सोमबार, कार्तिक १० २०८२
ललितपुरको गोदावरी नगरपालिका, वडा नम्बर–३ का वडा अध्यक्ष राज घिमिरे निकै चर्चित जनप्रतिनिधि मध्ये पर्छन । आफ्नो वडाका जनताको मात्रै नभइ उनी सिङ्गो ललितपुरको दुर्गम क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत समुदायका मानिसलाई सामाजिक कर्ममार्फत सेवा गरिरहेकै हुन्छन् । भूकम्प होस वा कोभिड, प्राकृतिक प्रकोप होस वा असामान्य सामाजिक÷आर्थिक अवस्थाबाट गुज्रिरहेका परिवारलाई सहयोग गर्न उनी पुगी नै हाल्छन् ।
स्थानीय जनप्रतिनिधि हुनु अघि घिमिरे सिनेमा उद्योगमा काम गर्थे । २०५७ सालमा ‘सारा खुशी’ बोलको गीतबाट अभिनयमा पाईला टेकेका उनी ‘चपली हाईट’ चलचित्रमा नायक थिए । विभिन्न आरोह अवरोह पार गर्दै नेकपा (माओवादी केन्द्र) का तर्फबाट २०७९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका उनीसँग जनसवाल दैनिकले गरेको कुराकानीको सम्पादित अंश ।
नेपालको राजनीतिक इतिहासमै पहिलो पटक भएको जेनजी पुस्ताको आन्दोलनलाई तपाईंले कसरी हेर्नु भएको छ ?
नेपालको इतिहासमै २०७३ को संविधान एउटा कोशेढुङ्गा हो भन्नेमा कुनै शङ्का भएन । तर संविधान निर्माणको १० बर्षसम्म पनि संविधानको पूर्ण कार्यान्वयन हुन सकेको थिएन । त्यसैले जनतामा निराशा र आक्रोश थियो । भदौ २३ गते भएको आन्दोलनमा युवा तथा विद्यार्थीहरूको सहभागिता थियो भन्ने तपाईं–हामी सबैलाई थाहा छ तर भदौ २४ गतेको आन्दोलनमा अराजकतावादी शक्तिहरूको घुसपैठ भएको आन्दोलनकारी शक्तिले नै भनेका छन् ।
जेनजी आन्दोलन मुलतः यो व्यवस्थाको सुधारका लागि युवा–विद्यार्थीले दिएको दबाबकै रूपमा हामीले बुझ्नु पर्छ । आखिर संविधानको पूर्ण कार्यान्वयन र सङ्घीयतालाई जनताको घरसम्म काम गर्ने बनाउनका लागि पनि दबाबको आवश्यकता पर्ने नै थियो । व्यवस्थालाई जनताको पक्षमा थप काम गर्ने बनाउनका लागि हुने आन्दोलनलाई हामीले सकारात्मक रूपमै हेर्नुपर्छ तर कलिला भाइ–बहिनीहरूको आन्दोलनमा घुसपैठ गरेर राज्यलाई कमजोर बनाउने शक्तिलाई भने भने कठोरतापूर्वक डिल गर्नुपर्छ ।
आन्दोलनले नेपालको राजनीतिमा केही संरचनागत परिवर्तन ल्याउने सम्भावना छ वा छैन ?
सामाजिक सञ्जालबाट आह्वान गरिने कुनै पनि आन्दोलनको स्पष्ट नेतृत्व हुँदैन । हामीले पछिल्लो आन्दोलनको पनि कुनै स्पष्ट नेता देखेका छैनौँ । विभिन्न समूहले गरेको अनुहार बिहिन आन्दोलनले राजनीतिक रूपमा धेरै कुरा हासिल गर्न नसकेको इतिहासले देखाई सकेको छ । तपाईंले ट्युनिशियाको आन्दोलन हेर्नुस वा इन्डोनेशियाको वा फ्रान्सकै यल्लो भेस्ट मुभमेन्ट हेरे पनि यो कुरा बुझ्न अप्ठेरो पर्दैन ।
रह्यो नेपालको कुरा यसले पनि यो संविधान वा व्यवस्थाकै विकल्प खोजेर आन्दोलन गरिएको हो भन्ने मलाई लाग्दैन । यसले यही संविधान र व्यवस्था भित्र सुधार चाहेको छ । कुनै पनि व्यवस्थामा सुधारका लागि निरन्तर दबाब भईरहनु पर्छ । राजनीतिक दलहरूको अकर्मन्यतालाई तोड्नका लागि यस्ता सामाजिक आन्दोलनहरूको ठूलो भूमिका हुने गर्छ । त्यसैले यो आन्दोलनले संरचनागत भन्दा पनि व्यवहारगत सुधारका लागि यत्न गर्छ भन्ने मैले बुझेको छु ।
तपाईं चलचित्र उद्योगबाट सामाजिक–राजनीतिक कर्ममा कसरी आइपुग्नु भयो ?
