अप्सरा रिमाल
नेपालको सामाजिक, धार्मिक र सांस्कृतिक जीवनमा जमराको विशेष महत्व छ । विशेषगरी दसैँ पर्वमा जमरा टीकासँगै प्रयोग गरिन्छ । टिका–जमराले आशिष, समृद्धि र नयाँ जीवनको प्रतीक मानिन्छ । तर जमरा केवल धार्मिक दृष्टिकोणले मात्र महत्वपूर्ण छैन, यसका आहारजन्य र औषधीय गुण पनि उच्च कोटिका छन् । विज्ञानले पनि जमरालाई प्राकृतिक टनिक, रोग प्रतिरोधात्मक क्षमता बढाउने अन्नको अंकुरका रूपमा प्रमाणित गरिसकेको छ । यहाँ जमराको पौष्टिक मूल्य, औषधीय विशेषता, प्रयोग विधि र यसले दिने दीर्घकालीन फाइदाका पक्षहरूबारे विस्तृत रुपमा चर्चा गरिएको छ ।
जमराको संक्षिप्त परिचय
जमरा भन्नाले प्रायः गहुँ, मकै, जौ वा धान अंकुराई बनेको हरियो कोमल घाँसलाई जनाइन्छ । नेपालको परम्परामा दसैँको घटस्थापनाका दिन भित्र्याइएको माटो वा बालुवामा धान, गहुँ वा मकै छरिन्छ र नौ दिनपछि बनेको हरियो अंकुरलाई “जमरा” भनिन्छ । धार्मिक र सांस्कृतिक दृष्टिले यो देवीको शक्ति, समृद्धि र उर्वरत्वको प्रतीक हो ।
जमराको पौष्टिक तत्व
जमरा केवल प्रतीकात्मक मात्र नभई पोषणको धनी पनि हो । वैज्ञानिक अध्ययनले जमरामा पाइने प्रमुख तत्वहरूमा भिटामिन ए, सी, ई, के, बी समूह (विशेषगरी बी–६ र फोलिक एसिड) प्रशस्त मात्रामा पाइन्छ । खनिज पदार्थहरु फलाम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, जिंक, पोटासियम आदिले शरीरलाई आवश्यक खनिज पूर्ति गर्छ । जमरामा प्रोटिन र एमिनो एसिड १७ भन्दा बढी पाइन्छ । यसले मांसपेशी र अंग–प्रत्यंगलाई स्वस्थ राख्छ । पाचन प्रणालीलाई बलियो बनाउन घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर जमरामा प्रशस्त हुन्छ । प्राकृतिक हेमोग्लोबिन मानिने क्लोरोफिल जमरामा सर्वाधिक पाइन्छ जसले रगत शुद्धिकरणमा महत्वपूर्ण भूमिका खेल्छ ।
जमराको औषधीय विशेषता
जमराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जमरामा पाइने भिटामिन सी, ई र जिंकले शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ र रुघाखोकी जस्ता सामान्य रोगदेखि क्यान्सरसम्म रोक्न सहयोग पु¥याउँने बिभिन्न अध्ययन अनुसन्धानहरले देखाएका छन् ।
जमरामा भएको क्लोरोफिल र फलामले रगतमा अक्सिजनको मात्रा बढाउँछ । यसले रक्तसञ्चारलाई सुदृढ बनाउँछ र टक्सिन हटाइ शरीरलाई शुद्ध राख्छ । जमरामा रहेको फाइबरले पाचन प्रक्रिया सजिलो बनाउँछ । कब्जियत, पेट फुल्ने समस्या, अपच आदिमा जमरा लाभकारी हुन्छ । त्यसैगरी जमराले रगतमा ग्लुकोजको स्तरलाई नियन्त्रणमा राख्छ । यसको नियमित सेवनले मधुमेही रोगीलाई विशेष फाइदा पु¥याउँछ । जमरामा पाइने एन्टिअक्सिडेन्ट र फाइटो–केमिकलहरूले शरीरमा हुने क्यान्सरको कोषलाई फैलिन नदिने अनुसन्धानले देखाएको छ ।
