काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एमाले फर्कनका लागि चारवटा आधारभूत वैचारिक सर्तहरू अगाडि सारेका छन् । यसलाई उनले वार्ताको आधार बनाउन सकिने बताएका छन् ।
खनाल भन्छन्, ‘एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ। जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ।’
एमालेसँग एकताका लागि खनालले अगाडि सारेका सर्तहरू :
१. मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नेस् विचारमा मात्र होइन, व्यवहारमा पनि मार्क्सवादी बन्नुपर्ने।
२. समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउनेस् पुँजीवादी जनवादी क्रान्ति पूरा भइसकेकाले अब समाजवादतर्फको रूपान्तरणको चरणमा प्रवेश गर्नुपर्ने।
३. नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्नेस् मार्क्सवादको ढाँचालाई नेपाली यथार्थ (कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचना) मा रूपान्तरण गर्नुपर्ने।
४. देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्पस् यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको सङ्घर्ष हो।
उनले यी चार बुँदामा एकरूपता भएमा तत्काल वार्ता सुरु गर्ने स्पष्ट पारेका छन् ।
नेता खनालले एमालेलाई आफ्नो ‘जीवनको वैचारिक सन्तान’ बताउँदै भावनात्मक माया रहेको उल्लेख गरे। तर, एमाले अध्यक्ष केपी शर्मा ओली प्रति भने उनले असन्तुष्टि पोखे। ‘एमालेभित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौँ। तर ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन,’ खनालको भनाइ छ।
उनको आलोचना एमालेको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तितर्फ लक्षित थियो। उनले पार्टीलाई सामूहिक नेतृत्व र दीर्घकालीन समाजवादी दृष्टिकोणतर्फ फर्काउन सके मात्र सबै नेता कार्यकर्ता समाहित हुन सहज हुने बताए।