बडा दसैं अन्तर्गत नवरात्रको आज तेस्रो दिन । आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । दसैंमा वर्षैँदेखि घेटघाट नभएकाहरु, परिवारका सबै सदस्यहरु जमघट गरी दुःखसुख साटासाट गरेर मिठो मसिनो खाई ठुलाबडाको आशीर्वाद लिन कामविशेषले आफ्नो घरपरिवार छोडेर गएकाहरु भेला हुन थालेका छन् । देशका बिभिन्न सहरबजार र विदेशमा रहेकाहरु यतिबेला धमाधम गाउँघर फर्किदै छन् ।
तर यसपलिको दसैँ भित्रिइसक्दा पनि वर्षा रोकिएको छैन । मौसमविद्हरुले यसपालि हिलेदसैँ हुनेसक्ने अनुमान गरेका छन् । वर्षाका कारण देशका प्रमुख राजमार्ग र ग्रामिण सडकहरु भत्किएका छन् । देशको संघीय राजधानी आउजाउ गर्ने देशको प्रमुख राजमार्ग नारायणगढ–मुग्लिन सडकखण्डका केही स्थानमा सुख्खा पहिरोले पटक पटक सडक अवरुद्ध पारिरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा पनि सडकको हालत वर्षौँदेखि निकै दयनीय अवस्थामा छ । देशका मध्यपहाडी पुष्पलाल रामार्ग पनि दर्जनौँ स्थानमा पहिरो जाँदा सवारी साधन चालउनै निमिल्ने स्थितिमा पुगेको । छ अन्य ग्रमिण कृषि सडकको बारेमा त झन बैराग लाग्ने स्थिती छ ।
यदि दसैँको सप्तमी, अष्ठमी र दवमीका दिन वर्षा भयो भने त झन यात्रुको बेहाल हुनेछ । किनकी सप्तमी, अष्ठमी र दवमीका दिन कामकाजी नागरिक कार्यालयको बिदा सकेर किनमेल गरेर दसैँ मनाउनका लागि परिवारका सदस्यहरु भएको स्थानमा वा मूलघरमा जाने गर्छन् । तसर्थ दसैँका बेलामा हुनसक्ने प्राकृतिक बिपत्ति, पहिरो, बाढी आदिबाट नागरिकलाई पर्नसक्ने असुविधा र समस्याका बारेमा तीनवटै तहका सरकार गम्भीर र जिम्मेवार भएर लाग्नुपर्छ । नागरिक स्वयम् पनि सचेत हुन जरुरी छ । वर्षाका कारण देशका राजमार्गहरुमा पहिरोले बाटो अवरुद्ध गर्नसक्ने भएकाले प्रदेश सरकारले सडक विभागसँगको सहकार्यमा पहिरो जानसक्ने सम्भावित स्थानहरुमा माटो तथा पहिरो पन्साउन सक्ने स्काइभेटर (लोडर, डोजर) को व्यवस्था गर्न जरुरी छ ।
देशका अधिकाँश ग्रामिण सडकमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन चल्न नसक्ने स्थिती छ । वर्षाले गर्दा सडकनै कुलो, खोला वा पोखरी जस्ता बनेका छन् । यदि ग्रामिण सडकहरु दसैँ अघिनैं स्थानीय सरकारको पहलमा सफा गर्ने हो भने देशका बिभिन्न स्थानबाट दसैँमा आफूभन्दा ठुलाबडाबाट आशीर्वाद लिन, टीका र जमरा लगाउन आउनेहरुका दुईपाङ्ग्रे सवारी साधानहरु मोटरसाइकल र स्कुटरलाई पनि सहज हुने थियो । एक त ग्रामिण भेगमा भनेका बेलामा सवारी साधन पाइँदैनन, त्यसमा पनि सडकको दुरावस्थाका कारण मानिसहरुले नीजि दुई पाङ्ग्रे सवारी साधन चलाउन पाएनन् भने जनताले नै दुःख पाउनेछन् । जनताको हितका लागि भनेर गठन भएको सरकार र स्थानीय राजनीतिक दलहरुले पनि यतातर्फ सोच्ने र काम गर्ने हो भने गाउँ गाउँमा पुगेको भनिएको सिंहदरबारको जनताले पनि महसुश गर्ने थिए कि ! यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
दसैँका बेलामा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, ठगी, महंगी आदि नियन्त्रण तथा रोकथामका लागि नागरिक समाज, नेपाल प्रहरी, मिडिया र सरकारले चौबिसै घण्टा आँखा खुला र कान चनाखो बनाएर राख्नु अर्को आवश्यकता हो ।