काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै आयोगमा औपचारिक दबाब पत्र बुझाएको छ।
अलायन्सले भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका प्रमुख मागहरूभ्रष्टाचार र दण्डहीनताको अन्त्यको पूरा गर्नका लागि अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गरेको छ। हालको नेतृत्वबाट त्यो अपेक्षा गर्न नसकिने भन्दै उनीहरूले सामूहिक रूपमा राजीनामा दिन आग्रह गरेका छन्।
मंगलबार आयोगमा दर्ता गरिएको निवेदनमा भनिएको छ, “अख्तियारका प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संसदीय सुनुवाइ विना गरेको थियो, जसले निष्पक्षतामा गम्भीर प्रश्न उठाउँछ।”
पत्रमा प्रमुख आयुक्त राईमाथि राजनीतिक रूपमा पक्षपाती ढंगले काम गरेको र वाइडबडी विमान खरिद प्रकरणलगायतका विवादमा मुछिएको आरोप लगाइएको छ। साथै विशेष अदालतले समेत अख्तियारको कार्यप्रणालीमाथि उठाएको प्रश्न उद्धृत गर्दै आयोगको नेतृत्वले जनविश्वास गुमाएको टिप्पणी गरिएको छ।
अलायन्सले पत्रमार्फत भनिएको छ, “भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा तपाईंको नेतृत्वमा निष्पक्षता सम्भव छैन।” त्यसैले प्रमुख आयुक्त राईलगायत सम्पूर्ण आयुक्तहरूले नैतिकताको आधारमा तत्काल पद त्याग गर्नुपर्ने माग गरिएको हो।
‘जेनजी मुभमेन्ट अलायन्स’ले देशभरका ३९ जिल्लाका १२ समूहका प्रतिनिधिहरूको हस्ताक्षरसहित उक्त निवेदन बुझाएको जनाएको छ। अलायन्सले आगामी दिनमा पनि अख्तियारसहित अन्य संवैधानिक निकायमा सुधारका लागि निरन्तर दबाब कायम राख्ने चेतावनी दिएको छ।