हिउँदको समय नेपालमा स्वदेशी तथा विदेशी पर्यटकका लागि खचाखच र भरिभराउ हुने याम हो । हिलो, मैलो र बादल हटेर घुम्ने ठाउँहरु सफा सुग्घर भएका हुन्छन् भने हिमालहरु पनि आँखै अगाडि टलल टल्किरहेका देखिन्छन् । केही फुर्सदको समय निकालेर नेपालका हिमाल, पहाड र तराई–मधेश घुम्न नेपालीहरुमा पनि आजकल बानी परिसकेको छ । विदेशी पर्यटकहरुका लागि पनि नेपाल सुन्दर, मनोरम प्राकृतिक छटाले भरिपूर्ण छ । नदी, पहाड, हिमाल, वनपाखा मात्र होइन साँस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलहरु पनि स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि रोजाइको गन्तब्य स्थलहरु हुन् ।
यसै सन्दर्भ पछिल्ला केही दिनहरुमा गण्डकी प्रदेशअन्तर्गत हिमाल पारिको जिल्ला भनेर चिनिएको मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकहरुले भरिभराउ भएको छ । होटल सञ्चालकहरुलाई होटल तथा खानपानको व्यवस्थापन गर्न नै धौधौ परिरहेको छ । यस वर्षको तिहार पर्व भाइटीका सकिएलगत्तै मुस्ताङमा अनपेक्षित बढ्दो पर्यटक आगमन संख्याले यहाँको पर्यटन व्यवस्थापनमा निकै चुनौतीपूर्ण बनेको छ । बर्खायामको भेल जस्तै मुस्ताङमा एकैसाथ पर्यटक ओइरिँदा यहाँको पर्यटन व्यवस्थापन नै अस्तव्यस्त बनेको छ ।
देशको विषम परिस्थिति र सबै क्षेत्रको व्यवसाय धरासयी भइरहेको हुँदा नेपालीको कमाई नहुने र कमाई नहुने भएपछि घुमफिर गर्ने योजना पनि रोकिने बुझाई यहाँका पर्यटन व्यवसायीले गरेका थिए । तर, यहाँ पर्यटन व्यवसायीले गरेको पूर्वानुमान गलत सावित भइदियो । बिहीबारको तिहारको भाइटीका सकिएलगत्तै शुक्रबार र शनिबार मुस्ताङमा पर्यटकको बाढी नै आयो, जुन अहिलेसम्म कायमै छ । जुन यहाँका पर्यटन व्यवसायीले कल्पनासम्म पनि गरेका थिएनन् ।
राष्ट्रिय गौरवको निर्माणधीन (बेनी–जोमसोम–कोरला) सडको म्याग्दी खण्डमा आधाजसो सडक कालोपत्र हुनु, म्याग्दी र मुस्ताङको सीमाना घाँसादेखि मुक्तिनाथसम्मको सडकमा ९५ प्रतिशत सडक कालोपत्र हुनु, कागबेनीदेखि कोरलानाकासम्मको सडक ग्राभेल हुनुले पनि यहाँ पर्यटकको चापाचाप भएको हो । त्यसोत कोरला सडकको अधिकांश खोला, खोल्सीमा पुलपुलेसा निर्माण भइसकेकाले पोखरा–काठमाडौँलगायत सहरबाट मुस्ताङ आवतजावत गर्न कुनै समस्या नहुँदा पर्यटकको आवागमनमा सहज भएको छ ।
त्यसोत नेपालको भरुभुमी भनेर चिनिएको मुस्ताङमा नजिकैबाट निलगिरी हिमाल र अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । पोखराबाट मुस्ताङ जाने बाटोमा पर्ने पुनहिल, रुप्से झरना र कालिगण्डकी नदीको खोच पनि पर्यटकका लागि आकर्षणका केन्द्र हुन् । यहाँ हिन्दू र बौद्ध धर्मालम्बीहरुले पुजाआजा गर्ने मुक्तिनाथ मन्दिर, र परिवारका दिंगत व्यक्तिहरुको स्मरणमा श्राद्ध गरिने कागबेनीसमेत पर्ने भएकाले धार्मिक पर्यटकको रोजाईसमेत मुस्ताङ जिल्ला भ्रमणमा पर्ने गरेको छ । यहीँबाट उपल्लो मुस्ताङहुँदै चीनको सीमानासम्म पुग्न सकिने भएकाले पर्यटकको रोजाई मुस्ताङ हुने गरेको छ । त्यसोत यहाँ पोखराबाट जोमसोमसम्म हवाइ यात्राको सुविधा पनि छ । जसले गर्दा पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ ।
सरकारले भ्रष्टाचार नगरी तोकिएकै समयमा गुणस्तरीय सामाग्री प्रयोग गरेर विकासका भौतिक संरचनाहरु सडक, पुल, बिजुली, खानेपानी, सुरक्षित बसोबास, होटल, आदि निर्माण गर्ने हो भने पर्यटनबाटै देशलाई समृद्ध बनाउने सकिन्छ भन्नेमा मुस्ताङ जिल्ला देशकै एउटा उदाहणीय पर्यटकीय क्षेत्र हो । देशका हरेक स्थानीय सरकार र प्रदेश सरकारले पनि आफ्नो भौगोलिक क्षेत्रमा रहेका तालतलैया, मठमन्दिर, प्राकृतिक एवम् साँस्कृतिक स्थलहरुलाई पर्यटकमैत्री बनाउन र पर्यटकहरुको ध्यान आकर्षित गर्न जरुरी छ । यदि यसो गर्न सकिने हो भने स्वदेशमै मनग्य रोजगारी सिर्जना सकिन्छ । देश समृद्ध अनि जनता सुखी र खुसी हुन धेरै सयम नै लाग्दैन ।