साथै जमरामा भएको म्याग्नेसियम र भिटामिन बी समूहले स्नायु प्रणालीलाई सन्तुलित राख्छ । तनाव कम गर्न, मानसिक चञ्चलता घटाउन र निद्राको गुणस्तर बढाउन जमरा उपयोगी हुन्छ । भिटामिन ई र ए को प्रचुरता भएकाले जमराले छालालाई उज्यालो, लोचदार र स्वस्थ बनाउँछ। यसका साथै कपालको जरालाई मजबुत पारेर झर्न कम गर्छ । जमराको रस वा सुकाइएको पाउडर सेवनले शरीरभित्रको हानिकारक पदार्थ टक्सिन हटाउँछ । यसले शरीरलाई हलुका, ऊर्जावान् र ताजगीयुक्त राख्छ ।
जमराको प्रयोग विधि
जमरालाई केवल टिका लगाउने बेलामा मात्र नभई दैनिक जीवनमा पनि प्रयोग गर्न सकिन्छ । गहुँ वा जौको जमरालाई मेसिन वा सिलौटेमा पिसेर रस निकालिन्छ । बिहान खाली पेटमा पिएमा यसले सबैभन्दा बढी लाभ दिन्छ । जमरासुकाएर पाउडर बनाई चिया, दूध वा पानीमा मिसाएर सेवन गर्न सकिन्छ । जमराको कोमल जमरालाई काटेर सलाद वा सूपमा मिलाउँदा स्वाद र पोषण दुवै बढ्छ । जमरा टीका–जमरामा प्रयोग गरिने मात्र नभई पूजाआजा वा व्रत–उपवासनमा समेत जमराको प्रतीकात्मक महत्व छ ।
जमराको वैज्ञानिक मान्यता
पश्चिमी मुलुकमा ह्विट ग्रास थेरापी नामक प्राकृतिक उपचार विधि निकै लोकप्रिय छ। गहुँको जमराको रसको सेवनलाई प्राकृतिक औषधि मानिन्छ । यसले शारीरिक रोग मात्र होइन, मानसिक सन्तुलन र जीवनशैली सुधारमा पनि ठूलो योगदान दिने विश्वास छ ।
तर जमराको सेवन गर्दा केही सावधानी भने अपनाउनुपर्छ । जमराको रस अत्यधिक सेवन गर्दा पेट फुल्ने वा वाकवाकी हुने सम्भावना हुन्छ । सफा र प्रदूषणमुक्त माटो वा भाँडोमा मात्र जमरा उमारिनुपर्छ । गर्भवती वा औषधि सेवन गरिरहेका व्यक्तिले चिकित्सकको सल्लाहमा मात्र यसको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
तसर्थ जमरा नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनको अविभाज्य अङ्ग हो । तर यसलाई केवल आस्थाको दृष्टिले मात्र नभई स्वास्थ्य र आयुर्वेदीय दृष्टिले पनि उपयोग गर्न सकिन्छ । जमरामा पाइने भिटामिन, खनिज, प्रोटिन र क्लोरोफिलले शरीरलाई बलियो, स्वस्थ र रोगमुक्त बनाउँछ । नियमित रुपमा जमराको रस वा पाउडर सेवनले मधुमेह, रक्तचाप, क्यान्सर, पाचन समस्या, मानसिक तनावजस्ता रोग नियन्त्रणमा राख्न सकिन्छ । यसरी, जमरा केवल दसैँमा देवीको आशिष प्राप्त गर्ने प्रतीकात्मक अङ्ग नभई जीवनलाई स्वस्थ, तन्दुरुस्त र दीर्घायु बनाउने प्राकृतिक वरदान हो ।