म पहिले टेलिभिजनका पर्दाबाट जनताको घरदैलोमा पुगी रहेको थिएँ । प्रस्तोता भएर टेलिभिजन प्रोग्राम चलाए । मोडलिङ गरेँ । त्यसपछि ‘चपली हाईट’ भन्ने चलचित्रमा नायकको रूपमा अभिनय गरेँ । त्यतिबेलासम्म चलचित्रमा प्रवेश गर्नका लागि धेरै ठूलो सङ्घर्ष गरेँ मैले । गरिबी, अभाव र तिरस्कारबाट उठेर त्यहाँसम्म पुग्नु मेरा लागि कुनै सामान्य यात्रा थिएन ।
तर म जस्तै गरिबी, अभाव र तिरस्कारमै जीवन बिताउन बाध्यहरूको ठूलो सङ्ख्या देखेँ । त्यतिबेला पनि मलाई आफू हुर्किएर आएको समुदायका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यसैले मैले सकेको सामान्य सहयोग गर्न थालेँ । सहयोग गर्दै जाँदा आम मानिसको जीवनमा मैले पनि परिवर्तन ल्याउन सक्ने रहेछु भन्ने लाग्न थालेपछि यसलाई म राजनीतिबाटै समाधान गर्छु भनेर यतातर्फ लागेँ । र, वडा अध्यक्षको चुनावमा भिडेँ ।
चुनाव लड्नकै लागि म प्रदेश वा सङ्घीय सांसदको पनि चुनाव लड्न सक्थेँ । तर मलाई त मेरो समुदायका मानिसका लागि काम गर्नुपर्ने थियो । त्यसैले म त्यसको सबैभन्दा सानो इकाईको रूपमा रहेको वडालाई चुने र म उनीहरूकै भोटबाट निर्वाचित भएँ । यो सबै गर्नका लागि मलाई मेरो विगत र समयले सिकाएको हो । एक लाईनमा भन्दा सबै नीतिहरूको नीति राजनीति हो भन्ने बुझेपछि म राजनीतिमा प्रवेश गरेको हुँ ।
तपाईंले सिनेमा क्षेत्रमा कसरी पाइला टेक्नु भयो ? सङ्घर्षका ती दिनहरूबारे केही बताई दिनुस न ।
म गरिब परिवारमा हुर्किएँ । समाजमा गरिबको कुनै हैसियत हुँदैन भन्ने मैले मेरो अनुभवबाट सिकेँ । समाजमा तपाईंको हैसियत बन्न कि त पारिवारिक विरासत बोक्नु पर्ने रहेछ कि त मनग्य पैसा हुनुपर्ने रहेछ । त्यसो भए आफ्नो हैसियत बनाउनका लागि के गर्ने त भन्ने सवालमा मैले दिनरात एक गरेर काम गरेँ । मैले कुनै पनि कामलाई सानो वा ठूलो भनिन । किनभने मसँग छनोटको विकल्प पनि थिएन ।
भर्खरै टेलिभिजनको युगमा हामी प्रवेश गरेका थियौँ । आम मानिस टेलिभिजनका पर्दामा बसेर विभिन्न सिरियल हेर्थे । त्यो देखेर म चकित भएँ । किनभने उनीहरू टेलिभिजनको पर्दाबाट बोलिएका कुरालाई ध्यान दिएर सुन्थे र त्यसैबारे पछिसम्म कुरा गरिरहन्थे । त्यसैले मलाई के लाग्यो भने आफ्नो आवाज समाजलाई सुनाउने हो वा आफ्नो हैसियत बनाउने हो भने टेलिभिजनको पर्दामा छिर्नु पर्छ भन्ने सोचेँ । त्यसपछि म सिनेमामा प्रवेश गरेँ । त्यहाँसम्मको यात्रा सहज थिएन तर त्यसलाई जसरी पनि फत्तै पार्नु पर्ने थियो ।
टेलिभिजनको पर्दामा देखिने भईसकेको थिएँ । तर त्यतिबेलासम्म पर्दा भित्रबाट काम गर्नेको साँध–सीमाना पनि मैले थाहा पाइसकेको थिएँ । समाजका वास्तविक खेलाडी त राजनीति गर्ने व्यक्ति हुँदा रहेछन् भन्ने थाहा पाएँ । किनभने उनीहरूले नै हाम्रो भाग्य–भविष्यको फैसला गर्दा रहेछन् । त्यसैले अब त्यतातर्फ आफ्ना पाईला चाल्नु पर्छ भन्ने बोध हुन थाल्यो मलाई । टेलिभिजनदेखि राजनीतिसम्मको यात्रा त्यस्तो रह्यो ।
बाल्यकालबारे केही बताई दिनुस न, कतै त्यसले पो तपाईंलाई सामाजिक कर्ममा तानेर ल्यायो कि ?
