शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय : चुनाव गर्न भागेका कैदी र लुटिएका हतियार खोज

मंगलबार, कार्तिक ११ २०८२

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई जेनजी आन्दोलनले ढालेपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ । सरकारका मन्त्रीहरु जसरी पनि निर्वाचन सम्पन्न गरेर चुनिएर आएका जनप्रतिनिधिबाट बनेको सरकारलाई सत्ता सुम्पिन तयार रहेको बताइरहेका छन् । तर देशमा अझै निर्वाचनको वातावरण नबनेको दलका नेताहरुले बताएका छन् । सुरुमै चुनावको स्वागत गरेका नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत (समाजवादी)का नेताहरु भने चुनावी वातावरण बन्दै गएको हुनाले चुनाव समयमै सम्पन्न हुनेमा विश्वस्त छन् । तर नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरु भने चुनावको मिति तोकएपनि अझै वातावरण निर्माण नभएको बताइरहेका छन् । उनीहरु प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा छन् । सर्वोच्चमा परेका रिटहरुले प्रतिनिधिसभा विघटन गलत थियो भन्दै पुनस्र्थापना गर्ने आदेश दिनेछ भन्नेमा एमाले र कांग्रेसहरु छन् ।

चुनावमा भाग चाहने दलहरुलाई दर्ताका लागि यही कात्तिक मसान्त भित्रमा आयोगमा आएर दर्ता गर्न निर्वाचन आयोगले भनेको भएता पनि एमाले र कांग्रेसले भनेजस्तै निर्वाचनको वातावरण अझै राम्रोसँग बनिसकेको छैन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मौका छोपेर देशका बिभिन्न जिल्लाका कारगारमा रहेका कैदीहरु जेलबाट भागेका छन् । आन्दोलनमा प्रहरी चौकीहरु जलाइएको छ र प्रहरीका हतियारहरु लुटेर लगिएको छ । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए ।

जेलबाट भागेका केही कैदीहरुले समाजमा पुन हत्या हिँसा गरेका घटनाहरु बाहिरिएका छन् । सरकारले फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । तर ठूलो संख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी अझैसम्म फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत फरार कैदीलाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मीले सम्बन्धित कारागारमा बुझाइरहेका छन् । तर अझै पनि केही कैदीहरु लुकिछिपी हाम्रै टोल, छिमेक र समाजमा बसिरहेका छन् । यदि आगामी निर्वाचनसम्म यी लुकिछिपी बसेका भगौडा कैदीहरुलाई पक्राऊ गरिएन भने उनीहरुबाट निर्वाचनका बेला आपराधिक गतिबिधि हुने आशंका गर्न सकिन्छ । साथै लुटिएका प्रहरीका हतियाहरुको खोजतलास गर्न सरकारले विशेष योजना ल्याउन जरुरी छ । यदि यसो गर्न सकिएन भने निर्वाचनाको वातावरण बन्न सक्दैन ।

जेनजी प्रदर्शनको मौका पारेर सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँका नक्खु, डिल्लीबजार, जगन्नाथदेवल, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ तुलसीपुर, नौवस्ता बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट १३ हजार ५८५ कैदीबन्दी भागेका थिए । यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६४ बालबन्दी भागेका थिए ।

तसर्थ शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार क्रियाशील हुनुपर्छ । दलीय शासन व्यवस्थामा राजनीतिक पार्टीहरुको सहभागिताबिना निर्वाचनको कल्पना पनि गर्न सकिँदैन । सरकार र पार्टी नेताहरुले जिम्मेवार राजनीतिक दलहरुसँग निरन्तर संवाद तथा छलफल गरी सबैलाई साथमा लिएर भयरहित वातावरणसहित स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचनको माहोल तयार पार्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार