सबै विघटित भइसकेको दावी गरे। ‘केही नेताहरूको लागि, तीनको वरिपरि बस्ने केही शिष्यमण्डलका लागि पार्टी छ,तर, जनताको नजरमा हेर्दा, जेनजीको नजरबाट हेर्दा हामीले देख्यौं, पार्टीहरू विघटित भएका छन्। पार्टीहरुको कुनै हैसियत छैन,’ उनले भने।