आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चुनावबारे छलफललाई तीव्रता, वातावरण बनाउन राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता

आइतबार, कार्तिक २ २०८२

काठमाडौँ(जस)–सरकारले आगामी फागुन २१ गते तय भएको निर्वाचन सफल बनाउन छलफललाई तीव्रता दिएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बनेको अन्तरिम सरकारले चुनावबारे छलफललाई तीव्रता दिएको हो । यही क्रममा प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पूर्ण पक्षको साझा जिम्मेवारी भएको बताउँदै सबैलाई ऐक्यबद्ध रहन आग्रह गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतलनिवासमा भएको उच्चस्तरीय छलफलपछि प्रधानमन्त्री कार्कीले निर्वाचन तयारी सन्तोषजनक गतिमा अघि बढिरहेको बताउँदै त्यसलाई अझ द्रुत गतिमा लैजानुपर्ने आवश्यकता औंल्याइन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेखेकी छन्, “फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ । तयारी अझ द्रूत गतिमा अघि बढाइँदै छ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।”
शीतलनिवासमा सम्पन्न उक्त बैठकमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहितका मन्त्रीहरू तथा चारवटै सुरक्षा निकाय—नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग—का प्रमुखहरूको उपस्थिति रहेको थियो । बैठकमा निर्वाचन सुरक्षाको अवस्था, तयारीको समीक्षा तथा मतदाताको आत्मविश्वास अभिवृद्धि गर्न आवश्यक कदमबारे विस्तृत छलफल गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार कठिन परिस्थितिमा पनि विगतमा सफलतापूर्वक चुनाव सम्पन्न गराएको दृष्टान्त प्रस्तुत गर्दै सुरक्षा प्रमुखहरूले यसपालिको निर्वाचनका लागि समेत उच्च मनोबलका साथ तयारी भइरहेको जानकारी गराएका छन् । उनीहरूले आवश्यक जनशक्ति, उपकरण र योजना परिचालनका लागि तयारी पूरा भइसकेको बताएका छन् ।
कार्कीले राजनीतिक तहमा पनि संवाद सुरु भइसकेको बताउँदै निर्वाचनको वातावरण बनाउन सबै दल एकजुट हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, “सुरक्षा निकाय आफ्नो दायित्वमा उच्च मनोबलका साथ खटिएका छन् । अब राजनीतिक नेतृत्वको जिम्मेवारी निर्वाचन सफल बनाउने वातावरण सिर्जना गर्नु हो ।” राष्ट्रपति र प्रधानमन्त्रीको पहलमा भएको उच्चस्तरीय छलफलले निर्वाचन तयारीलाई तीव्रता दिएको भए पनि राजनीतिक दलबीचको आरोप–प्रत्यारोपले चुनावी वातावरण अझै अस्पष्ट बनाएको देखिन्छ । अब सबै पक्षको साझा प्रतिबद्धता र सहकार्यले मात्रै आगामी निर्वाचनलाई सहज र विश्वसनीय बनाउन सक्ने टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन् ।
यसबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने वर्तमान राजनीतिक परिस्थितिबारे प्रश्न उठाउँदै चुनाव गर्ने वातावरण तयार नभएको दाबी गरेका छन् । शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले जेनजी आन्दोलनका नाममा अराजकता बढेको, सुरक्षातन्त्र असहज अवस्थामा पुगेको र सरकारले स्थिति नियन्त्रणमा लिन नसकेको आरोप लगाए । उनले भने, “प्रहरीका १२ सय हतियार लुटिएका छन्, एक लाख गोली लुटिएका छन्, साढे पाँच हजार कैदी फरार छन् । यस्तो अवस्थामा चुनाव गराउने नाटक भइरहेको छ ।” ओलीले जेनजी आन्दोलनको आडमा आफूलाई फसाउन खोजिएको दाबी गर्दै दलहरूलाई चुनावमा भाग लिन नदिएर लोकतन्त्रमाथि प्रहार भइरहेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले नेपालमा एमाले भएकै कारण शान्ति र सुव्यवस्था कायम रहेको दाबी गरे । उनले भने, “म जहाँ जान चाहन्छु, त्यहाँ जान्छु । यो देश मेरो पनि हो । अपराधी पक्राउ नपरेसम्म र हतियार फिर्ता नभएसम्म चुनाव हुन सक्दैन ।” उनले संसद् पुनःस्थापना हुने दाबी गर्दै सरकार जनतामा त्रास फैलाउन खोजिरहेको आरोप लगाए । प्रहरीहरू आफ्नै अंग भएकाले उनीहरूको सुरक्षा र मनोबल जोगाउनुपर्ने भन्दै ओलीले सेनाले आफूलाई बचाएको बताए । उसो त जेनजीमै पनि चुनावबारे मतभेद छ । जेनजी अभियन्ता मिराज ढुंगानाले आफ्नो ‘बटमलाइन’ सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताएका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो प्रमुख मुद्दा भएको उनको भनाइ छ। उनले जेनजी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागिएको स्पष्ट पारे ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले भने, ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाइन हो, यसलाई सुन्नैपर्छ। यो बिना कतै पनि जानेवाला छैनौँ ।’ उनले पार्टी खोल्नुको अर्थ चुनाव लड्न नभएको जिकिर गर्दै संगठित भएर अगाडि बढ्नका लागि, निर्देशन कसले दिने भन्ने स्पष्टताका लागि यो कदम चालिएको बताए । ‘हामीले राजनीतिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होइन, यो प्रष्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुप¥यो । कि त मैले एनजीओ खोल्नुप¥यो देश विकासका लागि कि त राजनीतिक दल खोल्नुप¥यो। त्यो बाहेक त हुलमुल मात्रै हुन्छ,’ उनले थपे ।

प्रतिक्रिया
सम्बन्धित समाचार