मेरो पुरानो घर बनेपा हो र मामाको घर ललितपुर हो । म सानै छँदादेखि बुबालाई मध्यपानको लतमै देखेँ । घरको मियोलाई रक्सीको धमिराले भित्र–भित्रै खाईसकेको थियो । धोध्रिएको घरको मियोले जीवनको न्युनतम आवश्यकता पनि पूरा गर्न नसकेपछि हामी मामा घर आयौँ । मामाघरमा हजुरआमाले मजदुरी गरेको पैसाले ६ जनाको परिवारलाई धान्नु भयो । घरमा खान लाउन अभाव भएर माइतिको शरण आई पुगेको परिवारलाई त्यहाँ पनि टिक्ने अवस्था थिएन ।
यसैबिचमा बुबा आर्थिक अभावकै कारण उपचार नपाएर बित्नु भयो । देशको राजधानीमा बस्छौँ । घरको आँगन अस्पतालसँग जोडिएको छ तर पनि आर्थिक अभावमा उपचार गरेर उहाँलाई जोगाउन सकिएन । कक्षा १२ मा छँदा १८ सय शुल्क तिर्न नसकेर दिनको १५० रुपियाँमा खेत खनेको र दाउरा चिरेको अझै याद छ । पछि १२ कक्षा टप गरेँ । तर, पारिवारिक जिम्मेवारीले त्यसअघिको पढाई गर्न दिएन ।
आफूले सुख के हो भन्ने थाहा नपाएको मैले म जस्ता धेरैको दुःख देखेरै हुर्केको थिएँ । त्यसैले उनीहरूको जीवनलाई जसरी भए पनि सहज बनाउन भूमिका खेल्नु पर्छ भन्ने मनमा लागि रहन्थ्यो । मलाई जीवनका दुःखहरूले धेरै कुरा सिकाए । सङ्घर्षले खारिएको मानिस बनायो । भनिन्छ नी मानिस कि त पढेर बुझ्छ कि परेर । म चाहिँ परेर बुझेको मान्छे परेँ । दुःख र त्यसबाट पार पाउन गरिने सङ्घर्षले मलाई सबै कुरा सिकाउँदै लग्यो । राजनीतिमा लागेको सामान्य वडा अध्यक्षको जीवन यस्तै कथाहरूले भरिएको छ ।
वडामा काम गर्न कत्तिको सहज वा असहज भइरहेको छ ? स्थानीय तहको काम र वडाको कामबारे हामीलाई केही बताई दिनुस न ।
मेरो वडामा नेकपा (एमाले) का वागमती प्रदेश सचिव तथा पूर्व सङ्घीय सांसद नवराज सिलवाल, गोदावरी नगरपालिकाको उपप्रमुखका पाँच प्रत्यासी पनि त्यही वडाका र जित्ने पनि मेरै वडाका हुनुहुन्छ । माओवादीको जनाधारको कुरा गर्नु हुन्छ भने धेरै कमजोर हौँ हामी । मैले जित्नुको मुख्य कारण मैले विगतमा गरेको जनताको सेवाको परिणाम हो । चाहे त्यो भूकम्पको बेलामा होस वा कोभिडको वा पछिल्लो प्राकृतिक प्रकोपको बेलामा ।
तपाईंले मनैदेखि जनताको काममा साथ दिनु हुन्छ भने जनताले पनि तपाईंलाई साथ दिन्छन् । यसका साथै तपाईंलाई मत दिने जनताको धरातल र तपाईंको धरातल पनि मिल्छ भने उनीहरूले तपाईंलाई साथ दिन्छन् । म त दुःखको पहाड चढेर आएको मान्छे, सिमान्त भन्दा सिमान्त परिवारमा गएर खान–बस्न मलाई समस्या हुने भएन । किनभने म पनि त त्यही वर्गबाट आएको हुँ । म त्यहाँ जाँदा उनीहरूले मलाई शासकका रूपमा होइन परिवारका सदस्यका रूपमा हेर्छन ।
यही नै तपाईंको सबैभन्दा ठूलो कारण हो । आजका दिन पनि म १२५ जना बुढाबुढीलाई औषधी खुवाउने गर्छु । कारण किन भने उनीहरूमा म आफ्नी हजुरआमा देख्ने गर्छु । सुत्केरीलाई सुत्केरी मसला खुवाउने गर्छु विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्छु यही त मेरो काम हो । र यो मेरो कर्तव्य हो । म राजनीतिमा आएकै सिमान्त र गरिबहरूको पक्षमा काम गर्नका लागि हो । त्यसैले मेरो वडाको २० करोड बजेटमा ५० हजार पनि फ्रिज हुन पाउँदैन । त्यसैले म के कुरामा पूर्ण विश्वस्त छु भने मैले दुनिया बदल्न सक्दिन होला तर म मेरो वडा बदल्न सक्छु । त्यसका लागि म अविचलित भई लागि रहन्छु ।

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij