प्रतिनिधि सभाको चुनाको मिति दिनानुदिन नजिकिदै गर्दा नेपालका केही कम्युनिस्ट (वामपन्थी) राजनीतिक दलहरु एकता (एकीकरण) का तम्सिएका छन् । निर्वाचना आयोगले निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई दल दर्ता गर्नका लागि यही कात्तिक मसान्तसम्मको समयसीमा तोकेपछि दलहरुबीच एकता प्रकृया अघि बढेको हो । एकीकरणका लागि चार वर्ष अघि नेकपा (एमाले) बाट अलग्गिएर बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच सहमति भएको छ । विचार र सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वामसमूहबीच एकता, सहकार्य र समन्वय अपरिहार्य छ । तर एकता गर्ने भनिएका दुई पार्टीका बिभिन्न नेताहरुबीच नै कुरा मिलिरहेको छैन।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्मनित नेता झलनाथ खनालले चार वर्षअघि नेकपा (एमाले) बाट विभाजनको औचित्य पुष्टि नहुँदै कुनै अर्को दलसँग एकतामा जाने प्रस्ताव आएको विषयमा गम्भीर छलफल हुनुपर्छ भन्ने अडान राखिरहेका छन् । सोही पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफूहरू अलग भएपछि चार वर्षको अवधिमा भएका कामले पार्टी विभाजनको औचित्य पुष्टि भएको जिकिर गरेका छन् ।
यता नेकपा (माओवादी केन्द्र) आजै एकता गरौँ, भोलि नैं गरिहालौँ भन्दै उचाल्ली रहेको छ । यिनीहरुको चालामाला देखेर नेत्रविक्रम चन्द विप्लवले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । यी सबै गतिबिधिहरु हेर्दा चुनाव अघि कम्युनिस्टहरुबीच उल्कै एकता भइहालेछ भने झलनाथ खनालले नेकपा ९एस० त्यागेपछि माधव–प्रचण्डबीच एकीकरण होला भन्ने लख काट्न सकिन्छ । विप्लव चाहिँ नेकपा एमालेतिर जालान् कि ! किनकी सबैभन्दा चाँडो उनलाई चुनाव जितेर सांसद अनि मन्त्री बनिहाल्न हतार भएको देखिन्छ । माओवादीबाट चोइटिएर गएको लगभग १२ वर्षको अवधिमा भूमिगतसमेत बनेका विप्लव पुरानै घर अर्थात, नेकपा (माओवादी केन्द्र) मै फर्किने सम्भावना केही समय अघिसम्म थियो । तर उनले माओवादी केन्द्रसँग एकता गर्ने हो भने पार्टी अध्यक्ष पद नैं आफूलाई चाहिने अडान राखेपछि प्रचण्ड–विप्लवको मिल्ती हुन सकेको छैन । यही कारण जसरी पनि चुनाव जितेर साँसद र मन्त्री बनिहाल्ने हतार गरेका विप्लव र खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० हरुले उनीहरुको पार्टी अव नेकपा एमालेमा समर्पण गर्नसक्ने सम्भावना पनि प्रकट छ ।
बिभिन्न भँगालाहरुमा बिभक्त भएका नेपालका कम्युनिस्ट पार्टीहरुले यदि विचार र कार्यदिशा मिल्ने पार्टीहरुसँग एकताको गर्ने हो भने पार्टी एकताको मूलआधार मार्गनिर्देशक सिद्धान्त र राजनीतिक कार्यदिशालाई एक्काइसौं शताब्दीमा नेपाली विशेषताको समाजवादी कार्यदिशाका आधारमा एकता टुंगो लगाउनुपर्छ । बदलिँदो राजनीतिक परिस्थितिका दृष्टिले पनि सबै माओवादी धारा र समाजवादी क्रान्तिको कार्यदिशाका पक्षधरहरु एक हुनुको बिकल्प देखिँदैन । यसले मात्र प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादको आधार निर्माण गर्न सक्छ । त्यसकालागि माओवादी केन्द्रले एकताका निम्ति नेकपा, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, आम जनता पार्टीसँगको एकता वार्ता चुनावका लागि तोकिएको दल दर्ताको मिति अगावै निष्कर्षमा पु¥याउनु बुद्धिमानी हुन्छ । यी पार्टीहरुको विचार, राजनीति र कार्यदिशामा खासै भिन्नता पनि छैन । तसर्थ, किन्तु, परन्तु नभनिकन एकताको प्रक्रिया अगाडि बढाउँदा नेताहरुलाई मात्र होइन समाजवादउन्मुख नेपालका नागरिकलाई पनि फाइदा नै हुनेछ ।
विप्लव सी नेतृत्वको नेकपा पनि कम्युनिस्ट पार्टी नेपाल दर्ता गरी चुनावी प्रक्रियामा सामेल हुनु सकारात्मक कुरा हो । एकीकृत जनक्रान्तिको बाटोबाट शान्तिपूर्ण प्रतिस्पर्धामा सहभागी हुनु उनका लागि चुनौती र अवसर दुबै हो तसर्थ, प्रतिस्पर्धाको प्रक्रियामा एकतावद्ध भएर अगाडि बढ्नु उचित हुन्छ । तर, त्यस्तो एकता दक्षिणपन्थी र निरङ्कुशतावादीहरूसँग होइन, सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूसँग गर्नुपर्दछ । एकतामा नैं संगठनात्मक चुस्तता र सन्तुलन महत्वपूर्ण हुन्छ । यो सवालमा विगतमा कम्युनिस्टहरुबाट गम्भीर त्रुटिहरू भएका छन् । योगदान र मनोविज्ञानको सन्तुलन संगठनमा ध्यापूर्वक दिइयो भने टुटफूटबाट कम्युनिस्ट पार्टीहरु जोगिन सक्छन् । पार्टी एकताको सम्पूर्ण प्रक्रिया चाँडै टुंगाएर फागुन २१ को निर्वाचनमा होमिनुको बिकल्प छैन । तसर्थ, तत्कालका लागि सबैको निर्वाचन नै अर्जुनदृष्टि बन्नु्पर्छ ।