क्वालालम्पुर। मलेसियामा कार्यरत धादिङ घर भएका गणेश मगरलाई लाङ्घाली चुलोको पहलमा नेपाल फर्काइएको छ।
करीब ११ वर्षअघि मलेसियाको जोहोर राज्यस्थित एक कम्पनीमा काम गर्न आएका मगर पछिल्ला केही वर्षदेखि कम्पनी छोडी स्वतन्त्र रूपमा काम गर्दै आएका थिए। स्वास्थ्य समस्या देखा परेपछि उनी करिब दुई महिनादेखि साथीहरूको कोठामा बस्दै आएका थिए।
मगरको कलेजोमा समस्या देखिएपछि उनको आँखामा पहेँलोपन र अनुहारभरि बिबिरा देखिएको थियो। आफूसँग उपचारका लागि पैसा नभएको र घर फर्कन सहयोग चाहिएको जानकारी उनले साथीहरूलाई दिएका थिए।

पारिवारिक अवस्था कमजोर रहेका कारण मगर लाङ्घालि चुलो का सञ्चालक सदस्य गोकर्ण आलेको सम्पर्कमा पुगेका थिए। त्यसपछि, नेपाली दूतावासले निःशुल्क ट्राभल डकुमेन्ट र फिङ्गरप्रिन्ट प्रक्रियामा सहयोग पुर्याएको थियो।
त्यस्तै, लाङ्घाली चुलोले फिङ्गरको लागि लाग्ने आरएम ५२० तथा हवाई टिकटको सम्पूर्ण खर्च व्यहोरेको थियो। गणेश मगर नेपाल एयरलाइन्स मार्फत अक्टोबर २९ का दिन काठमाडौं फर्किएका हुन्।
नेपाल पुगिसकेपछि उनले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भने, “म नेपाल फर्किएँ। अब उपचार गरेर ठिक भएपछि नेपालमै केही गर्ने सोचमा छु। अबदेखि विगतका गल्ती दोहोर्याउने छैन।”

लाङ्घाली चुलोका अर्का सञ्चालक सुन्दर आलेका अनुसार, “बिरामीको अवस्थाबारे विभिन्न संस्थाहरूसँग सहयोगको प्रयास गरिएको थियो तर कुनै प्रतिक्रियाको जानकारी नआएपछि हामीले आफ्नै खर्चमा उनलाई स्वदेश पठायौं।”
लाङ्घाली चुलोले यसअघि पनि समस्या परेका नेपालीहरूलाई सहयोग गर्दै आएको छ।
“हामी जहाँ भए पनि, जसलाई आवश्यक पर्छ, नेपालीका लागि हात बढाउनेछौं,” सञ्चालक आलेले बताए।
